0Shares

काठमाडौं, असार १८ — ललितपुरस्थित जेष्ठ वर्ण महाविहारलाई प्राप्त सन् २०२५ को युनेस्को एसिया–प्रशान्त सांस्कृतिक सम्पदा संरक्षण पुरस्कारअन्तर्गतको ‘अवार्ड अफ मेरिट’ बुधबार एक विशेष समारोहबीच हस्तान्तरण गरिएको छ।

समारोहमा नेपालका लागि युनेस्कोकी प्रतिनिधि याको तोइले, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन तथा काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख डा. राकेश पाण्डेको उपस्थितिमा धातुपट्टिका र आधिकारिक प्रमाणपत्र जेष्ठ वर्ण महाविहार उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको थियो।

भारत सरकारको आर्थिक सहयोगमा सम्पन्न महाविहार संरक्षण परियोजना करिब १३ करोड ७८ लाख रुपैयाँ लागतमा कार्यान्वयन गरिएको हो। परियोजनाका लागि भारत सरकारले इन्डियन नेशनल ट्रस्ट फर आर्ट एन्ड कल्चरल हेरिटेज (INTACH) लाई परियोजना व्यवस्थापन परामर्शदाताका रूपमा नियुक्त गरेको थियो। संस्थाले नेपाल सरकारको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ र स्थानीय समुदायसँग समन्वय गरी संरक्षण कार्य सम्पन्न गरेको थियो।

युनेस्कोले यस परियोजनाले परम्परागत नेवारी वास्तुकला र काष्ठकलाको मौलिकता जोगाउँदै आधुनिक भूकम्पीय सुरक्षालाई प्रभावकारी रूपमा समेटेको तथा संरक्षण अवधिभर स्थानीय बौद्ध समुदायका धार्मिक तथा सांस्कृतिक गतिविधिलाई अवरोध नपुर्‍याएको भन्दै सम्मान गरेको जनाएको छ।

२०७२ सालको भूकम्पपछि नेपालको पुनर्निर्माणका लागि भारत सरकारले एक अर्ब अमेरिकी डलर बराबरको सहयोग प्रतिबद्धता जनाएको थियो। सोही सहयोगअन्तर्गत हालसम्म ५० हजार निजी आवास, ७० विद्यालय, एक पुस्तकालय, १२२ स्वास्थ्य संस्था तथा १७ सांस्कृतिक सम्पदा स्थलपुनर्निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ। साथै थप विद्यालय, स्वास्थ्य संस्था र सांस्कृतिक सम्पदासम्बन्धी परियोजनाहरू विभिन्न चरणमा रहेका छन्।

कार्यक्रममा बोल्दै भारतीय राजदूतावासका नियोग उपप्रमुख डा. राकेश पाण्डेले जेष्ठ वर्ण महाविहार संरक्षण परियोजनाले नेपाल–भारतबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाएको उल्लेख गर्दै सांस्कृतिक सम्पदाको संरक्षणमा भारत सरकारको सहयोग निरन्तर रहने बताए।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जेष्ठ वर्ण महाविहारको संरक्षणमा भारत सरकारले पुर्‍याएको योगदानको प्रशंसा गर्दै ललितपुरका अन्य सांस्कृतिक सम्पदाको पुनःस्थापनामा समेत सहयोग जारी रहने अपेक्षा व्यक्त गरे। उनले युनेस्कोलाई पुरस्कारका लागि धन्यवाद दिँदै महाविहार समुदायलाई बधाईसमेत दिए।

महाविहार उपभोक्ता समितिका प्रतिनिधिहरूले आर्थिक तथा प्राविधिक सहयोगका लागि भारत सरकारप्रति आभार व्यक्त गर्दै पुनःस्थापित महाविहारलाई समुदायको गौरव र नेपाल–भारत मित्रताको प्रतीकका रूपमा व्याख्या गरेका थिए।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected