
पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर २ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुशल गुरुङले पोखराको दीर्घकालीन भविष्य जलवायु परिवर्तन, ऊर्जा नीति र समग्र शहरी व्यवस्थापनसँग गहिरो रूपमा जोडिएको बताएका छन् । घरदैलो तथा स्थानीयसँग संवाद कार्यक्रममार्फत विभिन्न बस्ती र टोलमा मतदातालाई भेट्दै गुरुङले पुराना दलको विकल्प खोज्दा नयाँ भनेर मात्र नभई एजेण्डा, योजना र उम्मेदवारको विज्ञता हेरेर निर्णय गर्न आग्रह गरेका छन् ।
अँधेरीखोला, मौजा, सहरी वडादेखि निर्मलपोखरीसम्म पुगेर आफ्ना एजेण्डा प्रस्तुत गरिरहेका गुरुङले देशमा सुशासन र विकासका लागि अनुहार मात्र परिवर्तन गरेर नहुने बताए । “अहिले सामाजिक सञ्जालमा गलत सूचना र सामग्रीको बाढी आएको छ । यसले क्षणिक रमाइलो त दिन्छ तर मतदाताले गम्भीर रूपमा सोचेर एजेण्डा, क्षमता र विज्ञता हेरेर मत दिनुपर्छ,” उनले पोखरा–८ का मतदातासँग भने ।

देशका वास्तविक समस्या पहिचान नगरी समाधान सम्भव नहुने उल्लेख गर्दै गुरुङले सुशासनका नारा मात्र पर्याप्त नहुने धारणा राखे । “देशको समस्या कहाँ छ, त्यसको समाधान कसरी हुन्छ भन्ने कुरा बुझेर मात्र मत दिनुपर्छ,” उनले भने ।
ऊर्जाविज्ञको रूपमा लामो समय काम गरेका गुरुङले फोहोर व्यवस्थापनलाई आम्दानी, रोजगारी र ऊर्जासँग जोड्न सकिने सम्भावनाबारे आफूले अनुसन्धान र प्रयोग गरिसकेको बताए । विकसित देशहरूमा पनि फोहोरको समस्या रहेको उल्लेख गर्दै उनले नेपालजस्तो सहरमा समयमै सोचिएन भने फोहोर व्यवस्थापन गम्भीर चुनौती बन्ने चेतावनी दिए ।
पोखरा हिमाल, नदी र तालसँग जोडिएको पर्यटन सहर भए पनि त्यसबाट अपेक्षित लाभ लिन नसकिएको भन्दै गुरुङले वातावरणीय संरक्षण र जलवायु परिवर्तनलाई नीतिगत तहमा समयमै जोड्नुपर्ने बताए । “पोखराले अहिले पर्यटनबाट सीमित फाइदा मात्र लिएको छ । व्यवस्थित योजना र नीतिबिना अगाडि बढे सहरले ठूलो क्षति बेहोर्नुपर्ने अवस्था आउन सक्छ,” उनले भने ।
गण्डकी प्रदेशको जलवायु नीति र पोखराको ऊर्जा नीति निर्माणमा संलग्न रहँदै सरकारलाई नीतिगत सहयोग गरेको स्मरण गर्दै गुरुङले बनेका नीतिहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको बताए । “नीति निर्माणमै सरकार गम्भीर भएन, बनेका नीति पनि कार्यान्वयन भएनन् । त्यसैले अब म आफैं संसदमा पुगेर ती नीतिलाई व्यवहारमा उतार्न चाहन्छु,” उनले भने ।
एआइको युगमा सामाजिक सञ्जालको प्रयोग बढे पनि सबै सामग्रीमा अन्धाधुन्ध विश्वास नगर्न उनले मतदातालाई आग्रह गरे । बढ्दो सहरीकरणका कारण खेतीयोग्य जमिन मासिँदै गएकोतर्फ ध्यानाकर्षण गराउँदै गुरुङले उत्पादन, रोजगारी र बजारलाई जोड्ने प्रविधिमैत्री नीति आवश्यक रहेको बताए ।
पोखरासहित गण्डकी प्रदेशले भोगिरहेको जलवायु परिवर्तनको असर, फोहोर व्यवस्थापन, ऊर्जा क्षेत्रबाट लिन सकिने लाभ, पर्यटन र यातायात व्यवस्थापनका मुद्दालाई प्रमुख एजेण्डा बनाएर आफू घरदैलो अभियानमा लागेको गुरुङको भनाइ छ । सस्तो प्रचारबाजी र भीड जम्मा गरेर गरिने राजनीतिमा आफू नलाग्ने बताउँदै उनले एजेण्डाका आधारमा आफूलाई मात्र होइन, पुराना दलको विकल्प भन्दै आएका सबै नयाँलाई पनि प्रश्न गर्न मतदातासँग आग्रह गरेका छन् ।






सम्बन्धित खवर















