कास्की काँग्रेसका पूर्वनेताहरूलाई पार्टी राजनीतिमा फर्काउन प्रस्ताव

हरि भट्टराई
पोखरा । नेपाली काँग्रेसको सक्रिय राजनीतिबाट निष्कृय रहेका पूर्वनेताहरुलाई पार्टीमा फर्काउने अवधारणसहित प्रस्ताव अघि सारिएको छ । नेपाली काँग्रेसबाट गण्डकी प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने भौतिक पूर्वाधार शहरी विकास तथा यातायात मन्त्री कुमार खड्काको अगुवाईमा यस्तो अवधारणसहितको प्रस्ताव अघि सारिएको हो ।
‘लोकले चिनेको काँग्रेस चिप्लेढुङ्गा बाहिर बसेर काँग्रेस बलियो हुँदैन,‘ नेपाली काँग्रेसका केन्द्रीय आमन्त्रित सदस्य समेत रहेका मन्त्री खड्काले भने– ‘काँग्रेस बलियो बनाउन वहाँहरूलाई पार्टी राजनीतिमा सक्रिय गरानुपर्छ ।’ उनले पार्टीमा लामो समय योगदान गरेका व्यक्तिहरु निष्कृय हुनुको कारण खोज्न सुक्ष्म र गम्भीर अध्ययन भइरहेको बताए ।
‘म नेविसंघमा सक्रिय रहँदाका बेला के.आई.सिंह पुलदेखि तलका अधिकाँश घरहरूमा नेपाली काँग्रेसको चारतारे झण्डा टाँगिएको हुन्थ्यो,’ त्यो बेलाको स्मरण गर्दै मन्त्री खड्काले भने– ‘विद्यार्थीकालमा हामी झण्डा नभएका घर मात्र गन्थ्यौं । तर अहिले परिस्थिति नै बदलिएको छ ।’
पोखरामा कम्युनिष्ट शक्ति उदय हुनुमा लोकले चिनेको काँग्रेस चिप्लेढुङ्गा बाहिर रहनु हो भन्ने बुझाई एकथरी काँग्रेसीको छ ।तिनताका पोखरामा नेवारहरुको बाहुल्यता थियो । अधिकाँश नेवार समुदायका मान्छेहरुको आवद्धता नेपाली काँग्रेसमा थियो । यद्यपि अहिले त्यो बेलाको जस्तो आर्कषण र आवद्धताको कमी देखिएपछि गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने काँग्रेसी सासंद र मन्त्रीहरु चिन्तित बनेका छन् । मन्त्री खड्काका अनुसार कास्की काँग्रेस पदाधिकारीहरुसँग त्यसबारे मन्त्रालयमा एक दुई चरण छलफलसमेत भएको छ । यद्यपि उनले त्यस्तो छलफल कुन दिशामा अघि बढेको छ र तत्सम्बन्धी विकल्प के के छन् भन्नेबारे थप केही पनि खुलाएनन् । त्यसो त मन्त्री खड्काको उक्त अवधारणासहितको प्रस्तावमाथि कास्की काँग्रेसको धारणा समेत सार्वजनिक भएको छैन ।
नेपाली काँग्रेस पोखरा १६ को बैठकलाई शनिबार सम्बोधन गर्दै मन्त्री खड्काले पार्टीमा राम्रो पकड जमाएका र अहिले पार्टीको भूमिकाबाट अलग रहेका नेताहरुको विवरण समेत प्रस्तुत गरे । उनले प्रस्तुत गरेको विवरणमा पोखराका पूर्व मेयर भोला थापा, पूर्वनेताहरु निलकण्ठ शर्मा, तीर्थ श्रेष्ठ, शंकर देवकोटा, अशोक पालिखे, विश्व सिग्देल लगायतका नेता छन् ।
मन्त्री खड्काले पार्टी राजनीतिमा सक्रिय बनाउन लागिएका पूर्वनेताहरुसँग छलफल भए नभएको बारे केही पनि खुलाएनन् । ‘काँग्रेसमा स्थापित नेता निष्कृय हुनुको प्रमुख कारणबारे अध्ययन गर्दैछौं,’ मन्त्री खड्काले भने–‘पार्टी राजनीतिबाट निष्कृय भएका पूर्वनेताहरूलाई पार्टीको भूमिकामा ल्याउनुपर्छ ।’
