0Shares

पोखरा, ९ वैशाख — गण्डकी प्रदेशको स्वास्थ्य सेवा प्रणालीलाई अझ प्रभावकारी, पारदर्शी र जनमुखी बनाउन सञ्चारकर्मी र स्वास्थ्यकर्मीबीच सुदृढ समन्वय आवश्यक रहेकोमा जोड दिइएको छ। स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित “स्वास्थ्य प्रवद्र्धनका लागि सञ्चारकर्मी र स्वास्थ्यकर्मीबीचको भूमिका” विषयक अन्तरक्रियामा सहभागी वक्ताहरूले यस्तो धारणा व्यक्त गरेका हुन्।

कार्यक्रममा बोल्दै मन्त्रालयका चिकित्सा सेवा महाशाखा प्रमुख डा. रमेशकुमार केसीले स्वास्थ्य क्षेत्रमा भइरहेका गतिविधि, उपलब्धि र चुनौतीहरू जनसमक्ष पुर्‍याउन सञ्चारकर्मीहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले स्वास्थ्य सेवा प्रभावकारी बनाउन सूचना प्रवाह, पारदर्शिता र गुणस्तर अभिवृद्धि अपरिहार्य रहेको उल्लेख गर्दै यसका लागि दुवै पक्षबीच निरन्तर सहकार्य आवश्यक रहेको बताए।

डा. केसीले व्यक्तिगत स्वास्थ्यप्रति सचेत रहनु नै समग्र समाजको स्वास्थ्य सुधारको आधार भएको स्पष्ट पारे। उनले नसर्ने रोगहरू—जस्तै मधुमेह, उच्च रक्तचाप, मुटुरोग र क्यान्सर—आजका प्रमुख स्वास्थ्य चुनौतीका रूपमा रहेको उल्लेख गर्दै स्वस्थ जीवनशैली अपनाउन सबैलाई आग्रह गरे। “हामीले लिने आहार, हाम्रो दैनिक व्यवहार र जीवनशैलीले स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छ,” उनले भने। नियमित व्यायाम, पर्याप्त निद्रा, धूम्रपान तथा मद्यपानबाट टाढा रहनु र तनाव व्यवस्थापनलाई उनले स्वस्थ जीवनका आधारस्तम्भका रूपमा औंल्याए।

कार्यक्रममा जनस्वास्थ्य प्रशासक सुरज गुरौले मानसिक स्वास्थ्यको महत्वबारे प्रकाश पार्दै आधुनिक जीवनशैलीका कारण मानसिक तनाव बढ्दो क्रममा रहेको बताए। उनले मानसिक स्वास्थ्य सुदृढ गर्न योग, ध्यान र सकारात्मक सोचको अभ्यास आवश्यक रहेको बताए। “शारीरिक स्वास्थ्य जति महत्वपूर्ण छ, मानसिक स्वास्थ्य पनि उत्तिकै महत्वपूर्ण छ,” उनले जोड दिए।

त्यसैगरी, स्वास्थ्य तथ्यांक अधिकृत बुद्धिसागर अधिकारीले गण्डकी प्रदेश सरकारले सञ्चालन गरिरहेका विभिन्न स्वास्थ्य कार्यक्रमहरूको जानकारी प्रस्तुत गरे। उनले दुर्गम क्षेत्रका बिरामीहरूका लागि सञ्चालन गरिएको निशुल्क हवाई उद्धार सेवा, क्यान्सर पीडितलाई प्रदान गरिँदै आएको आर्थिक सहयोग तथा अन्य जनस्वास्थ्यसम्बन्धी पहलहरूबारे विस्तृत जानकारी दिए। यस्ता कार्यक्रमहरूले स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको उनले बताए।

कार्यक्रममा सहभागी सञ्चारकर्मी परशुराम शर्माले स्वास्थ्य सेवाको प्रभावकारिता अभिवृद्धिका लागि सञ्चारकर्मी र स्वास्थ्यकर्मीबीचको सहकार्य अझ सुदृढ हुनुपर्ने बताए। उनले सत्यतथ्य र विश्वसनीय सूचना प्रवाह गर्नु स्वास्थ्यकर्मीको जिम्मेवारी भएको उल्लेख गर्दै सञ्चारकर्मीहरूले पनि तथ्यमा आधारित समाचारमार्फत जनतालाई सचेत गराउनुपर्ने बताए। “सूचनाको सही प्रयोगले मात्र जनस्वास्थ्य सुधार सम्भव हुन्छ,” उनले भने।

अन्तरक्रियामा सहभागीहरूले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानका लागि सूचना आदानप्रदान, जनचेतना अभिवृद्धि र समन्वयात्मक कार्यशैलीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। साथै, स्वास्थ्यसम्बन्धी विषयमा गलत सूचना फैलिन नदिन सञ्चारमाध्यमहरूले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने धारणा पनि व्यक्त गरिएको थियो।

कार्यक्रमले स्वास्थ्य सेवा सुदृढीकरणका लागि सञ्चारकर्मी र स्वास्थ्यकर्मीबीचको सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको मन्त्रालयका सूचना अधिकारी प्रशान्त शर्माले बताए। सहभागी संचारकर्मीहरूले यस्ता अन्तरक्रियाले नीति निर्माणदेखि कार्यान्वयनसम्म सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका थिए।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected