स्थानीय सरकारले बिजुली, खानेपानी समेतका सिफारिसमा राजनीतिक पूर्वाग्रह राख्योः मन्त्री खड्का
- September 8, 2021
- 2331

पोखरा २३ भाद्र । नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुमारबहादुर खड्काले स्थानीय सरकारले बिजुली, खानेपानी समेतका सिफारिसमा राजनीतिक पूर्वाग्रह राख्ने गरेको आरोप लगाएका छन् । ‘केन्द्र सरकार शेरबहादुर देउवा र गण्डकी प्रदेश सरकार कृष्णचन्द्र नेपालीले नेतृत्व गरे पनि स्थानीय सरकारमा काँग्रेस कार्यकताले सेवा सुविधा लिन समस्या भएको छ,’ मन्त्री खड्का भने–‘काँग्रेस कार्यकता भएकै कारणले बिजुली र खानेपानी समेतका सिफारिस स्थानीय सरकारले रोक्न मिल्दैन ।’ मन्त्री खड्का बुधबार विहान नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा नं. १६ को १४ औं महाधिवेशनबाट नवनिवार्चित समितिको पहिलो बैठकलाई सम्बोधन गर्दै थिए । उनले जनताका सेवा र विकास निर्माणका कार्यमा राजनीतिक पूर्वाग्रह लिन नहुने जिकिर गरे ।
बैठकमा नेका जिल्ला कोषाध्यक्ष लक्ष्मी पाण्डेले पार्टीको १४ औं महाधिवेशनमा महिलातर्फ खुल्ला महाधिवेशन प्रतिनिधिमा उमेद्वारी दिने घोषणा गरिन । उनले पार्टीभित्र फरकफरक गुट रहेको तर्फ संकेत गर्दै वडा नं. १६ मा एकै मत रहेको जिकिर गरिन । पोखरा बाटुलेचौरस्थित कालिका सामुदायिक भवनको सभाहलमा बैठक चलिरहदाँ काँग्रेसको १४ औं महाधिवेशनमा विभिन्न तहमा आआफ्नो उमेद्वारी घोषणा गरेका दर्जनौ नेताहरु मत माग्न बैठकस्थल पुगेका थिए । त्यस क्रममा बैठक समेत प्रभावित बन्न पुगेपछि कार्यक्रम सञ्चालक काँग्रेस वडा सचिव धर्मराज थापाले बैठकलाई हस्तक्षेप गरी भोट नमाग्न आग्रह गर्नुपरेको थियो ।














