0Shares

मन्दिर पुनःनिर्माणसँगै विश्वशान्ति र विपद् पीडितको सहयोगका लागि महायज्ञ

पोखरा । पोखरा महानगरपालिका–५ प्रस्याङमा रहेको ऐतिहासिक एवं धार्मिक महत्वको सन्तानेश्वर महादेव मन्दिर पुनःनिर्माण गर्ने उद्देश्यले सुरु भएको श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञले पहिलो दिनमै उत्साहजनक साथ पाएको छ। महायज्ञको पहिलो दिन नै ७७ लाख रुपैयाँ संकलन भएको आयोजकले जनाएको छ।

धार्मिक आस्था, सामाजिक एकता र मानवीय सेवाको भावनालाई जोड्दै आयोजना गरिएको महायज्ञ भदौ २५ गतेसम्म सञ्चालन हुनेछ। प्राकृतिक विपत्तिमा ज्यान गुमाएका, घाइते तथा बेपत्ताहरूको सम्झना र विश्वशान्तिको कामनासहित महायज्ञ आयोजना गरिएको हो।

महायज्ञअघि भव्य कलशसहित शान्ति पदयात्रा आयोजना गरिएको थियो। पदयात्रामा स्थानीयवासी, भक्तजन तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

प्रस्याङ बगैंचा पार्क व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद पराजुलीले सन्तानेश्वर महादेव मन्दिरलाई आकर्षक, कलात्मक र भव्य स्वरूपमा पुनःनिर्माण गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे। उनले महायज्ञमा प्राप्त सहयोगलाई मन्दिर निर्माणमा उपयोग गर्नुका साथै संकलित रकममध्ये केही हिस्सा बाढीपीडित राहत कोषमा समेत प्रदान गरिने बताए।

महायज्ञ उद्घाटन गर्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वकुलपति प्राडा भरतबहादुर खत्रीले धार्मिक तथा सामाजिक कार्यमा गरिने दानले समाजमा सकारात्मक योगदान पुर्‍याउने बताए। उनका अनुसार श्रद्धापूर्वक गरिएको सहयोग धार्मिक कार्यसँगै सामाजिक सेवामा समेत महत्वपूर्ण बन्न सक्छ।

पोखरा–५ का वडाध्यक्ष एवं महायज्ञका प्रमुख संरक्षक बिष्णुप्रसाद बरालले देश शोकमा रहेका बेला मन्दिर निर्माण मात्र नभई शान्तिको कामनासहित महायज्ञ आयोजना गरिएको बताए। उनले महायज्ञ सफल बनाउन स्थानीयवासी, भक्तजन, समाजसेवी तथा देश–विदेशमा रहेका शुभेच्छुक सबैलाई सहयोग गर्न आग्रह गरे।

महायज्ञमा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय लभ्लीहिलकी प्रमुख सुधा दिदी, अग्रज समाजसेवी हेरम्बप्रसाद कोइराला, संस्थापक परिवारका सदस्य सुरेशचन्द्र कोइराला, प्रमुख वाचक पण्डित दीपकप्रसाद पौडेल, अर्थ समिति संयोजक केशव अधिकारीलगायतले मन्तव्य राखेका थिए।

श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आयोजना गरिएको महायज्ञमा विभिन्न देवलिला, संगीतमय श्रीमद्भागवत कथा प्रवचन तथा विविध धार्मिक कार्यक्रम सञ्चालन भइरहेका छन्।

प्रचारप्रसार समिति संयोजक लक्ष्मण बरालका अनुसार महायज्ञलाई केवल धार्मिक कार्यक्रमका रूपमा मात्र नभई धार्मिक आस्था, सामाजिक एकता र सामुदायिक सहभागिताको साझा उत्सवका रूपमा अघि बढाइएको छ।

आयोजकले सन्तानेश्वर महादेव मन्दिरलाई चार ढोका र पञ्चमुखी शिवलिङ्गसहितको भव्य शिवालयका रूपमा निर्माण गरी पोखराको महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउने लक्ष्य लिएको छ।

मन्दिर निर्माणका लागि प्राप्त हुने सहयोगलाई पारदर्शी रूपमा सार्वजनिक गर्ने र दाताको योगदानअनुसार सम्मान गर्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ।

सन्तानेश्वर महादेवलाई सन्तान प्राप्तिको वरदान दिने देवताका रूपमा पूजा गर्ने धार्मिक विश्वास रहँदै आएको छ। मन्दिरको गर्भगृहमा रहेको एउटै शिलाका तीन भागलाई सन्तानेश्वर महादेव, माता पार्वती र गणेशका रूपमा पूजा गर्ने परम्परा छ।

करिब ९२ वर्षअघि स्थानीय लिलाधर कोइरालाले स्थापना गरेको मानिने यो मन्दिरको पुनःनिर्माणसँगै यसको धार्मिक एवं ऐतिहासिक पहिचानलाई अझ व्यवस्थित र भव्य बनाउने प्रयास भइरहेको छ।

त्यसैले यस महायज्ञमा गरिएको सहयोग केवल तत्कालको धार्मिक कार्यक्रमका लागि मात्र नभई आगामी पुस्ताले समेत दर्शन, पूजा र धार्मिक पर्यटनका रूपमा सम्झिरहने एउटा स्थायी धरोहर निर्माणमा योगदान बन्ने आयोजकको विश्वास छ।

श्रद्धाले दिएको सानो सहयोग पनि ठूलो अभियानको आधार बन्न सक्छ। आफूले सक्ने सहयोगसहित महायज्ञमा सहभागी भई सन्तानेश्वर महादेव मन्दिर पुनःनिर्माण अभियानलाई सफल बनाउन आयोजकले सबै श्रद्धालु, भक्तजन, समाजसेवी तथा शुभेच्छुकमा हार्दिक आह्वान गरेको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected