227Shares

 –नारायणराज अधिकारी
हेड क्रेडिट रिस्क, कर्पोरेट÷कन्सोर्टियम÷एस.एम.ई युनिट
सिटिजन्स बैंक ईन्टरनेसनल लि.,

संयम एवं मानवता दुवै गुमाएको देखिन्छ जस्ले गर्दा सदियौं देखिको हाम्रो सामाजिक संकार, सदभाव र सहयोग भत्किन गएको छ । बनको बाघले भन्दा पनि बढी मनको बाघले धेरैलाई खाएको स्थिति देखिन्छ । आँफूलाई यस्तो परिस्थीति परेको भए कस्तो किसिमको अपेक्षा राख्थे भन्ने सोचेर अरुलाई व्यवहार गर्नुपर्ने दायित्य प्रत्येक नागरिको होइन र ? तर विडम्वना मानवसँग मानव अत्यन्त त्रसित भइरहेका छन् ।

आज विश्वका सर्वसम्पन्न मुलुक हुन वा अत्यन्त गरिव राष्ट्रहरु सवैलाई नोवल कोरोना भाइरस महाव्याधीले समान किसिमबाट हल्लाइरहेको छ । गरिव राष्ट्र त यसै निरिह हुनेनै भए मै हुँ भन्ने यूरोप, अमेरिका जस्ता शक्तिशाली राष्ट्रसमेत यस महामारी रोकथाममा निरिह हुन बाध्य भएका देखिन्छन् । सन् २०१९ डिसेम्वरको अन्त्यतिर चीनको वुहान प्रान्तमा सानो झिल्कोको रुपमा उत्पति हुँदा शायद कसैले पनि कल्पना गरेको थिएनन् होला विश्वभरी यसरी डढेलोसरी फैलिएर सन् २०२०को वर्षलाई लाई स्तव्ध पारिदिने छ । कोभिड १९ नामबाट आज संसारभर परिचित यो महामारी भाइरस संक्रमणको गति यति तिव्र रुपमा फैलियो कि केवल ४–५ महिनाको अवधिमा वुहानबाट यूरोप, एशिया, अमेरिका, अफ्रिका लगायत विश्वको सवैजसो महाद्वीपका वासिन्दालाई आहत बनाइरहेको छ । कतै रुघा खोकी लाग्ने, घाँटी खस्खसाउने, टाउको दुख्ने जस्ता लक्षण सहित त कतै विना कुनै लक्षण नै मानिसको शरीरमा यस भाइरसले प्रवेश गर्ने अनि शरिरका प्रमुख अँगहरु जस्तै फोक्सो, मुटु कलेजो आदिमा क्षती पु¥याउँदै अत्यन्त निर्मम तरिकाले प्राण पखेरुनै हरण गर्ने सम्मको दुस्साहस यस महाव्याधीले गरेको देखिन्छ । करिव ७–८ महिनाको अवधिमा विश्वभरका सबै मुलुकहरुमा गरेर करिव २ करोड ३५ लाख भन्दा बढी मानिसलाई आक्रान्त बनाउदै ८ लाख १२ हजार भन्दा बढी मानिसको ज्यान गएको तथ्यांक सार्वजनिक भएको छ ।

विश्वका शक्तिशाली मुलुकलाई सन् २०२० को जनवरी, फेव्रुवरी तिर यस महामारीले हल्लाउन शुरु गरिसक्दा पनि नेपालमा भने हामी यति ढुक्कसँग बस्यौ कि हाम्रो आराध्यदेव पशुपतिनाथले यस मुलुकका वासिन्दालाई पक्कै जोगाउने छन् । संक्रमण भएको खण्डमा हामीसँग भएका पूर्वाधारले थेग्न सक्छौ कि सक्दैनौ नभए कुनै तयारी पो गर्न जरुरी छ कि भन्ने विषयमा यस मुलुकको साशन सत्ता हातमा लिएका शासक वर्गले आवश्यक देखेनन् । करिव मार्च महिनाको अन्त्यतिर अर्थात, विं.सं २०७६ साल चैत्र महिनाको यस्तै ९–१० गतेतिर विदेशबाट फर्किएका २ नेपाली नागरिकमा यस भाइरसको संक्रमण देखियो भन्ने पुष्टि भयो । यस खवरको पुष्टिसँगै नेपालमा पनि औपचारीक रुपमा कोभिड १९ को प्रवेश भएको थाहा पाउन सकिन्छ । खवर पुष्टि भएको करिव १२ घण्टा पनि नवित्दै सरकार अत्तालिएर रोकथामको एकमात्र अचुक उपाए लकडाउन नै हो भनेसरि चैत्र ११ बाट मुलुकलाई ठप्प पार्ने निर्णय ग¥यो । एकाएक आम नागरिकको दैनिक जनजीवन अस्तव्यस्त बन्यो । आवतजावतमा वाधा पुग्यो आम नागरिकहरु भोको पेटमा हिँडेरै मेची देखि महाकालीसम्म पुग्न बाध्य भए ।

