347Shares
पोखरा भ्यूज
अन्नपूर्ण, कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले “कृषि पर्यटन र पूर्वाधार, अन्नपूर्ण समृद्धिको आधार” को दीर्घकालीन भिजन तय गर्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष बिष्णुबहादुर केसीद्धारा सुक्रवार घोषणा गरिएको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमले बिशेष गरी कृषिमा आकर्षण गराउन कृषि उत्पादन पकेट क्षेत्र कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।
जसअन्र्तगत पालिकाले वडा नम्बर १ लाई कफी र मौरी उत्पादन पकेट क्षेत्र, वडा नम्बर २ र ३ लाई तरकारी, अलैची र मौरी उत्पादन पकेट क्षेत्र, वडा नम्बर ४ लाई सुन्तला, कागती, अलैची, चियापत्ति, मौरी र तरकारी उत्पादनको पकेट क्षेत्र, वडा नम्बर ५ लाई सुन्तला, कागती र तरकारी उत्पादनको पकेट क्षेत्र, वडा नम्बर ६ लाई केरा, सुन्तला, कफी र तरकारी उत्पादनको पकेट क्षेत्र, वडा नम्बर ७ लाई सुन्तला, उवा, अलैची मौरी उत्पादनको पकेट क्षेत्र, वडा नम्बर ८ र ९ लाई सुन्तला, कुरिलो, अलैची, चियापत्ति र आलु उत्पादनको पकेट क्षेत्र, वडा नम्बर १० लाई सुन्तला, कफ़ी, आलु र तरकारी उत्पादनको पकेट क्षेत्र, वडा नम्बर ११ लाई चियापत्ति, आलु अलैची, लसुन, अदुवा उत्पादनको पकेट क्षेत्रलाई पालिकाले यस वर्ष कृषि उत्पादन पकेट क्षेत्रको रुपमा बिकास गरिने कार्यक्रमलाई जोड दिएको छ ।अध्यक्ष केसीले सबै वडामा कम्तिमा १/१ वटा कृषि वा पशुपन्छीको क्लस्टर सञ्चालन गरिने बताए ।
पालिकाले कृषि आधुनिकीकरणलाई अगाडी बढ़ाई एक घर एक टनेल कार्यक्रममा ५० प्रतिशत अनुदान, आवश्यकताका आधारमा सबै वडामा १/१ चिस्यान केन्द्र बनाउने कार्यक्रम जोडेको छ । त्यसैगरी माछा, मासु, दुध र अण्डामा आत्मनिर्भर बनाउने, पशु बिमालाई प्रोत्साहन, एक किसान एक दुहुनो गाईं/भैसी कार्यक्रमलाई अभियान लगाएत पर्यटकीय क्षेत्रको विकास, शिक्षाका गुणस्तर सुधार एवं सामाजिक सुरक्षाको क्षेत्रमा यसअघि संचालित कार्यक्रमहरुलाई पालिकाले निरन्तरता दिएको छ ।
गाउँहरु खाली भएको र कृषिमा परनिर्भरता बढ्दै गएको बेला गाउँपालिकाले घरघरमै करेसाबारी अभियान संचालनको घोषणा पनि गरेको छ । गाउँपालिकाको नीति तथा कार्यक्रममा ‘एक घरः एक बहुपोषणयुक्त करोसाबारी’ को अवधारणा ल्याएको छ। करेसाबारीमा पदमिना, कुरिलो, कागती, तुलसी, मरहठ्ठी, लेमनग्रास, मेवा, धनियाँ, घ्युकुमारी जस्ता आयुर्वेदिक महत्व रहेका बिरुवाहरुको उत्पादनसहित उपयोग गर्ने कार्यक्रम राखिने अध्यक्ष केसीले घोषणा गरेका छन। रैथाने बाली संरक्षणमा जोड दिँदै आएको पालिकाले कोदो संरक्षणको लागि अनुदानको व्यवस्था पनि गरेको छ ।

एक परिवार, एक दुहुनो गाइभैंसी, व्यावसायिक तरकारी खेतीलगायतका कृषिसँग सम्बन्धित कार्यक्रमलाई अनुदान दिइने पनि पालिकाको घोषणामा छ । पशुधन बीमा कार्यक्रम सञ्चालन गर्ने, बहुवर्षे भुइँघाँस, पोषिलो हिउँदेघाँस, बहुवर्षै डालेघाँसका बिरुवाहरु लगाउने तथा नर्सरी स्थापना गर्ने योजनालाई पनि गाउँपालिकाले प्राथमिकतामा राखेको छ । यसैगरी गाउँपालिका क्षेत्र भित्र संचालित होमस्टेको प्रवर्द्धन, जैविक पार्क निर्माण, विश्व कै उत्कृष्ट पर्यटकिय गन्तव्य अन्नपूर्ण आधार शिविरमा मौरिस हर्जोंगको सम्झना पार्क निर्माण गर्ने नीति रहेको गाउँपालिकाले जनाएको छ ।
घर पालुवा जनावर कुकुरहरूमा विशेष पहिचान भएको स्वर र सुरक्षाका दृष्टिले समेत अब्बल भोटे प्रजातिको कुकुर यस गाउँपालिकाको उपल्लो भेकमा पाइने भएकोले सो को लगत अद्यावधिक गर्ने, संरक्षण गर्ने र कुकुरको छाउरा उत्पादन गरी बिक्री वितरण गरी आयआर्जन गर्नेतर्फ उत्प्रेरणा अभिवृद्धि गर्ने नीति अबलम्बन गरिने उनले बताए । गाउँपालिकाका सबै वडामा स्वास्थ्य बिमा गर्न प्रोत्साहित गर्ने, युवासँग पालिका अध्यक्ष कार्यक्रम, प्रविधि मैत्री पालिका निर्माण अभियानलाई निरन्तरता, गाउँपालिका भित्रका जलविद्युत उत्पादनको सम्भावनालाई उजागर गर्दै साना तथा ठूला जलविद्युत आयोजना सञ्चालन गर्न लगानीकर्तालाई आकर्षण गर्ने कार्यक्रममा उल्लेख गरिएको छ ।
गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार संरचनाहरु निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
एक गाउँ एक सडक निर्माण कार्यलाई निरन्तरता दिई अधुरा सडक ट्रयाकहरुको पूणर्ताका साथै गाउँपालिका केन्द्र एवमं मध्य पहाडी लोकमार्गदेखि वडा केन्द्रहरू जोड्ने रणनीतिक महत्वका सडक स्तरोन्नती गरी बाह्रै महिना सञ्चालन हुने अवस्थामा ल्याइने अध्यक्ष केसीले जानकारी दिए । मानव विकासका लागि प्राविधिक सिप सहितको गुणस्तरीय शिक्षा सार्थक बनाउका लागि शिक्षा क्षेत्रमा लगानी वृद्धि गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
। नेपाल सरकारको सुशासन सम्बन्धी “म भ्रष्टचार गर्दिन, म भ्रष्टचार हुन दिन्न र जनताका लागि इमान्दार भएर काम गर्नेछु” भन्ने प्रतिज्ञा सहितको कार्यसंस्कृतिको प्रवद्र्धन गर्दै गाउँपालिकाबाट हुने सबै सेवा छिटो, छरितो र भ्रष्टचार रहित तुल्याउँदै भ्रष्टचारमा शुन्य सहनशिलता कायम गरिने जनाइएको छ ।
नीति तथा कार्यक्रमको पूर्ण पाठ
347Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected