
पोखरा भ्यूज,
पोखरा । नेपाली कांग्रेस कास्कीमा महिला नेतृ सरस्वती गुरुङले सभापतिमा उम्मेदवार घोषणा गरेकी छन । यही मंसिर १० गते हुने जिल्ला अधिवेशनमा सभापति पदमा उमेद्वारी दिने उनको तयारी छ ।
नेपाली कांग्रेस कास्कीको इतिहासमा अहिलेसम्म महिलाले सभापतिमा दावेदारी प्रस्तुत गरेका छैनन् । उनी पहिलो महिला दावेदार हुन् ।
महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको पर्सीपल्ट नेतृ गुरुङले सभापतिमा उम्मेदवारी घोषणा गरेकी हुन् ।
काँग्रेसको विधान बमोजिम महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको व्यक्ति मात्र जिल्ला सभापति बन्न पाउने व्यवस्था छ ।
उनी हाल कांग्रेसको नीति, अनुसन्धान, प्रशिक्षण प्रतिष्ठानकी केन्द्रीय सदस्य हुन् ।
वि.स. २०७४ सालमा भएको स्थानीय तहको निर्वाचन अन्तर्गत कांग्रेसको तर्फबाट उनी पोखरा महानगरको उपमेयरमा प्रत्यासी भएकी थिइन् । गुरुङले महिला सभापतिको इतिहास रच्न र पार्टीको नवनिर्माणका लागि आफूले सभापतिमा उम्मेदवारी दिने बताएकी छिन् ।
‘महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिँदा हजुरहरूले देखाउनुभएको सद्भाव, साथ र समर्थन मेरा लागि अमूल्य रह्यो । म तपाईंहरूको विश्वास प्रति नतमस्तक छु,’ फेसबुकमा स्टाटस लेख्दै उनले भनेकी छन्, ‘महाधिवेशन प्रतिनिधि बनेपछि राजनीतिको माथिल्लो उम्मेदवारीको गेट पनि स्वतः खुला हुन्छ । म धेरै सल्लाह र छलफलपछि कास्की जिल्लाको सभापति पदमा उम्मेदवारी दिने निर्णयमा पुगेकी छु ।’
उनी कास्की क्षेत्र नम्बर १ बाट आदिवासी जनजाति महिलातर्फको महाधिवेशन प्रतिनिधिमा विजयी भएकी हुन् । गुरुङ कांग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवा निकट मानिन्छिन् ।








सम्बन्धित खवर
















