21Shares

पोखरा भ्यूज
पोखरा । नेपाली कांग्रेसका पूर्व सचिव, जिल्ला समिती सदस्य एवम् संगठन विभाग प्रमुख विश्व वास्तोला सहित केही असन्तुष्ट नेताहरुले मंगलबार सामूहिक राजीनामा दिएका छन् ।

पार्टी भित्र लामो समय निष्ठाको राजनीति गरेपनि टिकट वितरणको सन्दर्भमा पार्टीले अन्याय गरेको गुनासो गर्दै पार्टीका ७ जना नेताहरुले सामूहिक राजनीनामा दिएका हुन् । साथै केही नेताहरुले पार्टी भित्रको परिपाटिको विरोध गर्दै स्वतन्त्र उम्मेदवारी दर्ता समेत गरेका छन् ।

मंगलबार दमौलीमा पत्रकार सम्मेलन गर्दै पूर्व सचिव  वास्तोला, कांग्रेस महासमिति सदस्य महेश्वर भट्टराई, क्रियाशील सदस्यहरु चुडामणि दाहाल, दीपेन्द्र पौडेल, दीर्घबहादुर थापा, ऋषिराम महत र बाबुराम बगालेले राजिनामा दिएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै बास्तोलाले पार्टीभित्रको परिपाटि सुधारको माग गर्दै राजीनामा दिएको बताए । पार्टी मन नपरेर भन्दा पनि पार्टी भित्रका केही व्यक्तिहरुको चरित्रका कारण पार्टीबाट अलग हुने निर्णय गरेको बास्तोलाले बताए । पार्टी भित्रको विकृति र विसंगतिको कुरा गर्दा पटक पटक आफु एक्लिएको महसुस भएको उनले गुनासो गरे । व्यासमा नेतृत्व परिवर्तनको आवश्यकता जनताले महसुस गर्दागर्दै एउटै व्यक्तिलाई टिकट दिनाले निष्ठाको राजनीति गर्नेहरु माथि अन्याय भएको उनले आरोप लगाए ।

त्यस्तै पार्टीबाट राजीनमा दिएका भट्टराईले शुक्लागण्डकीको मेयरमा स्वतन्त्र तर्फबाट उम्मेदवारी दिएका छन् । पार्टीभित्र प्रजातान्त्रिक अनुशासन र आचरण मर्दैै गएकाले यसको विरोध गरेको बताए । पार्टीलाई निरंकुश र दास बनाउने प्रवृत्तिको हामीले पटक पटक विरोध गर्दै आएका हौं कुरा टिकट वितरणको सन्दर्भमा मात्र होइन उनले भने । पार्टीलाई भन्दा व्यक्तिको जय जयकार गर्नेलाई अवसर दिएको उनले आरोप लगाए । पार्टीको अविवेकी निर्णय र चरम गुटबन्दीको परिपाटिलाई परिवर्तन गर्न दबाब सिर्जना होस् भन्ने उद्देश्यले पनि स्वतन्त्र उम्मेदवारी दिएको उनले बताए ।

व्यास नगरपालिका–१ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका दाहालले पार्टी भित्रका केही व्यक्तिहरुको खराब आचारणले स्वतन्त्र उम्मेदवारी दिन बाध्य भएको बताए । नेताका आसेपासेले मात्र टिकट पाएको आरोप लगाउदै दाहालले पार्टीमा विखण्डनको अवस्था सिर्जना भएको बताए । जनतासम्म पुग्ने नेताले भन्दा पनि चाकडी गर्न माथिल्लो तहमा पुग्नेले मात्र पार्टीमा अवसर पाउने परिपार्टी बिकाश भएको बताए । नेताहरुको खराब आचारण सुधारको लागि  जनताहरुको साथ र समर्थनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको उनले दावि गरे ।

त्यस्तै व्यास नगरपालिका–२को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका थापाले पार्टी भन्दापनि नेताहरुको व्यवहारप्रति असन्तुष्टि जनाउदै राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दर्ता गराएको बताए । पार्टीलाई नै कमजोर बनाउने गरी व्यक्तिवादी पद्धति हावि भएको थापाले आरोप समेत लगाए ।

त्यस्तै शुक्लागण्डकी नगरपालिका– ३ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका पौडेल र शुक्लागण्डकी नगरपालिका– ८ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका महतले पनि पार्टी भित्रका नेताहरुका कारण असन्तुष्टि व्यक्त गरे । नेताहरुको पूर्वाग्रहपूर्ण व्यवहारले पार्टीमा संघर्ष र जनमतको सम्मान नभएको उनीहरुको गुनासो छ । पार्टीभित्रको कुसंस्कार र व्यक्तिवादी चरित्रका कारण विद्रोहको अवस्था सिर्जना भएको उनीहरुले बताए ।

त्यस्तै नेता बाबुराम बगालेले पनि नेतृत्व तहबाट भएको थिचोमिचोको विरोध गर्दै पार्टीबाट राजीनामा दिएका छन् । आफुले विगतदेखि नै पार्टी र  नेतृत्वको सम्मान गर्दै आएको भएपनि हरेक पटक कम योगदान गरेकालाई पार्टीले अवसर दिने गरेकाले अपमानित महसुस गरी राजीनामा दिएको बताए ।

21Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected