
डा. मणिलाल भौमिक इन्टरनेशनल फाउन्डेसनसँग सहकार्य, विपद्बाट प्रभावित बालबालिकाको भविष्य निर्माणमा जोड
काठमाडौं । बाढीले घरबार, सम्पत्ति र आश्रय गुमाए पनि प्रभावित बालबालिकाको भविष्य बग्न नदिने उद्देश्यसहित बतास फाउन्डेसनले डा. मणिलाल भौमिक इन्टरनेशनल फाउन्डेसनसँग सहकार्य गरेको छ।

सहकार्यअन्तर्गत बाढीबाट प्रभावित १०० भन्दा बढी बालबालिकालाई उच्च शिक्षा हासिल गर्न आवश्यक सहयोग प्रदान गरिने भएको छ। बाढी तथा प्राकृतिक विपत्तिका कारण कतिपय बालबालिकाले घर र सम्पत्तिसँगै आफ्ना अभिभावकसमेत गुमाएका छन्। यस्तो अवस्थामा आर्थिक तथा पारिवारिक संकटका कारण उनीहरूको शिक्षामा निरन्तरता दिन चुनौती थपिएको छ।
विपद्पछि तत्कालीन राहतसँगै दीर्घकालीन पुनर्स्थापना आवश्यक हुने भएकाले बालबालिकाको शिक्षा र भविष्यलाई प्राथमिकतामा राखेर यो पहल अघि बढाइएको बतास फाउन्डेसनले जनाएको छ। शिक्षामार्फत प्रभावित बालबालिकालाई आफ्नो जीवन पुनःनिर्माण गर्दै आत्मनिर्भर बन्ने अवसर प्रदान गर्ने लक्ष्य राखिएको छ।

बतास फाउन्डेसनका अनुसार विपत्तिले भौतिक संरचना क्षति पुर्याउन सक्छ, तर शिक्षाले बालबालिकालाई भविष्य निर्माण गर्ने दीर्घकालीन आधार प्रदान गर्छ। त्यसैले विपद्पछिको पुनर्स्थापनालाई घर निर्माण र तत्कालीन राहतमा मात्र सीमित नगरी शिक्षा, अवसर र आत्मनिर्भरतासँग जोड्न आवश्यक रहेको संस्थाको भनाइ छ।
“बाढीले घर लैजान सक्छ, तर हामी बच्चाको भविष्य लैजान दिन्नौँ।” भन्ने भावनाका साथ प्रभावित बालबालिकाको उच्च शिक्षामा सहयोग गर्ने अभियान अघि बढाइएको फाउन्डेसनले जनाएको छ।
नेपाल–भारत सहकार्यको भावना झल्काउने यस पहलले विपत्तिमा परेका बालबालिकालाई शिक्षा र अवसरमार्फत नयाँ आशा प्रदान गर्ने अपेक्षा गरिएको छ। “शिक्षाको साथ जीवनभर रहन्छ।” भन्ने विश्वासका साथ दुई संस्थाले बालबालिकाको दीर्घकालीन भविष्य निर्माणमा हातेमालो गरेका हुन्।






