
पोखरा। १३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा पोखरा महानगरपालिकाले श्रम, सीप र उद्यमशीलतामा योगदान पुर्याउने १२ जना व्यक्तिलाई सम्मान गरेको छ। निरन्तर श्रममा आबद्ध श्रमिक, स्वरोजगार उद्यमी तथा सीपमूलक तालिमपछि रोजगारीमा जोडिएका व्यक्तिहरूलाई विशेष कार्यक्रमका बीच सम्मान गरिएको हो।
महानगरको व्यवसाय प्रवर्द्धन केन्द्रका प्रमुख नवराज अधिकारीका अनुसार स्वरोजगारतर्फ शुष्मा पौडेल, रञ्जता रेग्मी र चन्द्र शर्मा सम्मानित भएका छन्। त्यस्तै रोजगारीतर्फ छविलाल कुँवर, कविता नेपाली र मञ्जु लामिछानेले सम्मान पाएका छन्।
मजदुरतर्फ मधुमाया तिमल्सिना, ममता गौतम, अप्सरा बास्तोला, केशवराज भट्टराई, विष्णुप्रसाद पौडेल र बालकुमार खवास सम्मानित बनेका छन्। सम्मानितमध्ये ६ जना विभिन्न क्षेत्रमा १० वर्षभन्दा बढी समय एउटै संस्थामा कार्यरत कर्मचारी तथा मजदुर रहेका छन् भने बाँकी ६ जनामध्ये ३ जना महानगरको तालिमपछि रोजगारीमा आबद्ध भएका र ३ जना स्वरोजगारमार्फत अरूलाई समेत रोजगारी दिने अवस्थामा पुगेका छन्।
उनीहरूलाई खादा, माला, सम्मानपत्रसहित जनही ५ हजार १०० रुपैयाँ नगद प्रदान गरिएको थियो। साथै, सोही अवसरमा महानगरको आर्थिक विकास महाशाखाअन्तर्गत सञ्चालन भएका सीपमूलक तालिम पूरा गरेका २०० प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो।
कार्यक्रममा महानगर प्रमुख धनराज आचार्यले व्यवहारिक सीप र दक्षता अभिवृद्धिले रोजगारी सिर्जना र आर्थिक सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए। “सीपअनुसार बजारमा प्रवेश गर्न सके बेरोजगारी घट्छ र आत्मनिर्भरता बढ्छ,” उनले भने, “आफ्नै सीपबाट आम्दानी गर्न सक्ने अवस्था बनेपछि व्यक्तिको सामाजिक सम्मान र आत्मविश्वास दुवै वृद्धि हुन्छ।”
वडा नं. २ का अध्यक्ष दिवसमान प्रधानाङ्गले बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्नु चुनौतीपूर्ण रहेको उल्लेख गर्दै यस्ता तालिम कार्यक्रम प्रभावकारी हुने धारणा राखे।
आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले विभिन्न संघसंस्था र तालिम केन्द्रसँग सहकार्य गरी नगरवासीलाई आयआर्जन र जीविकोपार्जनका अवसरमा जोड्ने प्रयास निरन्तर जारी रहेको बताए।
कडरियाको सभापतित्वमा सम्पन्न कार्यक्रममा व्यवसाय प्रवर्द्धन केन्द्रका प्रमुख नवराज अधिकारीले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य गोकर्ण कार्कीले राखेका थिए। कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, लेखनाथ उद्योग वाणिज्य संघका उपाध्यक्ष गोपी बास्तोला, मन्टेश्वरी एशोसिएसन कास्कीकी अध्यक्ष रिता पौडेललगायतले महानगरले उपलब्ध गराएको तालिमको प्रशंसा गरेका थिए।







सम्बन्धित खवर















