0Shares

पोखरा । होटल संघ पोखरा नेपालका कार्यालय प्रमुख रामप्रसाद खनालको असामयिक निधन भएको छ। उहाँको निधनप्रति होटल संघ पोखरा नेपालले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ।

गोर्खा जिल्लाको आरुघाट निवासी ४१ वर्षीय खनालका श्रीमती तथा एक छोरी छन्। “जाऔँ है पोखरा” अभियानका क्रममा पाल्पा पुग्नुभएका उहाँलाई गत आइतबार मस्तिष्कघात भएपछि उपचारका लागि भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्समा भर्ना गरिएको थियो। उपचारकै क्रममा आज बुधबार उहाँको निधन भएको हो।

होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीद्वारा जारी शोक विज्ञप्तिमा खनालको निधनको खबरले संघ स्तब्ध तथा मर्माहत भएको उल्लेख गरिएको छ। विज्ञप्तिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको छ।

साथै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै ईश्वरले यस अपूरणीय क्षति सहन सक्ने धैर्य र शक्ति प्रदान गरून् भन्ने कामना गरिएको छ।

खनाल होटल संघ पोखरा नेपालको प्रशासनिक तथा संगठनात्मक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको थियो। उहाँको निधनले संघलाई अपूरणीय क्षति पुगेको अध्यक्ष सुवेदीले विज्ञप्तिमार्फत जनाउनुभएको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected