
पोखरा, १९ जेठ – मिलेनियम ट्रेक व्यवस्थापन समितिले राष्ट्रिय समाचार समिति (रासस) गण्डकी प्रदेशका प्रमुख वासुदेव पौडेललाई ‘मिलेनियम ट्रेक अवार्ड’ प्रदान गर्ने भएको छ।
समाचार सम्प्रेषणमार्फत नेपालको पहिलो मध्यपहाडी पदमार्ग ‘मिलेनियम ट्रेक’को प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै आगामी जेठ २३ गते नेपाल पर्यटन बोर्डको केन्द्रीय कार्यालय, काठमाडौंमा आयोजना हुने विशेष समारोहमा उहाँलाई उक्त अवार्ड प्रदान गरिने समितिले जनाएको छ।

समितिका महासचिव हर्क गुरुङका अनुसार अवार्डअन्तर्गत नगद रु १५ हजार ५५५, दोसल्ला तथा सम्मानपत्र प्रदान गरिनेछ। अवार्डका लागि रु १ लाख ११ हजार १११ को अक्षयकोष स्थापना गरिएको छ। यसअघि सो अवार्डबाट तनहुँ–गण्डकी एवं पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष डम्बर केसी सम्मानित भइसकेका छन्।
अवार्डबाट सम्मानित हुन लाग्नुभएका पौडेल यसअघि राससबाट दुई पटक ‘वर्ष उत्कृष्ट आलेख पुरस्कार’ प्राप्त गरिसक्नुभएको छ। उहाँले पत्रकारितामार्फत समाज तथा पर्यटन क्षेत्रमा पुर्याउनुभएको योगदानका लागि ऋषिशिला पत्रकारिता पुरस्कार, अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार, गाउँ पर्यटन पत्रकारिता पुरस्कार, लेखनाथ पत्रकारिता पुरस्कार, संरक्षण पत्रकारिता पुरस्कारलगायत विभिन्न संघसंस्थाबाट सम्मान तथा पुरस्कार प्राप्त गर्नुभएको छ।
वि.सं. २०६३ सालदेखि राससमा आबद्ध पौडेलले यसअघि जनमन्थन साप्ताहिकमा स्तम्भ लेखन, इभिनिङ टाइम्स साप्ताहिकमा सह–सम्पादक तथा स्वर्णिम सन्देश साप्ताहिकमा सम्पादकको जिम्मेवारी निर्वाह गर्नुभएको थियो। उहाँ हाल पोखरा पर्यटन परिषद्का प्रेस सल्लाहकारसमेत हुनुहुन्छ।
तनहुँको दुलेगौंडादेखि स्याङ्जाको रामबाछासम्म फैलिएको मिलेनियम ट्रेक सन् २००० देखि औपचारिक रूपमा सञ्चालनमा आएको हो। हिमाली तथा पहाडी दृश्यावलोकन, ऐतिहासिक कोट, दरबार र गुफाको अवलोकन गर्न सकिने यो पदमार्ग बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मका लागि उपयुक्त मानिन्छ। छ रात सात दिनको पदयात्रामा पूरा गर्न सकिने यो मार्ग चरापर्यटनका लागि पनि आकर्षक गन्तव्यका रूपमा परिचित छ। यहाँ करिब ३०० प्रजातिका चराचुरुङ्गी पाइने तथा नेपालमै दुर्लभ मानिने काँडे भ्याकुरसमेत प्रशस्त मात्रामा देख्न सकिन्छ।







सम्बन्धित खवर















