
चितवन । नेकपा (एमाले) का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा नेता भीम रावल विरुद्ध फराकिलो मतान्तरसहित अध्यक्षमा पुनः विजयी भएका केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
बन्दसत्रमा केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले नवर्विाचित अध्यक्ष ओलीलाई सो पदको शपथ गराएका थिए भने अन्य पदाधिकारी र सदस्यलाई नवनिर्वाचित अध्यक्ष ओलीले शपथ गराए। कूल खसेको दुई हजार ९६ मध्ये ओलीको पक्षमा एक हजार ८३७ मत परेको थियो । महाधिवेशनमा दुई हजार १५३ प्रतिनिधि रहेका थिए ।
निर्वाचनमा उपाध्यक्षहरुमा अष्टलक्ष्मी शाक्यलगायत छ जना निर्वाचित भएका छन् । सो पदमा नेता घनश्याम भुसाल पराजित भएका छन् । उपाध्यक्षहरुमध्ये शाक्यले एक हजार ९७६, सुरेन्द्र पाण्डेले एक हजार ९२५, सुवास नेम्बाङले एक हजार ८६५, विष्णु पौडेलले एक हजार ८५६, युवराज ज्ञवालीले एक हजार ८४२, रामबहादुर थापा बादलले एक हजार ७६८ मत प्राप्त गरेका थिए । नेता भुसालको पक्षमा ७२५ मत खसेको थियो ।
वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङ्कर पोखरेललगायत पदाधिकारी भने निर्विरोध निर्वाचित भएका थिए । त्यस्तै तीन उपमहासचिवमा प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित भए । सचिवमा गोकर्ण विष्ट, योगेश भट्टराई, टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट र पद्यमा अर्याल विजयी भएका छन् ।
पार्टीको केन्द्रीय लेखा आयोगको अध्यक्षमा डा पुष्पराज कँडेल र केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा केशव वडाल निर्वाचित भएका छन् । मङ्सिर १० गतेदेखि चितवनको सौराहामा सुरु महाधिवेशनमा सोमबार राति भएको मतदानमा ओलीका प्रतिस्पर्धी डा भीमबहादुर रावलले दुई सय २३ मत प्राप्त गरेको थिए । विद्युतीय भोटिङ मेसिनका आधारमा गरिएको मतदान र गणनाका करण छिट्टै परिणाम निस्किएको हो ।
महाधिवेशनको बन्दसत्रको पहिलो दिन मङ्सिर ११ गते अध्यक्ष मण्डलका अध्यक्ष ओलीलाई ३०१ सदस्यीय केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यका उम्मेदवारको नामावली प्रस्तुत गर्न अधिकार दिएको थियो । अध्यक्ष ओलीले विभिन्न नेताहरुसँगको परामर्शमा १२ गतेको बन्दसत्रमा नामावली प्रस्तुत गर्दा अधिकांशले सहमति जनाएकामा डा रावल, नेता घनश्याम भुसाललगायतका नेताले अस्वीकार गरेपछि निर्वाचन भएको हो ।








सम्बन्धित खवर
















