२०८३ कार्तिक २०, शुक्रबार Friday, November 6, 2026
फिचर समाचार

इँटा उद्योगका तीन हजार भारतीय मजदुरको घर फर्कने चाहना

झापाको इँटा उद्योगमा काम गरिरहेका तीन हजार भारतीय मजदुर बन्दाबन्दीका कारण घर फर्किन पाएका छैनन् । उनीहरु अहिले आफू कार्यरत इँटा उद्योगमै सतर्कता अपनाउँदै बसेका छन् ।

इँटा उद्योग सङ्घका जिल्ला अध्यक्ष गुणराज थापाका अनुसार भारतको विहार र पश्चिम बङ्गालबाट गत असोजमा आएका भारतीय मजदुर चैत अन्तिमतिर काम सकेर घर फर्किने तयारीमा थिए । लगातारको बन्दाबन्दीले उनीहरु घर जान पाएनन् । काम लगाउने उद्योगले नै सुरक्षित तवरले खानेबस्ने व्यवस्था मिलाइरहेको छ । झापामा २७ इँटा उद्योग सञ्चालनमा रहेकामा करिब १२ उद्योग बन्दाबन्दीका बेला पनि चालू छन् । पानी पर्न शुरु गरेसँगै इँटा बनाउने काम रोकिएको छ ।

कतिपय भारतीय मजदुर परिवारसहित छन् । तिनका बालबच्चासमेत उद्योगमै छन् । उद्योगले बनाइदिएको अस्थायी आवासमा उनीहरु आफैँ खाना पकाएर खान्छन् । उनीहरुलाई चामल, दाल, तेल, नुन र तरकारीलगायतका सामग्री उद्योगीहरुले आवासगृहमै पु¥याइदिने गरेका छन् । “उनीहरुलाई घर पठाउने परिस्थिति नभएकाले हामीले नै खाने बस्ने सहज व्यवस्था मिलाएका छौँ”, सङ्घका अध्यक्ष थापाले भन्नुभयो, “उद्योग परिसरबाट उनीहरुलाई बाहिर जान दिएका छैनौँ र बाहिरका मान्छेलाई भित्र पस्न रोक लगाएका छौँ ।”

बन्दाबन्दीमा उद्योगभित्रै रहेका कामदारको नियमित स्वास्थ्य परीक्षण गरिएको गौरादह वडा नं ८ का वडाध्यक्षसमेत रहनुभएका शिवशक्ति इँटा उद्योगका सञ्चालक सीताराम भट्टराईले बताउनुभयो । उद्योगमा काम नभए पनि मजदुरलाई बिचल्ली नपारिने उहाँको भनाइ छ । उनीहरुलाई नियमित हात धुने साबुनपानी, मास्क र स्यानिटाइजरको समेत व्यवस्था गरिएको बताउँदै उहाँले इँटाभट्टामा काम गर्दा समेत सामाजिक दूरी कायम राख्न लगाइएको जानकारी दिनुभयो ।

“हामीले खाने र बस्ने व्यवस्था गरे पनि उनीहरु खुशी छैनन्”, उहाँले भन्नुभयो, “आफू सुरक्षित रहे पनि घरमा रहेका परिवार रोइरहेको अवस्था छ भन्दै बिलौना गर्छन् । कसरी सुरक्षितरूपमा उनीहरुलाई घर फर्काउने हो भन्नेबारेमा उद्योगीबीच छलफल भइरहेको छ ।”

नेपाल इँटा उद्योग सङ्घका केन्द्रीय सहसचिव जगन्नाथ खनालले नेपालका इँटा उद्योगमा रहेका भारतीय मजदुरलाई तन, मन र धनले सहयोग गरिरहेको बताउनुभयो ।(रासस)

Read more

भदौ १० : त्रिशूलीको भेलसँगै बगेको एउटा दिन

२४ घण्टाको छटपटी, जन्मभूमि फर्किने हुटहुटी र विपत्तिमा जागेको मानवता — अनुज कुमार श्रेष्ठ, सामाजिक अभियन्ता / लायन्स अभियानमा आबद्ध भदौ १० को बिहान म पोखरामा थिएँ। कार्यक्रमको…

बिपीको समाजवाद

युवराज खनाल, शुक्ला-१, तनहुँ । सानैदेखि परिर्वतन चाहने व्यक्ति थिए । उनले त्यतिबेला अघि सारेका समाजवादको मुल सिद्धान्त खासमा मनगढन्ते सिद्धान्त थिएनन् भन्नेहरु पनि छन् । ती सिद्धान्तहरु…

जापानिज शिक्षण सिकाईबाट प्रभावित ‘म’

शिक्षकले शिक्षणको माध्यमबाट सिक्ने ,  सिकाउने , बन्ने र बनाउने निरन्तर कर्म गर्दै विद्यार्थीलाई कक्षाकोठाको सानो झ्यालबाट सारा संसार देखाइरहेका हुन्छन् । एक असल विद्यार्थी , असल समाज…

राष्ट्रिय बालदिवस र आजका हाम्रा बालबालिका

युवराज खनाल/ वि.सं. २०२१ सालको भाद्र ४ गतेदेखि मनाउन शुरु गरिएको राष्ट्रिय बालदिवसू २०६३ सालमा आएर भाद्र २९ गते मनाउन सुरु गरियो । इतिहासलाई फर्केर हेर्दा नेपालमा बालदिवसमा…

संविधान दिवस सरकार र राजनीतिक दलहरु

युवराज खनाल/  दुईतिहाइको सरकार गठन भएको यत्तिका बर्ष बितिसक्दा पनि आमनागरिकहरूले सरकार परिवर्तन र कुनै बिकासको नयाँ अनुभव गर्न सकिरहेका छैनन् । संविधानमा भएका प्रावधानहरू पारित हुने क्रम…