
पोखरा, १६ जेठ। युआरएल शिशुवा डायग्नोस्टिक सेन्टरको पाँचौ स्थापना दिवस एवं १९ औं गणतन्त्र दिवशको अवसरमा शुक्रबार शिशुवामा निशुल्क रक्त परीक्षणसहितको सचेतना कार्यक्रम भएको छ । युआरएल फाउन्डेसनले युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल) मुख्य कार्यालय गिरी कम्प्लेक्सको प्राविधि सहयोगमा आयोजना गरेको कार्यक्रममा ६ सय १ जनाको सित्तैमा जाँच गरिएको छ ।
कार्यक्रममा मधुमेह तथा थाइराइडसम्बन्धी रगत जाँच सित्तैमा गरिएको थियो भने अरु सबै प्रकारका जाँचमा विशेष छुटको व्यवस्था गरिएको थियो । कार्यक्रममा वरिष्ठ फिजिसियन डा प्रकाश भट्टराईले मधुमेह, थाइराइड जस्ता रोगहरु लाग्नुका कारण र निदानका उपायहरुबारे प्रकाश पारेका थिए ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा प्रदीप भट्टराई र मणिपाल शिक्षण अस्पतालकी वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा विभा महतोले पनि सहभागीहरुलाई विविध रोगबारे प्रकाश पारे । शुक्रबार रगत जाँच गराएकाहरुलाई परामर्शसहित मंगलबार र बुधबार रिपोर्ट वितरण गरिने युआरएलका प्रबन्ध निर्देशक गणेशप्रसाद कोइरालाले जानकारी दिए ।
युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्तले स्थापनादेखि नै सेवासँगै सामाजिक उत्तरदायित्व वहन युआरएलको मुख्य परिचय भएको बताए । उनले भने, “हामीले सेवा र सामाजिक दायित्वलाई सँगसँगै लगेका छौँ । राजधानी बाहिरको पहिलो रेफरेन्स ल्याब युआरएल गुणस्तरीय सेवा सबै गण्डकी प्रदेशबासीमा पु¥याउने लक्ष्यमा छ ।”
युआरएलले विभिन्न संघ, संस्थासँगको सहकार्यमा आयोजना गरेको यो २ सय २५ औं शिविर हो । पोखरा महानगरको स्वास्थ्य महाशाखासँग सहकार्य गरी पोखराका पाँच स्थानमा शिविर आयोजना गर्ने तयारी भएको युआरएलका सञ्चालक मणि न्यौपानेले बताए ।
कार्यक्रममा शिशुवा अस्पतालका अध्यक्ष बाबुराम गिरी, लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी लगायतले सहज र सुलभ स्वास्थ्य सेवा पाउने नागरिकको मौलिक हक कार्यान्वयन गर्न राज्यसँगै निजी क्षेत्रको यस खालका प्रयास जरुरी हुने विचार राखे । आइएसओ प्रमाणपत्र प्राप्त युआरएलले अहिले गण्डकी प्रदेशका विभिन्न जिल्लामा २४ स्थानबाट सेवा प्रवाह गरिरहेको छ ।







सम्बन्धित खवर















