
पोखरा । अन्नपूर्ण गाउँपालिका–११, घान्द्रुकका चिन्ता बहादुर गुरुङ ब्रेज–मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हङकङद्वारा प्रदान गरिएको सो अवार्ड ३ हजार डलर नगद, प्रमाणपत्र र दोसल्ला रहेको छ ।
लामो समयदेख़ि अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गतको वन संरक्षणमा निरन्तर योगदान पुर्रयाउदै समग्र घान्द्रुकको विकासमा महत्वपूर्ण भूमिका खेलेवापत गुरुङलाई सो अवार्डबाट सम्मान गरिएको हो ।
मंगलवार पोखरामा आयोजित विशेष समारोहबीच समाजका निवर्तमान अध्यक्ष मिलन गुरुङ, पूर्व अध्यक्ष, पोखरामा उपस्थित समाजका पदाधिकारी एवं सदस्य लगाएतले सो अवार्डबाट गुरुङलाई सम्मान गरेका हुन् । प्रत्येक २/२ वर्षमा प्रदान गरिने अवार्ड यो छैटौं हो।
सन् १९९७ मा स्थापना भएको घान्द्रुक समाज हङकङले २०१० देख़ि ब्रेज–मेश्रो अवार्डको संचालन गरेको हो । सो अवार्ड समग्र घान्द्रुकको विकासमा महत्वपूर्ण भूमिका खेल्ने व्यक्तिलाई प्रत्येक दुई/दुई बर्षमा प्रदान गर्दै आइरहेको छ । यस अघि सो अवार्डबाट राजबहादुर गुरूङ, कृष्णप्रसाद पौडेल, भक्तबहादुर गुरूङ, धनमाया गुरूङ र ललित गुरूङ सम्मानित भई सकेका छन् ।
क्होइबों धिं निर्माण सहयोगार्थ १० लाख ६० हजार प्रदान
घान्द्रुक समाज हङकङले अन्नपूर्ण गाँउपालिका घान्द्रुकमा घान्द्रुक गाउँ (कोंड) क्होइबों धिं निर्माण सहयोगार्थ १० लाख ६० हजार रूपैया प्रदान गरेको छ । करिव पाँच करोड रुपियाँको लागतमा निर्माणाधिन तमु मौलिक धर्म, संस्कार, संस्कृति र पहिचान झल्काउने धरोहर तमु क्होइबों(मन्दिर) निर्माण गर्न समाजले आर्थिक सहयोग प्रदान गरेको निवर्तमान अध्यक्ष मिलन गुरूङले बताए ।
समाजका तर्फबाट १० लाख रूपैयाको चेक र कार्यक्रम सञ्चालनकै क्रममा उपस्थित घान्द्रुक समाज हङकङका महिला सदस्यहरूद्वारा स्वतः स्फूर्त व्यक्तिगत रूपमा संकलित ६० हजार रूपैया घान्द्रुक(कोंड) क्होईबों निर्माण समितिका अध्यक्ष प्रेम गुरूङलाई प्रदान गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिका–१०, घान्द्रुकका अध्यक्ष गौतम गुरूङले तमु(गुरुङ) मौलिकधर्म, संस्कार, संस्कृति र पहिचानको संरक्षण, सम्बर्द्धन गर्न निर्माण गरिएको मन्दिरमा समाजको सहयोगले ठुलो टेवा मिलेको बताए ।
निवर्तमान अध्यक्ष मिलन गुरूङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बौद्व अर्घौं सदनका अध्यक्ष भुवनसिं गुरूङ, तमु प्ये ल्हु संघका अध्यक्ष हितकाजी गुरूङ, पूर्व अध्यक्ष रूप बहादुर गुरूङ, घान्द्रुक समाज हङकङका पूर्वअध्यक्ष चन्द्र गुरूङ, कोषाध्यक्ष प्रेम गुरूङ, लामा अमृत फ़ाउण्डेशनका अध्यक्ष अमृत लामा लगाएतले समाजले समुदायप्रति गरेको मानवीय सेवाका कार्यको बारेमा चर्चा गरेका थिए ।





























