
पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनमा तारानाथ ढुंगाना महासचिव पदका उम्मेदवार बनेका छन्। आगामी भदौ २० र २१ गते हुने निर्वाचनमा उनी अध्यक्ष पदकी उम्मेदवार शोभा गौतम नेतृत्वको प्यानलबाट महासचिव पदमा प्रतिस्पर्धा गर्दैछन्।
व्यवसायीका साझा समस्या र मुद्दालाई संस्थागत रूपमा उठाउँदै समाधानका लागि सम्बन्धित निकायसँग प्रभावकारी पहल गर्ने उद्देश्यले उम्मेदवारी दिएको ढुंगानाले बताएका छन्। व्यवसायलाई व्यक्तिगत आम्दानीको माध्यम मात्र नभई रोजगारी सिर्जना, राज्यलाई राजस्व योगदान र समग्र अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा लिनुपर्ने उनको धारणा छ।

“व्यवसाय केवल व्यक्तिगत पेशा होइन,” भन्ने मान्यता राख्दै ढुंगानाले व्यवसायीले भोग्दै आएका समस्या पहिचान गरी त्यसलाई सम्बन्धित निकायसम्म प्रभावकारी रूपमा पुर्याउने र समाधानका लागि संस्थागत पहल गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
लामो समयदेखि व्यवसायमा सक्रिय ढुंगाना विभिन्न व्यावसायिक प्रतिष्ठान तथा संस्थामा आबद्ध छन्। व्यवसायसँगै व्यावसायिक क्षेत्रका साझा सवालमा सक्रिय रहँदै आएका उनले पोखरा उद्योग वाणिज्य संघको कार्यसमितिमा समेत काम गरिसकेका छन्। व्यवसाय र संस्थागत नेतृत्वको अनुभवलाई उनले आफ्नो उम्मेदवारीको आधारका रूपमा प्रस्तुत गरेका छन्।
महासचिवमा निर्वाचित भए व्यवसायी र संघबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउने उनको योजना छ। संघको सात दशकभन्दा लामो इतिहास, बदलिँदो व्यावसायिक वातावरण र व्यवसायीले सामना गरिरहेका नयाँ चुनौतीलाई सम्बोधन गर्दै समयानुकूल, व्यवस्थित र व्यवसायीमैत्री संस्था निर्माणमा उनले जोड दिएका छन्।
ढुंगाना आबद्ध अध्यक्ष पदकी उम्मेदवार शोभा गौतम नेतृत्वको प्यानलले संस्थागत सुशासन, लगानी प्रवर्द्धन, व्यवसायीका साझा समस्या समाधान तथा पोखराको आर्थिक विकासलाई प्राथमिकतामा राखेको जनाएको छ। महासचिवका रूपमा निर्वाचित भए ती एजेन्डालाई संस्थागत रूपमा अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने ढुंगानाको दाबी छ।
व्यवसाय र विभिन्न व्यावसायिक संस्थामा हासिल गरेको अनुभवलाई अब पोखरा उद्योग वाणिज्य संघमार्फत व्यवसायीको हितमा उपयोग गर्ने समय आएको उनको भनाइ छ।
ढुंगानाले आफ्नो उम्मेदवारीलाई पद प्राप्तिको प्रतिस्पर्धाभन्दा व्यवसायीले दिएको विश्वासलाई जिम्मेवारीमा रूपान्तरण गर्ने अवसरका रूपमा लिएका छन्। संघको आवाजलाई थप सक्रिय, पारदर्शी र परिणाममुखी बनाउने प्रतिबद्धतासहित उनले व्यवसायीसमक्ष मत मागिरहेका छन्।








