
पोखरा, २१ असार — पोखरा महानगरपालिका वडा नं. ७ को आयोजनामा गत वर्षदेखि सञ्चालन हुँदै आएको वडा अध्यक्ष कप खुला ब्याडमिन्टन प्रतियोगिता–२०८२/८३ आइतबार रापाकोट तमु समाजमा सुरु भएको छ। एक दिवसीय प्रतियोगिता आजै फाइनल खेल सम्पन्न गरी समापन गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले एम्पाएरलाई ब्याट हस्तान्तरण गरी गरेका थिए।

उद्घाटन समारोहमा प्रमुख अतिथि बरालले खेलकुदले स्वस्थ जीवनशैलीसँगै अनुशासन, भाइचारा र सामाजिक एकतालाई सुदृढ बनाउने उल्लेख गर्दै यस्ता प्रतियोगिताले सकारात्मक गतिविधितर्फ आकर्षित गर्ने विश्वास व्यक्त गरे। उनले स्थानीय तहबाट खेलकुदको विकास र खेलाडीलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष राममोहन आचार्यको अध्यक्षता रहेको थियो। अध्यक्ष आचार्यले वडा स्तरबाट खेलकुद गतिविधिलाई निरन्तर प्रवर्द्धन गर्दै स्वस्थ, अनुशासित र सक्रिय समाज निर्माणमा सहयोग पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए।
वडा सदस्य बसुन्धरा लामिछानेले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने वडा सचिव राजेन्द्र पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए।

एम्पाएर रवि श्रेष्ठले खेलका नियम तथा प्रतियोगिताको प्रक्रियाबारे जानकारी गराउँदै सबै खेलाडीलाई खेल भावना, अनुशासन र मर्यादालाई आत्मसात् गर्दै प्रतिस्पर्धा गर्न आग्रह गरेका थिए।
कार्यक्रममा वडा सदस्य सुनीता सुनार, अर्जुन थापा, विष्णुहरि बराल, खेलाडी, खेलप्रेमी तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ। नकआउट प्रणालीमा सञ्चालन भइरहेको प्रतियोगिताको फाइनलसहित सम्पूर्ण खेल आजै सम्पन्न गरी विजेता तथा उपविजेता टोलीलाई पुरस्कार वितरणसँगै कार्यक्रम समापन गरिने आयोजकले जनाएको छ।



























