0Shares

कास्की, भदौ २० — अन्नपूर्ण गाउँपालिका–१ भारतीडाँडास्थित श्री परशु आधारभूत विद्यालय परिसरमा दुईदिने अखण्ड हरि कीर्तन कार्यक्रम सम्पन्न भएको छ। स्थानीय सामाजिक व्यक्तित्व राजेन्द्र अधिकारीको संयोजकत्वमा भदौ १९ र २० गते आयोजित कार्यक्रममा अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष विष्णुबहादुर केसी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

कार्यक्रममा गाउँपालिकाका पूर्व अध्यक्ष युवराज कुँवर, वड़ा नं १ का वडाध्यक्ष तुलसी अधिकारी, ७ का वडाध्यक्ष एवम् पालिका प्रवक्ता भरतमान गुरुंगलगायत जनप्रतिनिधि, स्थानीय समाजसेवी, अग्रज तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। धार्मिक आस्था, सामाजिक सद्भाव र सामुदायिक एकताको उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा स्थानीयवासी तथा भक्तजनको उत्साहजनक सहभागिता रहेको थियो।

अखण्ड कीर्तनका क्रममा भजनका सिद्धहस्त कलाकार श्रीराम अधिकारीसहित अन्नपूर्ण गाउँपालिका–२, ठूलाचौर निवासी कलाकार तथा प्रिन्टिङ प्रेस व्यवसायी मनोहरी दाहाल लगायतका कलाकारले भजन तथा सांगीतिक प्रस्तुति दिएका थिए। कलाकारहरूको प्रस्तुतिले कार्यक्रमलाई थप भक्तिमय र आकर्षक बनाएको थियो।

आयोजक समितिका सचिव कलाधर भुँगाईका अनुसार कार्यक्रमले धार्मिक अनुष्ठानसँगै स्थानीय समुदायबीच आपसी सद्भाव, भाइचारा, सहकार्य र सामाजिक एकताको भावना अभिवृद्धि गर्न योगदान पुर्‍याएको छ।

अधिकारीडाँडा, कुँवरगाउँ, भुँगाई थर, नेपाली थर, परियार टोल र नयाँबस्तीको संगमस्थल भारतीडाँडामा आयोजना गरिएको कार्यक्रम स्थानीय समुदायको सामूहिक सहभागितामा सम्पन्न भएको हो।

कार्यक्रम सफल बनाउन आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्ने, सल्लाह–सुझाव प्रदान गर्ने अग्रज, सहयोगी, शुभेच्छुक तथा सहभागी सबैप्रति आयोजक समितिका संयोजक राजेन्द्र अधिकारीले आभार व्यक्त गरेका छन् । उनका अनुसार सामूहिक सहभागिता र सहकार्यमा सम्पन्न कार्यक्रमले अन्नपूर्ण–१ मा धार्मिक आस्था, सामाजिक एकता र परोपकारी भावनाको सन्देश प्रवाह गरेको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected