स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले आफ्नो बाँझो जमिनमा ड्रयागन फ्रुट (सिउँडीफल) को खेती गर्न थालेको छ । आर्थिक वर्ष २०७६/०७७ देखि पालिकाले बाँझो जग्गामा थालेको नमुना ड्रयागन फ्रुटले उत्पादन समेत दिन थालेको छ ।
पालिकाका लागि ड्रयागन फ्रुट आम्दानीको स्रोत बन्दै गएको छ । पालिकाले परीक्षणका रूपमा वडा नं ४ को बिर्घामा २४ रोपनी र वडा नं. ५ जैपतेमा एक रोपनी जमिनमा ड्रयागन खेती थालेको थियो । स्थानीय किसानलाई आयआर्जनमा जोड्ने उद्देश्यले पालिका आफैँले सुरु गरेको ड्रयागन खेतीले राम्रोसँग फल दिन थालेको पालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए ।
काभ्रे र रौतहट जिल्लाबाट ड्रयागनका बिरुवा ल्याएर बाँझो जमिन १५ वर्षलाई भाडामा लिएर खेती विस्तार गरेको पालिका अध्यक्ष थापाले सुनाए । उनले ड्रयागन फ्रुटबाट राम्रो आम्दानी हुन थालेको र बिक्रीका लागि बिरुवा पनि तयार हुन लागेको जानकारी दिए ।
पालिकाले गत वर्ष ड्रयागन फ्रुटबाट झण्डै एक लाख ५० हजार भन्दा बढी आम्दानी लिन सफल भएको थियो । चालु वर्षको पहिलो महिनामै दुई लाख ४६ हजार रुपैयाँको फल बेचिसकेको बताउँदै थापाले भने, “ड्रयागनको फल र बिरुवा बिक्री गरेर पालिकाले चालु वर्षमा पाँच लाखसम्म आम्दानी लिने अनुमान गरिएको छ ।”
ड्रयागन खेतीका लागि संघीय सरकार र पालिकाको गरेर ९० लाख लगानी रहेको छ । पालिकाका कृषि अधिकृत अनुप पौडेलले एक हजार ६ सय पिल्लरमा ४ हजार ८ सय वटा ड्रयागन फ्रुट रोपिएको बताए । पालिकाको अगुवाईमा ड्रयागन खेती थालेपछि स्थानीय किसानले समेत ड्रयागन खेती थालेको पौडेलले बताए ।
स्थानीय किसानलाई लक्षित गरेर खेती विस्तार कार्यक्रम अन्तर्गत ड्रयागन फ्रुटको बिरुवाका लागि ५० प्रतिशत र पिल्लर निर्माणमा शतप्रतिशत अनुदानको व्यवस्था गरिएकोे छ । अनुदानको व्यवस्था गरेपछि पालिकाभित्र करिब एक हजार रोपनी जग्गामा ड्रयागन खेती शुरु भएको छ ।
स्थानीय स्तरमा उत्पादित फल ग्रामीण बजारमै खपत भएको छ । निर्यातका तुलनामा ग्रामीण बजारलाई प्राथमिकता दिएर सस्तो दरमा फल बिक्री वितरण गरिदै आएको छ । आउँदो वर्षदेखि स्याङ्जादेखि नजिकै रहेका पोखरा तथा बुटवल जस्ता ठूला बजारमा पालिकाकै नेतृत्वमा ड्रयागन फल निर्यात गर्ने लक्ष्य राखिएको पालिकाले जनाएको छ ।