आर्थिक गतिविधि ठप्प हुन पुगे । नागरिकमा रोग भन्दा बढी भोकले सताउने परिस्थिति देखियो । लकडाउनले मुलुक नै ठप्प पार्दा समेत कोरोना नियन्त्रणमा सफलता भने हात लाग्यो शुन्यको स्थिति हुन पुग्यो । लकडाउन विरुद्ध विरोधका आवाज मुखरित हुन थाले । फलस्वरुप असार १ गतेबाट आँशिकरुपमा लकडाउनलाई खुकुलो बनाउन सरकार बाध्य भयो । जनजीवन केही खुकुलो हुँदै आँशिक आर्थिक क्रियाकलाप सञ्चालन हुन थाले । आँशिक खुकुलो बनाइएको लकडाउनबाट पनि आर्थिक क्रियाकलापहरु अपेक्षाकृत शुचारु हुन नसकेको र यसको असर प्रत्यक्ष रुपमा राजश्व संकलनमा देखिन थालेपछि सरकारले करिव १२० दिनको लकडाउन श्रावण ७ गतेबाट केही भिडभाड हुने व्यापारिक क्षेत्रमा बाहेक अन्त्य भएको घोषणा गर्न बाध्य भयो । लकडाउन त अन्त्य भयो तर कोरोना संक्रमणको ग्राफ दिनानुदिन झन बढ्दो क्रममा रहेको छ । नेपालमा करिव ३३ हजारको हाराहारीमा संक्रमणको पुष्टि भैसकेको छ भने करिव १६० जनाले यसैका कारण ज्यान गुमाइसकेको तथ्याँक सार्वजनिक भएको छ । यो निरन्तर बढ्दो क्रममा छ । ७७ वटै जिल्लामा संक्रमण फैलिसकेर हाल ६–७ वटा जिल्लामा संक्रमण मुक्त भएको पुष्टि स्वास्थ मन्त्रालयले गरेको छ ।

यतिखेर देशको संघीय सरकारले चर्तु¥याँई गरेको देखिन्छ किनभने एकातिर लकडाउन अन्त्य भयो भनेको छ अर्कोतिर स्थानीय निकाय परिचालित गरेर मुलुकको ३५ जिल्लामा पूर्णतया र १२ जिल्लामा आँशिक रुपमा निषेद्याज्ञा जारी गरेको छ । जतिपटक लकडाउन÷ निषेद्याज्ञा गरेपनि संक्रमण नियन्त्रणको लागि गर्नुपर्ने तयारी उचित रुपमा हुन सकेको देखिदैन । संक्रमण नियन्त्रणको लागि बनाइएका अव्यवस्थित क्वारेन्टाइनका कारण एकातिर मानसिक समस्या, आत्महत्या र बलात्कार जस्ता जघन्य अपराधहरु बढेका छन् भने अर्कोतिर संक्रमण रोकिनुको साटो झन फैलिन गएको छ । यस्तो संकटको वेलामा पनि शासक वर्गमा न्यूनतम मानवीय संवेदना र विवेककसमेत देखिएको छैन । उद्धारका नाममा भएका भ्रष्ट्राचार र अनियमितताको खवरले सञ्चारमाध्यम र सामाजिक सञ्जाल भरिएका छन् । गत चैत्रदेखि श्रावण महिनासम्म करिव ५ महिनाको अवधिमा कोरोना संक्रमण नियन्त्रणको नाममा राज्यकोषको ढुकुटीबाट करिव १२ अर्व रुपैया खर्च गरिसकेको विवरण सरकारले सार्वजनिक गरेको छ तर आम नागरिकले भने पत्याउन सक्ने बलियो आधार भेटेका छैनन् । संक्रमण नियन्त्रण हुनुको साटो झन त्रिव गतिमा फैलिएको छ । यससँगै भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने विमारीहरुको संख्या पनि दिनानुदिन बढ्दो क्रममा रहेको पाइन्छ । अस्पतालहरुमा भेन्टिलेटरको सुविधा दिनसक्ने क्षमताको विस्तार हुन सकेको छैन ।सरकार रोग नियन्त्रणमा प्रभावकारी हुन नसकेको गुनासो छ ।

आम नागरिको तहमा पनि एक अर्का प्रति अविश्वास एवं संवेदनहीनताको वातावरण उत्पन्न भएको छ । संक्रमण नै नभएको व्यक्तिले पनि शंकाकै भरमा सामाजिक बहिस्कारमा पर्नुपरेको देखिन्छ । सामान्य उपचार समेत पाउन नसकेर अकारण अरु नै कुनै पिडाबाट छटपटाउँदै मर्नु परेको छ । अग्रपंक्तिमा रहेर संक्रमितको सेवामा समर्पित चिकित्सक तथा स्वास्थ्यकर्मिहरुमा पनि संक्रमण त्रिव गतिमा फैलिरहेको पाइन्छ । उनीहरु संक्रमित भएको थाहा पाएपछि टोल छिमेकमा हैकम देखाउन खोज्ने मै हुँ भन्नेहरुबाट अपमानित एवं तिरस्कृत हुनुपरेको तितो यथार्थ समाजमा देखा परेको छ ।

देशको सुरक्षा सेवामा अहोरात्र खटिने सुरक्षाकर्मिहरुमा पनि संक्रमणले उक्तिकै पिरोलेको देखिन्छ । डेरामा बस्नेहरुको पिडा पनि उस्तै अपमानजनक देखिएको छ । यदि कुनै टोलमा कुनै व्यक्ति संक्रमित भयो भन्ने खवर सुन्नासाथ टोल छिमेकबाट सरसहयोग त कता हो कता उसको बचेकुचेको मनोवल पनि गिराउने हर्कतहरु हुन थालेका छन् । संक्रमणबाट मृत्यु हुनेहरुले मलामी एवं उचित दाह संकार पाउन सकेका छैनन् । मृतकको लास व्यवस्थापन गर्ने वरपरका बासिन्दाहरुले ढुङ्गामुढा गर्दै अवरोध खडा गरिरहेका छन् । संयम एवं मानवता दुवै गुमाएको देखिन्छ जस्ले गर्दा सदियौं देखिको हाम्रो सामाजिक संकार, सदभाव र सहयोग भत्किन गएको छ । बनको बाघले भन्दा पनि बढी मनको बाघले धेरैलाई खाएको स्थिति देखिन्छ । आँफूलाई यस्तो परिस्थीति परेको भए कस्तो किसिमको अपेक्षा राख्थे भन्ने सोचेर अरुलाई व्यवहार गर्नुपर्ने दायित्य प्रत्येक नागरिको होइन र ? तर विडम्वना मानवसँग मानव अत्यन्त त्रसित भइरहेका छन् ।

जुन बेलामा पहिलो चरणको लकडाउन भएको थियो संक्रमितको सँख्या ज्यादै न्यून थियो मनिसहरुमा यसको त्रास भने अत्याधिक थियो । सबैले सचेत भएर सावधानीका आवश्यक उपायहरु जस्तै मास्क लगाउने, भौतिक दुरी कायम गर्दै घरमा बस्ने, स्यानीटाइजरको प्रयोग एवं साबुन पानीले हात धुने लगायतका विभिन्न उपायहरु अवलम्बन गरेको देखिन्थ्यो । तर अहिले पछिल्लो क्रममा संक्रमितहरुको संख्या त्रिव रुपमा बढिरहेको छ मानिसहरुमा यसको त्रास भने हराउदै गएको हो कि जस्तो देखिन्छ किनभने भिडभाड बढिरहेको छ आवश्यक सावधानीका उपायमा समेत हेलचेक्र्याई गरिरहेको देखिन्छ । रोकथामको लागि हालसम्म कुनै आधिकारीक औषधी पत्ता लागिसकेको छैन । कहिलेसम्म यस महामारीको त्रासबाट मुक्त हुने हो त्यसको कुनै स्पष्ट संकेत अझै पाइएको छैन ।

