जेनजी आन्दोलनपछि हिंसात्मक गतिविधि नेपालको इतिहासमा अकल्पनीय : सभापति देउवा

काठमाडौं, असोज १३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनपछि भएको हिंसात्मक गतिविधिलाई नेपालको इतिहासमै अकल्पनीय र दु:खद घटना भएको बताएका छन्।
सोमबार बडा दशैं २०८२ को शुभकामना सन्देश जारी गर्दै देउवाले भदौ २४ गतेको घटनालाई स्मरण गर्दै गहिरो पीडा व्यक्त गरेका हुन्। उनले त्यस दिनको घटना मुलुकको शान्ति, स्थायित्व र प्रगतिका लागि ठूलो आघात बनेको उल्लेख गरेका छन्।
देउवाले भने, “भदौ २४ गतेको प्रदर्शनका क्रममा आपराधिक समूहद्वारा राष्ट्रपति भवन, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालय, सरकारी कार्यालय, व्यवसायिक प्रतिष्ठानदेखि राजनीतिक नेताहरूको निजी घर–डेरासम्म आक्रमण, तोडफोड, आगजनी र लुटपाट भएको छ। यसबाट खर्बौंको क्षति भएको छ। यो नेपालको इतिहासमै अत्यन्त अकल्पनीय र दु:खद घटना हो।”
उनले जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका युवा तथा सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको पनि कामना गरेका छन्।
सन्देशमा उनले कुनै पनि विशेष परिस्थितिमा राजनीतिक जटिलताको समाधान संविधानमै रहेको स्पष्ट पारेका छन्। “सात दशक लामो नेपाली जनताको त्याग, तपस्या र बलिदानको परिणामस्वरूप बनेको ऐतिहासिक संविधानमार्फतै मुलुकका सबै जटिलता समाधान हुनेछन्,” देउवाले भने।
उनका अनुसार संविधानले सुनिश्चित गर्ने स्थायित्व, लोकतान्त्रिक अभ्यास र संस्थागत प्रगतिले मात्र मुलुकलाई समृद्धितर्फ अघि बढाउन सक्छ। यसकारण सबै पक्षलाई संयमित भएर शान्तिपूर्ण समाधानको बाटो रोज्न उनले आह्वान गरेका छन्।
उक्त घटनामा देउवा स्वयं र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री आरजू राणामाथि आक्रमण भएको पनि उनले स्मरण गरेका छन्। उनले हिंसाले कुनै पनि प्रश्न समाधान नगर्ने भन्दै संवाद र लोकतान्त्रिक बाटोमार्फतै अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
दशैंको अवसरमा उनले नेपाली दाजुभाइ दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै, समाज, परिवार र व्यक्तिअन्तर एकता र सहकार्यलाई अझ सबल बनाउन आग्रह गरेका छन्।









सम्बन्धित खवर
















