
पोखरा भ्यूज
पोखरा । नेपाल विद्युत प्राधिकरण र पोखरा महानगरपालिकाको साझेदारीमा स्मार्ट सडकबत्ती तथा हाई मास्ट जडान अभियान सुरु गरिएको छ ।
रातको समयमा अन्धकारको समस्या भोग्दै आएको पोखराका सडकलाई उज्यालो बनाउने लक्ष्यका साथ यो अभियान सुरु गरिएको हो ।
पोखरा महानगरपालिका ५ जिरो किलोमिटरमा हाई मास्ट जडानको शिलान्याससँगै अभियान सुरु भएको हो । नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय सडकबत्ती प्रर्बद्धन आयोजना अन्तरगत रहेको उक्त अभियानमा पोखरा महानगरपालिकाको आधा लगानी रहेको छ । कुल १२ करोड ७५ लाख ८९ हजार ९१ रुपैयाँको लगानीमा बन्न लागेको अभियानमा कुल १ हजार पाँच सय ४ सडकबत्ती जडान गरिनेछ । जसमध्ये १६ मिटर अग्लो हाइ मास्ट बत्ती २३ स्थानमा जडान गरिनेछ । ५० किलोमिटरभित्र जडान गरिने उक्त सडक बत्तीका लागि अधिकांश पुरानै विजुलीका पोलहरु प्रयोग गरिनेछ । त्यो बाहेक ४ सय २४ नयाँ पोल गाडिने नेपाल विद्युत प्राधिकरणका उप प्रबन्धक प्रमोद रिजालले जानकारी दिए । उनले यो स्मार्ट बत्ती रहेको र मोबाइल तथा ल्यापटपबाटै यसलाई नियन्त्रण गर्न सकिने जानकारी दिए । यो बत्तीमा रहेका फिचरले यसलाई स्मार्ट बनाएको उनले सुनाए । बत्तीको डिम बढाउने घटाउनेदेखी कति विद्युत खपत भयो भन्ने सम्मको जानकारी मोबाइलमानै आउनेगरी प्रविधिको जडान भएको उनले सुनाए । उनका अनुसार रातको सडक सुरक्षादेखी आर्थिक रुपमा सहरलाई चलायमान बनाउन समेत यसले मद्धत गर्नेछ । ‘हामीले नेपालमा पहिलोपटक ललितपुरमा प्रयोग गरेका थियौँ । त्यहाँ प्रयोग गर्दा हामीले निकै राम्रो फिडव्याक पायौँ । यो प्राविधिकरणको देशभरको अभियान हो’ उनले भने,‘पहिलो पटक पाइलट प्राजेक्टको रुपमा प्रयोग गर्दा सफल भयौ र त्यसैबाट प्रभावित भएर देशभर अभियान लैजाने योजना बनाएका हौँ ।’
यस्तै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले यस अघि पोखरालाई उज्याले पोखरा बनाउने सन्दर्भमा ठूलो रकम खर्च गरेर सौर्य उर्जासहितको बत्ती (सोलार लाइट) राखेपनि त्यसको निमाणर् हुन नसक्दा लगानी खेर गएको बताए । उनले यो स्मार्ट लाइट भएकाले कुनै लाइट विग्रिएमा कहाँको विग्रिएको भन्ने कुराको सूचना थाहा पाउने र तत्कालै बनाउन सकिने बताए । उनले पोखराका घरहरु उज्याले भएपनि सडकहरु भने अध्यारो रहेको र सम्भवत् आगामी तिहारसम्म उक्त आयोजना पुरा हुने बताए । उनले आयोजना पाएको कम्पनी टपसन इनर्जी प्रा.लि.ले यस अघि पनि विभिन्न स्थानमा काम गर्दा समयमै काम सकेका कारण पोखरामा पनि समयमै सक्ने भन्नेमा आशावादी रहेको सुनाए । ‘हामीले बुझ्दै जादाँ यो जिम्मेवारी पाएको कम्पनीले अहिलेसम्म समयमै राम्रो काम गरेको थाहा पायौँ ’ उनले भने,‘वहाँहरुले यो तिहारसम्म काम सक्छुभन्नुभएको छ । जसले पोखरामा थप रौनकता छाउने छ ।’
टपसन इनर्जी प्रा.लि.का प्रबन्ध निर्देशक किरण गौतमले ४ महिनाभित्रमा काम सक्ने प्रतिबद्धता व्यक्त गरे । उनले कम्पनीले देशका विभिन्न सहरहरु विशेषगरी मुख्य मुख्य सहरहरुमा यस्तालाईट जडानको काम गर्दै आइरहेको र ग्रामिण क्षेत्रमा समेत लाइट जडान गरिसकेको जानकारी दिए । कम्पनीले यस्तै लाइट जडानको कामहरु गर्दै आइरहेको बताए । ‘मेयरसाबले भनेझैँ हामीले लक्ष्मी पुजाकै दिनमा बल्नेगरी काम थलानी गरेका छौँ । हामी मौसमले साथ दिएमा समयमै काम सम्पन्न गर्नेछौँ ’ उनले भने ।
भारतको सिग्नीफाई इण्डीया प्रा.लि.को फिलिप्स ब्राण्डको बत्ती जडान हुनेछ । सडक बत्तीको पावर १२० वाट र ९० वाटका हुनेछन् भने हाई मास्ट लाइटको पावर २ सय वाट (प्रति लाइट) हुनेछ । यसरी एक हाइ मास्ट लाइटको पावर १ हजार ६ सय वाटको हुनेछ । एक स्थानमा ८ वटा हाइ मास्ट लाइट हुनेछ ।








सम्बन्धित खवर
















