
पोखरा भ्यूज
स्याङजा। स्थानीय स्रोत र साधानको परिचालन हुने गरी सीपयुक्त जनशक्ति उत्पादनमा जोड दिन सरोकारवालाहरुले सुझाएका छन् । स्थानीय तहमा फरक–फरक प्रकृतिको जनशक्ति आवश्यक पर्ने भएकाले स्थानीय स्रोत साधानको उपयोग हुने गरी उद्यमशीलताको विकास गर्न पनि उनीहरुले जोड दिए ।
आइतबार स्याङजाको वालिङमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिईभिटी) गण्डकी प्रदेश र गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठानले आयोजना गरेको ‘आधारभूत तथा मध्यमस्तरीय सीपयुक्त जनशक्ति उत्पादनमा प्रदेश र स्थानीय तहको भूमिका’ वियषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले स्थानीय स्रोत र साधनको विकासमा सरकार सरकारबीच समवन्य हुनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सरकारका शिक्षा, संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले माटो सुहाउँदो दक्ष जनशक्ति उत्पादनमा प्रदेशले विशेष कार्यक्रम ल्याउन लागेको जानकारी दिए । उनले प्रदेशका ८५ वटै पालिकाहरुको समन्वयमा प्राविधिक क्षेत्रलाई प्रभावकारी बनाउने तयारी थालिएको बताए । शिक्षा, संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्रालयका सहसचिव डा. हरि लम्सालले जीवनयापनका लागि मात्रै काम गर्ने चलनले गर्दा आर्थिक उन्नती नभएको बताए । उनले निर्वाहमुखी परिपार्टीलाई परिवर्तन गरी आर्थिक उपार्जन गर्न काम गर्ने वातावरण बनाउन जोड दिए । ‘स्थानीय स्तरमा आवश्यता पहिचान र त्यस्को कार्यान्वयन पनि स्थानीय स्तरबाट नै सुरु गर्नुपर्ने सचिव लम्सालको सुझाउ छ ।

त्यस्तै भीरकोट नगरपालिकाका प्रमुख छायाराम खनालले प्रत्येक पालिकामा व्यवसायिक तालिम केन्द्र स्थापना गर्न माग गरे । उनले ‘तालिम केन्द्र स्थापनाको लागि स्थानीय सरकार सहकार्य गर्न तयार रहेको जानकारी दिए । कामलाई व्यवसायिकीरण गर्नुपर्नेमा जोड दिंदै खनालले काम गरिरहेका व्यक्तिहरुको व्यवसाय प्रवद्र्धनलाई विशेष ध्यान दिन पनि सुझाए ।

सीप सिक्नका लागि युवाहरुले चासो कम दिने गरेको भन्दै वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले दक्ष जनशक्ति उत्पादन विना उद्यमशीलतको विकास हुन नसक्ने स्पष्ट पारे ।
कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यवशायिक तालिम परिषद सिटिईभिटी गण्डकी प्रदेश निर्देशक प्रमोदभक्त आचार्यले प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षणको दर कम भइरहेको चिन्ता व्यक्त गरे । अध्यापन गराउने प्राविधिक दक्ष जनशक्ति प्रशस्त भए पनि विद्यार्थीको आकर्षण घट्दो क्रममा रहेको उनले बताए । प्राविधि क्षेत्रमा अध्ययन गरेका कतिपय विद्यार्थी स्वरोजगार भए कति उद्यमी भए त्यसको समीक्षा हुनु पर्नेमा उनको जोड छ ।
कार्यक्रममा जिल्लास्थित पालिकाका प्रमुखहरु, प्राविधिक क्षेत्रमा पठनपाठन गराउने विद्यालयरुका प्रधानाध्यापक समेतको सहभागिता रहेको थियो ।








सम्बन्धित खवर
