उनले उद्घोष गरेका काँग्रेसका पूर्वनेतामध्येका विश्व सिग्देलसँग यसबारे प्रतिक्रिया बुझ्दा मन्त्री खड्काको राजनीतिक चिन्तन, प्रस्ताव र चेतको प्रशंसा गरे । यद्यपि उनले आफ्नो नीतिगत मत फरक रहेकाले मन्त्री खड्को प्रस्तावमा आफ्नो कुनै संलग्नता नरहेको स्पट पारेका छन् । ‘काँग्रेसभित्र धन्न कुमार खड्का जत्तिका मान्छेले यत्तिको चेत राखेका रहेछन्,’ पूर्वनेता सिग्देलले भने–‘मैले त वहाँलाई वधाई र धन्यवाद दिएको छु ।’
नेपाली काँग्रेसको वडा अधिवेशन सम्पन्न हुनुअघि पूर्वनेताहरू निलकष्ठ शर्मा, भोला थापा, शंकर देवकोटालगायतका नेताहरू काँग्रेसको गुटगत भेलामा अभ्यस्त थिए । यद्यपि विश्व सिग्देल भने त्यस्ता कुनै पनि भेलामा सहभागी भएनन् । मन्त्री खड्काले उद्घोष गरेका नामबाहेक अरू धेरै नेताहरू पार्टी राजनीतिबाट अलग भइसकेको अवस्था छ । यद्यपि कास्की काँग्रेसले त्यस्तो अभिलेख राखेको छैन ।
पूर्वनेताहरूलाई पार्टी राजनीतिमा सक्रिय गराउने अवधारणसहितको प्रस्ताव उत्कृष्ट रहेको नेपाली काँग्रेसका महासमिति सदस्य गिरिराज गौतमको तर्क छ । ‘यस्तो प्रस्ताव उच्च राजनीतिक संस्कारको नमूना हो,’ महासमिति सदस्य गौतमले भने–‘पार्टीभित्रको अलोकतान्त्रिक चरित्रको अन्त्य गरी काँग्रेस लोकतन्त्रको सम्वाहक हो भन्ने कुरा बुझ्न जरुरी छ ।’ उनले यस्तो अभियान देशव्यापी बनाउन सुझाउ दिए ।
नीतिगतरूपमै मेरो मत फरक छः विश्व सिग्देल

काग्रेस भनेको प्रजातन्त्रवादीको पार्टी हो । लोकतन्त्रको विम्ब हो यो । काँग्रेस एउटा समान्य रानीतिक दल होइन । यदि राजनीतिक दल मात्र हुन्थ्यो भने एमाले, काँग्रेस र माओवादी एउटै दल हुन्थ्यो । काँग्रेस छुट्टै हो, फरक हुनुपथ्र्यो । तर फरक हुन नसकेको कारणले डेमोक्रयाटहरू काँग्रेसमा आउन सकेनन् । समस्या यहींनेर हो ।
अब काँग्रेसमा एउटा अहंकार डेमोक्रयाट भनेकै हामी हौं भन्ने उनीहरुलाई रह्यो । उनीहरूको चाल, चरित्र, चेहेरा हेर्दाखेरि उनीहरू सामान्य एउटा राजनीतिक दल राप्रपा जस्तो, एमाले जस्तो, माओवादी जस्तो नि देखिए । त्यही भएर उनीहरू (पार्टी राजनीतिबाट अलग रहेकाहरू) पार्टीमा सामेल हुन सकेनन् ।
अर्को कुरा डेमोक्रेसी भनेको बहुलवाद हो । काँग्रेसले मौजुदा संविधान निर्माणमै वहुलवाद परित्याग ग¥यो । उसले (काँग्रसले) के ठान्यो भन्दा बहुदलीय प्रतिस्पर्धालाई बहुलवाद ठान्यो । बहुदलीय प्रतिपस्र्धा त अहिले पनि चीनमा छ । चीनको कम्यूनिष्ट पार्टी अन्तर्गत १२/१३ वटा पार्टी छन् । ती सबैले प्रतिस्पर्धा गर्दछन् । त्यहाँ कम्यूनिष्टले सबै पार्टीले ९९ प्रतिशत मत ल्याउँछन् । अनि अरू ११/१२ पार्टीले पनि एक प्रतिशत मत ल्याउँछन् । यसकारण काँग्रेसले शुशिल कोइरालालाई संविधानको प्राधिकार दिएको छ नि, संविधानको पिता भन्छ, काँग्रेसले होइन ! संविधान हामीले दिएका हौं भनेको छ । तर संविधानको प्रस्तावनामा नै बहुलवाद छैन । संविधानका स्रोतमा जनयुद्ध भनेको छ । यदि जनयुद्धलाई संविधानको स्रोत मान्ने हो भने जनयुद्धका एजेण्डलाई हामीले स्वीकार गर्ने हो । जनयुद्धका एजेण्डा भनेको लोकतन्त्र विरोधी हुन् । काँग्रेसले जनयुद्धलाई संविधानको स्रोत भनी प्रस्तावनामै उल्लेख भएको कुरा संविधानको प्राधिकार हामीसँग छ, हामी यसको पिता हौं भनिरहेको छ ।
