
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ३० अन्तर्गत शिशुवादेखि खुदीखोलासम्मको ४.१४ किलोमिटर लामो सडक निर्माण सम्पन्न भएको छ। नवनिर्मित सडकको उद्घाटन नगर प्रमुख धनराज आचार्य ले गरेका छन्।
नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजना अन्तर्गत निर्माण गरिएको उक्त सडकका लागि विश्व बैंक ले ३४ करोड ११ लाख २० हजार २ सय ९५ रुपैयाँ आर्थिक सहयोग गरेको हो। सहरी विकास मन्त्रालय र सहरी विकास तथा भवन निर्माण विभागको समन्वयमा आयोजना सञ्चालन गरिएको थियो।
आयोजनाका फोकल पर्सन इन्जिनियर नवीन गौतमका अनुसार शिशुवादेखि खुदीखोला पुलसम्मको सडक ४.१४ किलोमिटर लामो रहेको छ। नालीसहित १५ मिटर चौडाइको यो डबल लेन सडकमा ७ मिटर सपोर्ट बाटो निर्माण गरिएको छ। साथै, वातावरणमैत्री संरचना अन्तर्गत १.५ मिटरको साइकल ट्र्याक र २.५ मिटरको फुटपाथ समेत निर्माण गरिएको छ।
उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख आचार्यले पोखरा विकास साझेदारहरूको प्राथमिकतामा रहेको उल्लेख गर्दै भने, “हामी आएपछि नेपालमा रहेका सबै विकास साझेदार पोखरा आएका छन्। यो सानो प्रयासले सम्भव भएको होइन।” हाल पोखरामा ३३ अर्ब रुपैयाँभन्दा बढीका परियोजनाहरू सञ्चालनमा रहेको उनले जानकारी दिए। साथै, विश्व बैंककै सहयोगमा सडकको दोस्रो चरणको काम अघि बढ्ने विश्वास पनि व्यक्त गरे।
यसै क्रममा उनले तालचोक–बेगनास सडक निर्माणमा भइरहेको ढिलाइप्रति चिन्ता व्यक्त गरे। विभिन्न अवरोधका कारण काममा विलम्ब भएको भन्दै उनले अन्तिम पटक म्याद थप गरिएको जानकारी दिए। तोकिएको समयभित्र काम सम्पन्न गर्न आवश्यक समन्वय र खबरदारीको आवश्यकता औंल्याए।
रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले पोखराको दिगो विकास यात्रा प्रशंसनीय रहेको बताए। छिमेकी पालिकाको हैसियतले रुपाले पोखरासँग सहकार्य गर्दै अघि बढ्ने उनले प्रतिबद्धता जनाए। उक्त सडकलाई ऐतिहासिक तथा नमुना मार्गको रूपमा उनले व्याख्या गरे।
प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले नागरिकको अपेक्षाअनुसार सेवा र पूर्वाधार निर्माणमा महानगर प्रतिबद्ध रहेको बताए। लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुलीले सडक निर्माणले स्थानीय उपभोक्तालाई ठूलो राहत पुग्ने बताइन्। संघका पूर्व अध्यक्ष बाबुराम गिरीले सकारात्मक सोचसहित विकासमा लाग्नुपर्नेमा जोड दिए।
महानगरको पूर्वाधार विकास समितिका संयोजक नरेन थापाले समानुपातिक र समावेशी सिद्धान्तका आधारमा विकास भइरहेको बताए भने वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीले विकास अभियानमा साथ दिने सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरे।





सम्बन्धित खवर















