46Shares

युवराज खनाल, शुक्ला-१, तनहुँ

कुशे औसी / पिता को मुख हेर्दै दिन बुवाले आफू थोत्रो कछाड बाधेर मलाई नयाँ पाइन्ट किनिदिनु हुन्थ्यो बा आज कुशे औसी, अनि पिता को मुख हेर्दै दिन । मलाई सानै देखि जिज्ञासा थियो बा को मुख हेरेर के होला र भन्ने तर बा को मुख हैन् योगदान को कदर नगरी सकिएन । बुवा हजुरले म सानो हुँदा मलाई मेरो हात समाउँदै डुलाउनु हुन्थ्यो। केही पुराना याद कल्पन मन लाग्यो- म हिड़न नसक़दा हजुर मलाई आफ्नो काँधमै बोक्नुहुन्थ्यो, आफूले नदेखेका कुराहरु पनि मलाई देख्यौ? देख्यौ? भन्दै सोध्नु हुन्थ्यो। त्यति बेला मलाई लाग्थ्यो, मेरो बुवा त मलाई कति माथिसम्म उचाल्न सक्नुहुन्छ, मेरो बुवाले त यो घर नै उचाल्न सक्नुहुन्छ होला। बुबाले दिनरात नभनी घरमाथि परिवारमाथि नै आफ्नो जवानी, इच्छा, आकांक्षा सम्पूर्ण समर्पित गर्नु भयो। बुवाले आफ्ना साना भाइ बहिनीलाई सदैब माया गर्नुपर्छ भन्ने ज्ञान मेरो दिमागमा भरिदिनु भयो। केही पाइन्छ भन्ने आशले पैसा ब्याज लगाउन दिन जस्तो होइन सम्बन्ध, एकोहोरो भएपनि उमेरको अनुभव र भोगाईले आफ्नो भाइ-बहिनीलाई सुबिधा दिनुपर्छ भन्नुभयो। मैले मेरो बुवाले गरेको मेहनत राम्रोसँग देखेकी छु। बुवा बिहानै कोदालो, हलो, फोरुवा बोकेर खेतमा काम गर्न गएको देख्दा बुवाको लागि खान बनाएर लग्थे। म भ्यागुता जस्तै उफ़्रिन्थे, मेरो हातको सबै खाजा पोखिएर खाना मात्र रहन्थ्यो। मेरो बुवा आफ्नो बच्चाले ल्याएको भन्दै आफ्नो चिसो कुवाबाट बग्दै गरेको पानीले मुस्दै खानुहुन्थ्यो। मेरो बुवाले लगाएको त्यो कछाड चुर्लुम्मै भिज्दा पनि उहाँ फोरुवाले बाउसे गर्दै बस्नुहुन्थ्यो। त्यो फोरुवाले बुवाको हातमा फोकै-फोका हुँदा पनि त्यही फोरुवाको बिडले नै बुवाको फोका फुटाउथ्यो। हजुरले खेत रोप्ने मेलो सहज पार्दिनु हुन्थ्यो। त्यसैले त आज हामीले हिरा जस्तै टल्कने सेतो चामलको भात खान सक्यौँ। जति नै दुख भएपनि हजुरको आँखा भिजेको कहिल्यै देखिन बुवा। हजुरको न कुनै दराज छ, न कुनै मदुस। यति धेरै दु:ख हजुर कहाँ लुकाएर राख्नु हुन्छ? दुखेको त्यो खुट्टाले सकी-नसकी झिजै-झिजा मसिना बासका सिम्ठा बोक्दै तरकारीको लागि झिक्रा बनाउनु भयो। तरकारी राम्रो होस् भनि डोकाकै डोका मल खन्याउनु भयो, त्यसले त आज त्यो सबै झिक्रा नै हरियाली हुने गरी विभिन्न फलफूल फुलेका छन् नि है बुवा? मेरो सन्तानको भविष्य उज्ज्यालो होस् भनेर दुनियाँसँग कति झुक्नु भयो होला है? तर आज हजुरकै सन्तानले त्यो महेनत नै नगरी भाग्यलाई दोष दिदैँ बस्दा हजुरको सपना त बन्द सटर भित्र खापिदै खापिदै ढुसी लाग्दौ गुम्सेको छ होला है । बुवा हजुर बजार जानहुन्थ्यो तर कैयौँ दिनको पसिनाको कमाइले आमालाई सारी ल्याइदिने सपना राख्नु हुन्थ्यो। बुवा हजुरको खल्तीमा पैसा नहुँदा पनि त्यही सारी हेर्दै जाने, हेर्दै आउने गर्नुहुन्थ्यो। कामदेखि घरमा आउन एकमुष्ट पारेको पैसाले आमाको सुन्दर मुहारमा खुसी छर्नको लागि किन्देको त्यो सारी हेर्दा मलाई लाग्छ मेरो बुवासँग टन्नै पैसा थियोे । त्यो सारी त्यति बाक्लो रैछ कि मेरी आमाले आजसम्म अर्को सारी फेरौ न भनेर बुवालाई कहिल्यै भन्नै सक्नु भएन। म अझै दोधारमै छु, आमाको सारी निकै बाक्लो थियो? या बुवाको खल्ती पातलो? आमाको कहानी सबैको मुखबाट सुनिन्छ तर आमालाई सफल बनाउन आफ्नो काँध नै दाउमा राख्ने बुवाको इतिहास कसैले पढ्दैन, किन? मैले पनि आमाकै बारेमा धैरै लेखे बा लाई ओझेलमा परि । हरेक बुवाको चिन्ता हुन्छ कि मेरो सन्तानले म अपहेलित भएको ठाउँमा पाइला नटेकुन्। बुवाले बारम्बार झक्झकाउने पनि गर्नु भएको छ। आफ्नो जीवनमा आइपरेको काँडा आफै निकाल्नु पर्दछ भनी, बुवा आमाको आशमा कहिल्यै नबस्नु। जति नै हुनेखाने भएपनि ससुरालीको धाक नलगाउनु, ससुरालीको सम्पत्ति भनेको मुतको न्यानो मात्र हो। बुवाभन्ने गर्नुहुन्छ- जिन्दगी जीउनको लागि दुई तरिका सधैँ अपनाउनुः जे भइराख्या छ हुन देउ, सहँदै जाउ, चुक्क नबोल, दबेर बस र अर्को: आफ्नो जिन्दगी आफ्नै मुठ्ठीमा राखेर आफ्नै तरिकाले जिउनु छ भने, आफ्नो जिम्मेवारी आफै उठाउ, आत्मबल दह्रो बनाउ, ती सबै उल्झनबाट आफू उत्रिनको लागि। बुवा नै हो हामीलाई संसारमा सबैभन्दा अप्रदर्शित माया गर्ने। आमाको ओठको मिठो हाँसो बुवा हजुर हो। बुवा नै आमाको अभिमान हो, स्वाभिमान हो। बुवा नै हो हाम्रो सपनालाई पूरा गर्ने, जिम्मेवारी आफ्नो थाकेको काँधमा सजाउने, बुवा नै हो आफ्नो परिवारको लागि आफैलाई आफैले पर कतै लगेर बेचिदिने व्यापारी। हो हामी आज बुवा आमाको कर्तव्यबोध बिर्सिका छौ । हामी सकि नसकी शहरिया बन्न खोजेका छौ ।बुवाले आफुले भोटो र कछाड लाहेर हामिलाई किन्देको नया लुगा लगाएर हामी हिड्दा बुबा डोकोमा केरा / तरकारी बेच्न हिडेको देख्यौ र साथीहरू सगै छ्न भने बा लाई चिनेको नचिने जस्तो गर्छौ । शहरमा आफू बसेको घर या डेरामा सके सम्म बुवा आमालाई ल्याउन चाहादैनौ । गाउँको घरमा कोहि साथीहरू सग सगै लिएर जादैनौ बुढाबुढिले इज्जत राख्दैन भन्ने सोच्छौ । किन हामी यस्तो सोच्छौ ? किन हाम्रो सोचमा परिवर्तन आउदैन । किन हामी बुवा आमाले खाई नखाई हामिलाई पेट भरी खुवाएको , आफुले सात प्रत्र टालेको लाएर हामिलाई नया लुगा किनिदिएको, आफू औठे छाप भए पनि हामिलाई स्कुल पढाएको , बुवा आमाले स्याखु , छत्री र पलास्टिकले गुजारा चलाई हामिलाई छाता किनिदिनु भएको , हामी बुटो र भिर पाखा गर्दा लड्न सक्नेछन् भनेर सकिनसकी आफै रुख बोट गर्नु भएको कुरालाई हामी सहजै भुल्दैछौ । कुशे औँसीलाई बुबाको मुख हेर्ने औँसी पनि भनिन्छ । आमाको मुख हेर्ने दिनमा आमाको सम्झना गरियो । गुरु पूर्णिमामा गुरुको सम्झना गरियो भने आजको दिन पिताको सम्मान, सम्झना अनि विशेष समर्पण गर्ने दिन । संसारमा हरेक बिहान बिस्तारै गएर एउटा साँझमा रूपान्तरित हुन्छ । बिहान उदाएका सूर्य अस्ताउने रीत छ । यिनै दिन र साँझको क्रमसँगै जीवन बढ्दै गएर कहिले बुबा त कहिले छोरा, कहिले आमा त कहिले छोरीको भूमिका निर्वाह गर्ने क्रम चलिरहन्छ । चाहे जुनसुकै धर्म या सम्प्रदायका भए पनि बुबाको हात समातेर तोते बोली बोल्दै लरबराएका पाइला चाल्न सिकेको हामीमध्ये धेरै छौँ । त्यसरी ताते–ताते गरेर हिँड्न सिकाउने, हाम्रो जीवन सजाउन दिन–रात अहोरात्र खटेर हामीलाई कर्म दिने अनि सुरक्षा दिने बुबा । सायद, शब्दले व्याख्या गर्न सकिन्न । तिनै बुबाहरूको बुढेसकालको बलियो लाठी बन्न हामीमध्ये धेरैले कडा परिश्रम पनि गरिरहेका छौँ होला ! जे होस् आमा–बुबा नै यस जगत का देख्न सकिने भगवान् हुन् । आजका दिन पृथ्वी लोकका सम्पूर्ण पिताहरूलाई स्मृति गर्दै कोटी–कोटी नमन गरौँ । ‘यी छोराछोरी बढ्लान् । कमाई गर्लान् र दूध भात देलान् मलाई’ भनेर हरेक आमा–बाबुले आफ्ना छोराछोरीसँग अपेक्षा राखेका हुन्छन् । सानामा आफूले थाङ्ना धोएर, को खाई को खाई गरेर खुवाएर, रुँदा फकाएर, माया गरेर हुर्काएको छोराछोरीहरूले पछि हुर्किएर आफूलाई दूध भात अर्थात् मिठो पोसिलो खानेकुरा देलान् र माया गरेर राख्लान् भन्ने आशा हुन्छ । हाम्रो संस्कारले हाम्रो जिम्मेवारीलाई एकदमै सहज र सरल तरिकाले व्याख्या गरिदिएको छ । हाम्रो माता–पिताप्रतिको जिम्मेवारी हामीले उहाँहरूको हामीप्रतिको लगाव र प्रेमले झन् प्रगाढ बनाउँछ । कुशे औँसीका दिन पिताको भौतिक उपस्थिति हुने छोराछोरीले उनको मुख हेरेर मिठाई, फलफूल, कपडा आदि उपहार दिने र परदेशमा हुने छोराछोरीले फोनबाटै पनि कुरा गर्छन् भने भौतिक रूपमा अस्त भइसकेका पिताहरूलाई छोराछोरीहरूले तस्बिर हेरेर अथवा विभिन्न धार्मिक पीठ, देवालय जस्तै: गोकर्णेश्वर महादेव, रसुवाको बेत्रावती, तनहुँको देवघाट, विष्णु पादुका तथा सुनसरीको वराहक्षेत्र लगायतका पवित्र तीर्थस्थल पुगेर स्थान गरी पितृहरूको नाममा श्राद्ध गरी तर्पण दिई सीधा दान गरी आध्यात्मिक चिन्तनबाट समेत सम्झना गर्ने गर्छन् । आज हामी बाबा को मुख हेर्ने दिनलाई एक औपचारिक रूपमा मात्र नहेरी मन बाट सम्मान गरौं । आज कुशऔँसी साथै बाबाको मुख हेर्ने दिन सम्पूर्ण बाबाहरु प्रति हार्दिक सम्मान!

46Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected