‘आखिर त्यो भुत रहेनछ‘
युवराज खनाल, शुक्ला-१, तनहुँ
सधै झै ब्युझाँए चराहरुले । घर देखि करिब २ कि. मि. पर ठुलाखेत छ । नजिकैबाट गुबेखोला बगेको छ, तैपनि खरुबेटेको पानीले नै रोपिन्छ ठुला खेत, असिमुरे अनि बिराले आसपासका खेतहरु । सानै देखि मेरो बर्खाको काम बिहानै उठेर झोला बोकेर खेतमा पानी लगाउन जाने अनि बिरालेमा बेलको रुखलाई सजाएर बनाएको चौपारीमा आई ध्यान गर्ने स्कुलको गृहकार्य गर्ने पढ्ने अनि दिउँसो स्कुल र स्कुलबाट फर्केपछि आमाले भुटेर राखेका अलौटा मकै झोलाभरी राखेर खेतमा पानी लागाउने ।
सधै झै उज्यालो भएको छैन म उठेर आँखा मिच्दै झोला बोकेर खेततिर लागे । अध्यारो छ, कोहि उठेका छैनन । घडी छैन म सँग, प्राकृति घडी उदाउन अझ कति समय लाग्ने हो थाहा छैन । सार्है चाडो भएछ क्यारे । होस भगवानको ध्यान पनि गर्नु छ पानी मात्रै लागाउने त हैन नि, चाँडो भए ध्यान गर्ने बेला मैले एकान्त पाउछु भनेर घर बाट निस्के ।
जति सुकै अँध्यारो होस बा ले बनाईदिएको एउटा तिजुको लौरो छ, जुन अगाडि अगाडि हिडाए पछि बाटोमा सर्प भए भाग्छ भनेर त्यही लौरी साथी छ । सोचे जसरी पनि खेत र खरबेटेमा पुग्ने छ मेरो लक्ष्य, त्यहाँ भन्दा पर जानू छैन मलाई तर नजिकै बग्ने गुवेखोला भने कहाँ कहाँ पुग्छ थाहा छैन । अनि छामछुम गर्दै खेतमा पानी लगाएर खरबेटेको कुवामा नुवाइ धुवाई गरि जप गरेर बिरालेको चौपारीमा आई ध्यान बस्न लागे ।
जब म ध्यान बसिरहेको थिए । छस्र्ल्याङ आवाज आयो । ध्यानको धागो चट्क्क चुडियो । आवाज आएतिर हेरे । त्यहाँ दुई तीन वटा काला आकार देखे । ती आकार मान्छे आकारका छ्न । तर काला भएकोले राक्षस प्रकारका देखिन्छन् । तिनले जस्ता रङका बस्त्र लगाए पनि ती बस्त्र माथी अध्यारोले अध्यारै बस्त्र लगाई दिएको छ । म डराए । गन्यौतेको पाखातिर धिप्प धिप्प एक दुई वटा बत्ती बल्ने र निभ्ने गर्दै थिए लाग्यो पक्का पनि राके भुत हुनुपर्छ । भन्थे, बिरालेको चौतारा अगाडिको खोल्सो अनि गुवेखोला किनारामा भुत प्रेत हिड्छ्न । बाउन्नबिरहरु डुल्छ्न अनि किचकन्निहरु आईलाग्छन्, सोचे अव म के गरुँ ?
म भागे भने तिनले भेट्छन् । किनभने म तिनीहरु भन्दा चाँडो भाग्न सक्दिन । म नभागे तिनले भेट्छन् । फ़ेरि छ्याङग आवाज आयो । झन डराए । लगभग मुटुले ठाउँ छोडेको छ । कुनै चिज भुत जस्तो लाग्छ, कुनै राके भुत त कुनै किचकन्नि ज़स्तो! डरले आँखा चिम्लेर भगवानको नाम मात्रै सम्झे केही बेर पछि मेरा परेला माथी ज्योति खसेजस्तो भयो । उज्यालोले मेरा परेला ढकढक्यायो । ओहो ! मलाई त केही गरेनन् भुतप्रेतले । बिस्तारै आँखा खोले । मिर्मिरे उज्यालो भईसकेको रहेछ । सुर्यले पुर्बको ढोका खोली सकेका रहेछ्न । त्यहा हेरे, जहाँ भुत प्रेत जस्ता देख़िन्थे, त्यहाँ कोहि पनि छैनन । खरुबेटेमा दुई तीन जना मान्छे थिए तिर्थ, राजमणि र हरिचन्द्र । उनिहरु पनि पानी लगाउन मुहानमा थुनथान गर्दै थिए । आरुस्वाराबाट पानी लागाउन लाइट बालेर झर्ने मेरा लागि राके भुत भए । तिनै पानीमा छ्प्याङ छप्पुलुङ गर्ने भुत बने । पानी भर्न तुरतुरे जाने सुन्दरी महिला किचकन्नी बने । आख़िर सब मेरा डरले बनाएका रहेछ्न क्यारे ।
भेट्ने र छुट्ने क्रम चलिरहेको छ । कहिल्यै नभेट्ने क्रम पनि चल्दो रहेछ । यहाँ प्रत्येक दिन नया मानिस थपिन्छ्न । कहिल्यै नसोचेका कल्पना समेत नगरेका अनुहार पनि भेटिन्छन् ।फ़ेरि छुटिन्छ्न ।आखिर म एक्लै हुदो रहेछु । म सँग म बाहेक कोहि हुदो रहेनछ ।
म जहाँ गए पनि मैले भेटिरहने मान्छे छ एक जना जो सधै म सग हुन्छ । जहाँ गए पनि म उसलाई भेट्छु ।
सपनाहरूमा पनि उ सँग हुन्छु बिपनामा पनि उसैसँग सँगसगै सुखदुःख बिताई रहेको हुन्छु । सुत्दासगै सुत्छु र उसैसग उठ्छु । रुदा उसैसग रुन्छु, हास्दा उसैसग हास्छु । कुरा गर्दा पनि उसैसग गर्छु । आज सम्म पनि एक पल उ सग छुट्टिन सकेको छैन । त्यो मान्छे हो स्वयम म । आखिर न त भुतप्रेत छ न त किचकन्नी नै रहेछ यी सबै मनका सोचाई रहेछ्न । यदि डराउनु छ भने मानव सग नै डर छ ।
पहिले भुतप्रेत सँग डर हुन्थ्यो तर अहिले मान्छे मान्छे सँग डराउनु पर्ने स्थिति छ । मान्छे तेरो मेरो भनेर ठुलाठुला घटना घटाउछन आखिर हामीसँग भएको सम्पती भनेको नै यो सास मात्रै हो । सास सकिना साथ सबै थोक सकियो । त्यो तेरो, यो मेरो मान्छे भन्ने गर्छौ आखिर हामी आफू मात्रै हो । तसर्थ जति बाचिन्छ बाचिन्जेल कसैको कुभलो नसोचौ । आफ्नो कर्म गरेर खाउ यसैमा सबको भलो होला । अस्तु!