
टंकराज अधिकारी । धवलागिरि हिमाल मा मानव पाइला परेको ६६ वर्षपछि पहिलोपटक यसको आरोहण दिवस हिमालकै काखमा मनाइएको छ। वर्षौंदेखि पोखरा र काठमाडौंमा सीमित रहने कार्यक्रम यसपटक धवलागिरि गाउँपालिका–४ मुदीमा आयोजना गरिएपछि स्थानीयवासीमा नयाँ उत्साह देखिएको छ।
विश्वको सातौँ अग्लो, ८ हजार १६७ मिटर उचाइको धवलागिरि हिमाल केवल हिमाल मात्र नभई म्याग्दीको पहिचान, गौरव र पर्यटनको आधार बनेको स्थानीयको भनाइ छ। त्यसैले ‘आरोहणको गौरव आफ्नै भूगोलमा फर्किएको’ अनुभूति मुदीवासीले गरेका छन्।
सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गर सहितको टोलीले पहिलोपटक धवलागिरिको सफल आरोहण गरेको थियो। उनीसँगै पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्जे र नवाङ दोर्जेले चुचुरोमा पुगेर इतिहास रचेका थिए।
यस वर्षको ६६औँ धवलागिरि आरोहण दिवस ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीको आयोजनामा भएको हो। कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र गण्डकी प्रदेशको पर्यटन तथा उद्योग मन्त्रालयको सहयोग रहेको छ।
धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन ले पहुँच र पहलको अभावमा विगतमा आरोहण दिवस सम्बन्धित भूगोलभन्दा बाहिर मनाइने गरेको बताउँदै यसपटक हिमालकै फेदीमा कार्यक्रम हुनुलाई ऐतिहासिक उपलब्धि बताएका छन्। उनका अनुसार धवलागिरिको वास्तविक पहिचान, संस्कृति, हिमाली जीवनशैली र पर्यटन सम्भावनालाई विश्वमाझ पुर्याउने उद्देश्यले मुदीलाई रोजिएको हो।
मुदी गाउँमा पुगेका अतिथिहरूलाई स्थानीयवासीले बाजागाजासहित स्वागत गरेका थिए। गाउँपालिकाको केन्द्र मुना सम्म सवारीमार्फत पुगेका अतिथिहरू त्यसपछि पदयात्रा गर्दै मुदी पुगेका थिए। स्थानीयका अनुसार वर्षौंदेखिको माग पूरा भएपछि गाउँमा उत्सवको माहोल बनेको छ।
कार्यक्रममा गण्डकी प्रदेशकी पर्यटन तथा उद्योगमन्त्री यशोदा रिमाल, प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली, मालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, पर्यटन मन्त्रालयका उपसचिव टीकाराम पौडेल तथा नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछाने लगायतको सहभागिता रहेको थियो।
बुधबार आयोजित अन्तरसंवाद कार्यक्रममा धवलागिरि आरोहीहरूलाई सम्मान गरिने कार्यक्रम रहेको छ। टान गण्डकीका अध्यक्ष कृष्ण आचार्य ले धवलागिरिलाई संसारकै जोखिमपूर्ण आरोहणमध्ये एक मानिने बताए। उनका अनुसार मौसमको तीव्र परिवर्तन र कठिन भूबनोटका कारण धवलागिरि साहसिक आरोहणको प्रतीक बनेको छ।
पर्यटन विभागका निर्देशक निशा थापा राउत का अनुसार यस वर्ष धवलागिरि आरोहणबाट सरकारले एक करोड ३४ लाख रुपैयाँभन्दा बढी सलामी दस्तुर सङ्कलन गरेको छ। यस याममा ३० जना आरोहीले अनुमति लिएका छन् भने पछिल्ला ६६ वर्षमा सात सयभन्दा बढी पर्वतारोहीले धवलागिरि सफलतापूर्वक आरोहण गरिसकेका छन्।
स्थानीय सरोकारवाला र पर्यटन व्यवसायीहरूले धवलागिरि चक्रीय पदमार्गको अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्न सके म्याग्दीको आर्थिक, सांस्कृतिक र पर्यटन विकासमा ठूलो टेवा पुग्ने बताएका छन्। ६६औँ धवलागिरि आरोहण दिवसले हिमालको इतिहास मात्र होइन, हिमालसँग जोडिएको भूगोल, संस्कृति र स्थानीय जीवनलाई पनि विश्वसामु पुनः स्थापित गर्ने अपेक्षा गरिएको छ।
तस्वीर एआई को सहयोगबाट







सम्बन्धित खवर