त्यसकारण संक्रमणबाट बच्नको लागि सावधानीका उपायहरु अवलम्बन गर्नुको कुनै विकल्प देखिदैन । यस्तो संकटको वेलामा पनि हरेक क्षेत्रमा लुटको कुनै कमि देखिदैन । जुन क्षेत्र हे¥यो त्यहि क्षेत्रमा दण्डहिनताको पराकाष्ठ देख्न सकिन्छ । बजारमा खाद्यान्न लगायत आवश्यक दैनिक उपभोग्य सामानहरुको महँगी यस्तरी बढेको छ कि दुईछाक खानेले एक छाक खाएरै चित्त बुझाउन परेको छ । सम्बन्धित क्षेत्रका व्यापारीहरु यहि हो मौका कमाउने भने जस्तो गरेर जस्ले जति मूल्य तोकेपनि उपभोक्ता खरिद गर्न बाध्य छन् । महँगी नियन्त्रण हुन सकेको छैन । यसपटक एस.ई.ई.को परीक्षा हुने समयमा लकडाउन भएको कारणले विद्यार्थीहरुको शैक्षिक सत्र खेर नजाओस भन्ने उद्देश्यले विद्यालयहरुलाई नै आफ्ना विद्यार्थीहरुको मूल्याँकन गरेर नतिजा प्रकाशन गर्ने जिम्मेवारी दिएको थियो । प्रकाशित नतिजामा आफ्नै हात जगन्नाथ भन्ने उखान चरितार्थ भएको हो कि भन्ने विषयमा समेत बहस हुन थालेको छ । विद्यालयहरुलाई दिइएको विश्वासमा खरो उत्रन नसकेका हुन कि भन्ने चर्चा परिचर्चा पनि चल्न थालेको देखिन्छ ।

कोभिड १९ परीक्षणको दायरालाई फराकिलो बनाउने उद्देश्यले पि.सि.आर.परीक्षणको लागि निजी क्षेत्रलाई समेत अनुमति दिइएको छ । यसैक्रममा अचेल यस्तो गाँइगुँइ समेत चल्न थालेको छ कि परीक्षण अनुमति पाएका निजी क्षेत्रका ल्याव÷अस्पतालहरुले व्यापारिक उद्देश्य राखेर नेगेटिभ भएकोलाई पनि पोजेटिभ रिर्पोट देखाइदिने ताकी उक्त व्यक्तिसंग संम्पर्कमा आएका बढी भन्दा बढी व्यक्तिहरु अत्तालिएर परीक्षण गर्न आउन जस्ले गर्दा आम्दानी बढाउन सकियोस् । यदि यस्ता कुराहरु सत्य हुन भने त्यो भन्दा ठूलो विडम्बना केही हुँदैन किनभने जस्लाई पोजेटिभ रिर्पोट दिएको छ उ लगायत उसका घरपरिवार, इष्टमित्रहरुमा हुने मानसिक तनाव एकातिर हुने नै भयो अर्कोतिर उसँग सम्पर्कमा आएकाहरुको पनि अनावश्यक तनावसँगै आर्थिक क्षति समेत हुने भयो । यस्ता विषयमा सरोकारवाला निकायले बेलैमा ध्यान पु¥याउन अत्यन्त जरुरी देखिन्छ ।

महामारीको पिडा त छँदैछ हरेक क्षेत्रमा भएका यस्ता दण्डहिन विकृतिहरुले हाम्रो समाजलाई कतातिर डो¥याइरहेको छ एक पटक प्रत्येक सचेत नागरिकले सोच्न जरुरी भै सकेको छ । हरेक सचेत नागरिकले आ–आफ्नो तह तप्काबाट महामारीसँग लडने साहस जुटाउँदै समाजमा भएका विभिन्न किसिमका विकृतिहरुको भण्डाफोर गर्दै कानुनी दायरामा ल्याउनुपर्ने महत्वपूर्ण दायित्व समेत थपिएको देखिन्छ ।

 

227Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected