0Shares

पोखरा, वैशाख २ — अन्तर्राष्ट्रिय आरोग्य (वेलनेस) दिवसको अवसरमा पोखरामा विविध कार्यक्रमसहित उत्साहजनक रूपमा दिवस मनाइएको छ।

पोखरा महानगरपालिका–१३ स्थित पोखरा एग्रो टुरिजम एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालि (पार्क नेपाल)ले मेडिकनेक्ट पोखरा र आईसिपिडी नेपालको सहकार्यमा आयोजना गरेको विशेष समारोहमा एग्रो–वेलनेस पर्यटन प्रवर्द्धनका लागि संयुक्त घोषणा-पत्र जारी गरेको छ। घोषणा-पत्रले पोखरालाई वेलनेस पर्यटनको प्रमुख केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य अघि सारेको छ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले वेलनेसलाई औपचारिकतामा सीमित नराखी व्यवहारमा उतार्नुपर्ने आवश्यकता औंल्याए। “योग र ध्यान हाम्रो मौलिक परम्परा हो, यसलाई आधुनिक जीवनशैलीसँग जोड्दै अघि बढाउनुपर्छ,” उनले बताए। उनले वेलनेस र स्पा फरक अवधारणा भएको स्पष्ट पार्दै शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक सन्तुलन वेलनेसको आधार रहेको बताए ।

उनका अनुसार पछिल्लो समय बढ्दो तनाव र निराशालाई कम गर्न वेलनेस प्रभावकारी माध्यम बन्न सक्छ। “सकारात्मक जीवनशैली र राष्ट्रिय पहिचान जोगाउन वेलनेस आवश्यक छ,” उनले जोड दिए।

गण्डकी विश्वविद्यालयका कुलपति प्रा. इन्द्रप्रसाद तिवारीले वेलनेसलाई नेपालको सांस्कृतिक तथा आध्यात्मिक विरासतसँग जोडेर अघि बढाउनुपर्ने बताए। विद्यालय, होटल तथा हिमाली क्षेत्रमा ध्यान, माइन्डफुलनेस र स्वस्थ जीवनशैलीसम्बन्धी कार्यक्रम सञ्चालन गर्न सके छोटो समयमै सकारात्मक परिणाम देखिने उनको भनाइ थियो।

पार्क नेपालका अध्यक्ष किशोरदत्त बरालले वेलनेस पर्यटनलाई नेपालको उच्च सम्भावनायुक्त क्षेत्रका रूपमा उल्लेख गर्दै प्रभावकारी विकास, प्याकेजिङ र अन्तर्राष्ट्रिय प्रवर्द्धनमार्फत पर्यटन आम्दानी वृद्धि गर्न सकिने बताए। “प्राकृतिक सौन्दर्य र आध्यात्मिक शान्तिको खोजी गर्ने पर्यटकका लागि पोखरा उत्कृष्ट गन्तव्य बन्न सक्छ,” उनले भने। उनले वेलनेसलाई ‘जीवन जिउने कला’का रूपमा चित्रण गर्दै नेपालले विश्वलाई दिन सक्ने महत्वपूर्ण सन्देश भएको धारणा व्यक्त गरे।

मेडिकनेक्ट पोखराका अध्यक्ष डा. विष्णु प्रसाद भुषालले वेलनेसलाई रोगको अभाव मात्र नभई समग्र सन्तुलित जीवनशैलीको रूपमा व्याख्या गरेका थिए । उनका अनुसार वेलनेस नेपालका लागि नयाँ, नाफामूलक पर्यटन उत्पादन बन्ने सम्भावना बोकेको क्षेत्र हो।

मेडिकनेक्ट पोखराका प्रवन्ध निर्देशक डा. गिरधारी शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा राजनीतिज्ञ, पर्यटन व्यवसायी, उद्योगी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

संयुक्त घोषणाका मुख्य बुँदा:

  • प्राकृतिक, सांस्कृतिक र आध्यात्मिक स्रोतको सदुपयोग गर्दै ग्रामीण अर्थतन्त्र सुदृढ गर्ने
  • कृषि, स्वास्थ्य र पर्यटन समेटिएको एग्रो–वेलनेस मोडेल विकास
  • योग, ध्यान, मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि तालिम, रिट्रिट र जनचेतना कार्यक्रम
  • वेलनेस पर्यटन, अर्गानिक खेती र ग्रामीण विकासमा अनुसन्धान तथा नवप्रवर्तन प्राथमिकता
  • विश्वविद्यालय, निजी क्षेत्र र अनुसन्धान संस्थाबीच सहकार्य विस्तार
  • ‘स्कूल टु फार्म’ र ‘युवा गार्डेन’मार्फत युवालाई उत्पादन र उद्यमसँग जोड्ने
  • ‘फार्म टु टेबल’ अवधारणामार्फत स्वस्थ खानपान संस्कृतिको प्रवर्द्धन
  • स्थानीय उत्पादनको प्रयोग र बजार विस्तारमा जोड
  • पर्यटन व्यवसायी, किसान र उद्यमीका लागि क्षमता विकास तथा तालिम
0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected