
हवाई सम्पर्क विस्तारदेखि वेलनेस र सांगीतिक पर्यटन प्रवर्द्धनसम्म नयाँ योजना
पोखरा । पोखरेली पर्यटन व्यवसायी संस्थाहरूको छाता संगठन पोखरा पर्यटन परिषद्को अध्यक्षमा हरि भुजेल निर्वाचित भएका छन्। परिषद्को २६औँ वार्षिक साधारण सभा तथा १४औँ अधिवेशनबाट भुजेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो।
पदस्थापन कार्यक्रममा ट्रेकिङ नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सका हरिराम अधिकारी प्रथम उपाध्यक्ष र ट्रेकिङ इक्युपमेन्ट सप एसोसिएसनका नारायणप्रसाद सुवेदी द्वितीय उपाध्यक्षनिर्वाचित भए।
त्यसैगरी, नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्ट्सका मिलन तिवारी महासचिव र नेपाल टुरिस्ट भेहिकल एसोसिएसनका बाबुराम पाण्डे सचिव चयन भएका छन्। महिला पर्यटन व्यवसायी मञ्चकी शोभाकुमारी अधिकारी सहकोषाध्यक्ष तथा जीवनराज सापकोटा कार्यकारी सदस्य निर्वाचित भएका छन्।

नकारात्मक सन्देश चिर्दै सुरक्षित गन्तव्यको प्रचार
नवनिर्वाचित अध्यक्ष भुजेलले बाढीपहिरोका कारण नेपालबारे फैलिएको नकारात्मक सन्देश चिर्न सुरक्षित र सञ्चालनमा रहेका पर्यटकीय गन्तव्यबारे अन्तर्राष्ट्रिय पर्यटकलाई स्पष्ट र सही सूचना दिनुपर्ने बताएका छन्।
नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकार र निजी क्षेत्रबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाइ छ। पर्यटन क्षेत्रलाई थप चलायमान बनाउन निजी क्षेत्रका अनुभव र सरकारको नीतिगत सहयोगबीच सहकार्य बढाउनुपर्नेमा उनले जोड दिए।
पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन हब बनाउने लक्ष्य
अध्यक्ष भुजेलले पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन हबका रूपमा विकास गर्न हवाई सम्पर्क विस्तारलाई प्राथमिकता दिने बताएका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान बढाउँदै लैजाने र फ्लाई दुबईको उडानलाई सफल बनाउने योजना रहेको उनले बताए।
उनका अनुसार अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारसँगै पोखराको पर्यटन बजारलाई नयाँ गन्तव्य र पर्यटक वर्गसम्म पुर्याउन सहज हुनेछ।
‘वेलनेस’ र संगीतमा पोखराको नयाँ पहिचान
पोखराको पर्यटनलाई परम्परागत घुमफिरमा मात्र सीमित नराखी ‘वेलनेस’ पर्यटन र सांगीतिक पर्यटनको नयाँ गन्तव्यका रूपमा विकास गर्ने योजना पनि परिषद्ले अघि सारेको छ।
अन्तर्राष्ट्रियस्तरका सांगीतिक कार्यक्रम पोखरामा आयोजना गरी विश्व पर्यटन बजारमा पोखराको छुट्टै पहिचान स्थापित गर्ने लक्ष्य रहेको अध्यक्ष भुजेलले बताए। प्राकृतिक सौन्दर्यसँगै संगीत, स्वास्थ्य, आराम र मनोरञ्जनलाई जोडेर पोखरालाई थप आकर्षक अन्तर्राष्ट्रिय गन्तव्य बनाउने उनको योजना छ।
परिषद्मा गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाएर पोखरामा सक्रिय १४ वटा पर्यटनसम्बद्ध संस्थाका प्रतिनिधि सदस्य रहनेछन्। नयाँ नेतृत्वले पर्यटन व्यवसायीबीच सहकार्य बढाउँदै पोखराको पर्यटनलाई थप व्यवस्थित, सुरक्षित र अन्तर्राष्ट्रिय बजारमुखी बनाउने अपेक्षा गरिएको छ।










