
पोखरा । नेपाली कांग्रेस कास्कीका नेता टुवराज बास्तोलाले आसन्न जिल्ला अधिवेशनमा जिल्ला कार्यसमितिको सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्।
१४औँ महाधिवेशनबाट नेपाली कांग्रेस पोखरा महानगर कार्यसमितिको सचिवमा निर्वाचित भएर जिम्मेवारी सम्हालिसकेका बास्तोला कास्की जिल्लाको सचिव पदमा उम्मेदवारी घोषणा गर्ने पहिलो नेता बनेका छन्। यद्यपि, जिल्ला अधिवेशनको मिति भने अहिलेसम्म तय भइसकेको छैन। प्रदेश कार्यसमितिको अधिवेशन सम्पन्न भएपछि मात्रै जिल्ला अधिवेशन गर्ने तयारी रहेको समाचार स्रोतले जनाएको छ।
शैक्षिक तथा वित्तीय क्षेत्रमा समेत योगदान गरेका बास्तोला कास्की कांग्रेसका बौद्धिक नेताका रूपमा परिचित छन्। महानगर कार्यसमितिको सचिवका रूपमा प्राप्त अनुभव, संगठनात्मक कार्यसम्पादन र पार्टीप्रतिको समर्पणलाई अब जिल्ला तहमा उपयोग गर्ने उद्देश्यसहित आफूले उम्मेदवारी दिन लागेको उनले बताएका छन्।
बास्तोलाले आफ्नो उम्मेदवारी घोषणामा पार्टी संगठनलाई थप मजबुत, चलायमान, सुदृढ र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, पार्टीका आधारभूत आदर्श राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र समाजवादको रक्षा गर्दै पार्टीको नीति, विधि र प्रक्रियालाई संस्थागत गर्ने आफ्नो लक्ष्य रहेको उनले उल्लेख गरेका छन्।
उनले आम कार्यकर्ता र मतदाताको हितमा पार्टीले गर्ने उत्कृष्ट कामलाई जनस्तरसम्म पुर्याउने तथा नेतृत्व परिवर्तनको प्रक्रियालाई आत्मसात् गर्दै संगठनलाई थप प्रभावकारी बनाउने चाहना पनि व्यक्त गरेका छन्।
फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बास्तोलाले लेखेका छन्, “हजुरहरूको अमूल्य मत र विश्वासका साथ प्राप्त जिम्मेवारीमा रहँदा मैले गरेको प्रतिबद्धता अनुरूपको कार्यसम्पादन, अनुभव, उपलब्धि र संगठनप्रतिको समर्पणभावलाई अब पार्टीको कास्की जिल्ला तहमा समर्पित गर्न चाहन्छु।”
१५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत हुन लागेको जिल्ला अधिवेशनमा सचिव पदको जिम्मेवारी सम्हाल्ने आफ्नो दृढ आकांक्षा रहेको बताउँदै उनले पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकसँग विश्वास र समर्थनको अपेक्षा गरेका छन्।
बास्तोलाको उम्मेदवारी घोषणासँगै कास्की कांग्रेसको आगामी जिल्ला अधिवेशनमा सचिव पदको प्रतिस्पर्धाबारे चासो बढ्ने देखिएको छ। निर्वाचनको मिति तय हुन बाँकी रहेकाले अन्य आकांक्षीहरूको उम्मेदवारी घोषणापछि प्रतिस्पर्धाको थप चित्र स्पष्ट हुने अपेक्षा गरिएको छ।