फेरि अर्को कुरा समाजवाद उन्मुख संविधान भनेको छ । बहुलवादले के भन्छ भन्दाखेरि राजनीतिक दलहरु समाजवादी हुन सक्छन् तर देश समाजवादी हुँदैन भन्छ, बहुलवादमा । अनि कम्यूनिष्टहरु के भन्छन् भन्दाखेरि राजनीतिक दलहरु मात्रै होइन, देश पनि समाजवादी हुन्छ भनी कम्युनिष्टहरु भन्छन् । त्यही भएर स्टालिनले बनाएको संविधान (रुसको संविधान) मा समाजवाद उन्मुख भन्ने छ । युगोस्लाभियादेखि चीन, भियतनामका संविधानमा पनि समाजवाद उन्मुख भनेको छ । एमाले माओवादीको दुई तिहाईको बहुमत आयो । एमाले र माओवादीमा ओली–प्रचण्डको झगडाको मुख्य जड के हो भन्दाखेरि यही बेलामा हामीले जनवादी केन्द्रियता र सर्वहाराको निरंकुशताको मोडेलमा संविधान संशोधन गरेर जाउँ भन्ने हो प्रचण्डको धारणा हो । किन भन्दाखेरि संविधान नै समाजवाद उन्मुख भन्ने छ भने अब दुई तिहाई बहुमतको समान्य संशोधनले पनि कट्टर साम्यवादी व्यवस्थामा प्रवेश गर्न सकिन्छ ।
अब त्यस्तो किसिमको खतरनाक संविधानको निर्माता र प्राधिकार लिने, पिता हुने काँग्रेस ठहरियो, भनेपछि काँग्रेस त डेमोक्रेटिक पार्टी रहेन । र, यस्तो अवस्थामा काँग्रेसले आफूलाई बहुलवाद भन्छ, बहुलवादमा विश्वास गर्छ । जसले आफूलाई डेमोक्रेट भन्छ त्यो मान्छे मेरो दृष्टिमा काँग्रेस हुन सक्दैन । यदि काँगेस हूँ भनेर कसैले भन्छ भने त्यो चाँहि सामान्य एमाले, माओवादी अथवा राप्रपा आदि इत्यादि सरहको पार्टी हो त्यो । नीतिगत कुरामै मतभेद भएपछि समस्या छ ।
वहाँले कोशिस गरेको सुनेको छु । तर वहाँले कोशिस गर्दा वहाँको समस्या के छ भने जो मान्छे काँग्रेसमा सहमत भएनन्, ती मान्छेलाई सम्बोधन गर्नका निमित्त वहाँको सामर्थ पनि रहन प¥यो नि त । वहाँकै स्पेस कति छ भन्ने कुरा त सबैलाई थाहा छ नि, काँग्रेसभित्र । तर वहाँको यो सदाशयता हो । कोही न कहीं कसैले प्रयत्न गर्नु पर्दथ्यो। वहाँले प्रयत्न गर्नुभयो । वहाँ गम्भीर रहनुभयो । यो एकदम राम्रो कुरा हो ।
अब मलाई त अहिले भइरहेको मैले देखिराखेको हेरिराखेको जुन काँग्रेस छ, त्यो काँग्रेभित्र धन्न कुमार खड्का जत्तिको मान्छेले एउटा कुरा के सोचेका रहेछन् भन्दाखेरि जुन लोकले चिनेको, कास्की जिल्लाले चिनेको काँग्रेसहरू बाहिर छन्, अनि जुन त्यो चिप्लेढुङ्गामा बसेका छन्, जनताले जसलाई काँग्रेस भनेर चिन्दैनन् । जसलाई जनताले काँग्रेस भनेर चिन्छन्, ती चिप्लेढुङ्गाभन्दा बाहिर छन् । त्यो कुराको चेत चाँहि कुमार खड्काजीलाई रहेछ । मैले त वहाँलाई धन्यवाद वधाई पनि दिएको हूँ । त्यो चेत तपाईँसँग रहेछ, तपाईँलाई वधाई छ भनेको हूँ मैले । वहाँको प्रयत्न भइराखेको मैले थाहा पाएको छु । तर मेरो संलग्नता त छैन । किनभने नीतिगतरूपमै मेरो मत फरक छ ।
(नेपाली काँग्रेसबाट अलग भएका पूर्वनेता सिग्देलसँग गरिएको कुराकानीमा आधारित)























