
पोखरा भ्यूज
सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा र लिमीका पदयात्रामा रहेका ४ विदेशी सहित १२ पदयात्री हिउँमा फँसेको खबर छ । तीमध्ये स्लोभेनियका चार नागरिक, तीन पथप्रदर्शक र पाँच स्थानीय गरी १२ जना आइतबारबाट परेको बाक्लो हिमपातका कारण लिमी क्षेत्रको तुम्लिङमा फँसेको हुम्ला प्रहरीले बताएको छ ।
हिउँमा फँसेका पदयात्रीको हेलिकप्टरमार्फत् उद्धार गर्ने तयारी भइरहेको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिएका छन् । प्रजिअ आचार्यका अनुसार पर्यटकीय क्षेत्र नाम्खा गाउँपालिकाको लिमीको पदयात्रा सकाएर सिमकोट फर्किने क्रममा आइतबार रातिबाट परेको बाक्लो हिमपातले बाटो छिचोल्न नसकेपछि उनीहरु तुम्लिङमा रोकिएका हुन् ।
हिमपातको कारण नाम्खा गाउँपालिका–६ को लिमीको न्यालु लेकको बाटो अवरुद्ध भएपछि पदयात्रीले बाटो छिचोल्न नसकेका हुन् ।
असोज २२ गते सिमकोटबाट हिल्सा हुँदै लिमीको पदयात्रामा गएका टोली र पदयात्रापछि न्यालु लेक हुँदै पैदलमार्गबाट सिमकोट आउँदै थिए । तर आइतबारबाट परेको बाक्लो हिमपातको कारण न्यालु लेकमा बाक्लो हिमपात हुँदा उक्त टोली उतै रोकिएको हो । हुम्लाको न्यालु लेकमा तीन फिटभन्दा बढी हिमपात भएको छ ।







सम्बन्धित खवर
















