एजेन्सी
ढाका । उपचारका लागि हाल फ्रान्समा रहेका नोवेल पुरस्कार विजेता मुहम्मद युनुस बंगलादेशको अन्तरिम सरकारको प्रमुख बनेका छन् । उनले मंगलबार मात्रै अन्तरिम सरकारको नेतृत्व गर्न तयार रहेको बताएका थिए । ८४ वर्षीय युनुस उपचारका सकाएर फ्रान्सबाट तत्काल स्वदेश फर्किने तयारीमा छन् ।
आन्दोलनकारी विद्यार्थी नेताहरु समेतको उपस्थितिमा मंगलबार नै राष्ट्रपति भवनमा भएको एक बैठकले नोबेल पुरस्कार विजेता युनुसलाई नै अन्तरिम सरकारको प्रमुख चुनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सो बैठकमा आरक्षण आन्दोलनको नेतृत्व गरेका विद्यार्थीका प्रतिनिधि र सेनाका प्रमुख समेत सहभागी थिए ।
मुहम्मद युनुस गरिबी विरुद्ध लडेका कारण विश्वप्रसिद्ध नोबेल शान्ति पुरस्कार पाएका थिए । ‘गरिबहरुको बैंक’बाट चिनिएका युनुसलाई आन्दोलनकर्ता विद्यार्थीहरुले अन्तरिम सरकारको प्रमुखको रुपमा प्रस्ताव गरेका थिए ।
उनी पूर्वप्रधानमन्त्री शेख हसिनाको कट्टर विरोधी हुन् । किनकि उनलाई शेख हसिनाले गरिबहरुको रगत चुसेको आरोप लगाउने गर्दथिन् । युनुसले आफ्नो पार्टी खोल्ने तयारी गरेको सूचना पाएपछि शेख हसिना उनीविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने गरेकी थिइन् ।गत जनवरी महिनामा युनुसलाई श्रम कानुन उल्लंघन गरेको आरोपमा ६ महिना जेल सजाय समेत सुनाइएको थियो । यद्यपि उनी जेलमा भने बस्नु परेको थिएन ।
को हुन् मुहम्मद युनुस
विकिपिडियाका अनुसार मुहम्मद युनुस बङ्गलादेशका ख्यातिप्राप्त अर्थशास्त्री, बैङ्कर तथा नागरिक समाजका अगुवा हुन् । उनलाई सन् २००६ मा नोबेल शान्ति पुरस्कारद्वारा सम्मानित गरिएको थियो ।
बङ्गलादेशमा ग्रामिण बैङ्क तथा लघुवित्त स्थापना गरी ग्रामिण क्षेत्रमा उल्लेखनीय आर्थिक सुधार गरेबापत त्यहाँको ग्रामिण बैङ्क तथा युनूसलाई संयुक्त रूपमा सो पुरस्कार प्रदान गरिएको हो ।
विश्वमा शान्ति स्थापनाका निम्ति गरिबीलाई चिर्नु आवश्यक छ भन्ने निष्कर्षका साथ नर्वेको नोबेल कमिटीले डा। युनूस तथा उनले स्थापना गरेको ग्रामिण बैङ्कलाई नोबेल पुरस्कारका निम्ति सिफारिस गरेको थियो । उनी नोबेल पुरस्कार प्राप्त गर्ने प्रथम बङ्गलादेशी पनि हुन् । यसबाहेक पनि डा। युनूस विभिन्न पुरस्कारहरूबाट सम्मानित भएका छन् ।
सन् २००९ मा उनले संयुक्त राज्य अमेरिकाको प्रेसिडेन्सीयल मेडल अफ फ्रिडम तथा सन् २०१० मा कंग्रेसनलगोल्ड मेडलबाट सम्मानित भए । सन् २००८मा फरेन पोलेसी नामक पत्रिकाले प्रमुख १०० विश्वस्तरीय चिन्तकहरूको सूचीमा दोस्रो स्थानमा राखेको थियो ।