
पोखरा भ्यूज
पोखरा । पोखरा महानगरपालिका वडा नं. १६ स्थित गन्धर्व आमा समूहको सामुदायिक भवनमा भाँडाकुँडाको अभाव थियो । कुनै पनि संस्कार र भोजभेतर गर्दा आवश्यक भाँडाकुँडा नहुँदा सामुदायिक भवनमा त्यस्ता उत्सव गर्न समस्या थियो । तर गण्डकी प्रदेश सरकारका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दु कुमार थापाले शुक्रबार विहान आयोजित एक समारोहबीच गन्धर्व आमा समूहलाई डिनर प्लेट सेट, ठूलो डेक्ची र ग्याँस चूल्हो समेतका आवश्यक सामाग्रीको प्रवन्ध गरिदिएपछि तत्कालको गर्जो टरेको छ ।
‘हाम्रो समस्या समाधान गरिदिनु भएकोमा मन्त्रीज्यूलाई धेरै धन्यवाद,’ सहयोग सामाग्री हस्तारण कार्यक्रमपछि समूहकी अध्यक्ष संगीता गन्धर्वले भनिन् । उनले गन्धर्वको टोलमा भौतिक पूर्वाधारको विकास गरिदिन पनि मन्त्री थापालाई ध्यानाकर्षण गराइन् । ‘हाम्रो तल्लो बस्तीमा धूलेबाटो छ । खानेपानीको समस्या पनि उस्तै छ । अब पूर्वाधार विकासतर्फ ध्यान दिन मन्त्रीज्यूलाई अनुरोध गर्दछु,’ उनले भनिन् ।
गन्धर्व आमा समूहलाई सहयोग सामाग्री हस्तान्तरण गर्न पोखरा १६ स्थित गन्धर्व टोलमा पुगेका मन्त्री थापाले गीत संगीत क्षेत्रमा गन्धर्व समुदायको प्रशंसनीय भूमिका रहेको चर्चा गरे । गण्डकी प्रदेश कला संस्कृतिको धनी प्रदेश हो । गन्धर्व संस्कृतिको रक्षाका लागि प्रदेश सरकारले आवश्यक कदम चाल्ने छ, उनले भने ।

नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि राधाकृष्ण गुरुङले गन्धर्व समुदायको सुख दुःखमा आफूहरु सदा साथ रहेने प्रतिबद्धता व्यक्त गर्दै पाँच हजार रुपियाँ नगद सहयोग गरे ।
गन्धर्व आमा समूह पोखरा १६ की अध्यक्ष संगीता गन्धर्वको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेस पोखरा १६ का सभापति अमृत शर्मा तिमिल्सिना, उपसभापति गणेश थापा, नेपाल गन्धर्व समुदाय विकास केन्द्रका अध्यक्ष सूर्य गायक, समाजसेवी अर्जनु गन्धर्व लगायतका वक्ताहरुले आआफ्नो धारणा राखेको थिए ।







सम्बन्धित खवर
















