मसिना पर्यटन सहकारीको १३औँ साधारण सभा सम्पन्न, प्रकाशचन्द्र पागल पुनः अध्यक्षमा चयन
- January 3, 2026
- 306

लेखनाथ। पोखरा महानगरपालिका वडा नं. ३२ स्थित मसिना पर्यटन बचत तथा ऋण सहकारी संस्था लि. को १३औँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशन सम्पन्न भएको छ। कास्कीको प्रवेशद्वारमा अवस्थित वडा नं. ३२ र तनहुँलाई कार्यक्षेत्र बनाएर स्थापना गरिएको सहकारीले लेखनाथ उद्योग वाणिज्य संघको सभा हलमा शनिबार कार्यक्रम आयोजना गरेको हो।
अधिवेशनले प्रकाशचन्द्र पागलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवगठित कार्यसमितिको उपाध्यक्षमा लक्ष्मी कोइराला, सचिवमा धर्मप्रकाश तिमिल्सिना र कोषाध्यक्षमा अर्जुन मल्ल चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा सप्तनाथ कुँवर, सरिता लम्साल वाग्ले, भरतराज धमला, हरिलाल रिमाल, विष्णुप्रसाद खनाल र धनकुमारी परियार रहेका छन्। लेखा सुपरिवेक्षण समितिको संयोजकमा पूर्णराज बोहोरा तथा सदस्यमा काशीनाथ धमला र खरिका देवी दाहाल चयन भएका छन्।
सभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं. ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले सहकारीको हितका लागि आफू सधैं सहकार्य गर्न तयार रहेको बताए। उनले साधारण सभा सदस्यहरूका जिज्ञासा राख्ने उपयुक्त मञ्च भएको उल्लेख गर्दै शेयर सदस्यहरूको सक्रिय सहभागिताले मात्र सहकारीका योजना सफलतापूर्वक अघि बढ्ने धारणा व्यक्त गरे।
सहकारीका सल्लाहकार बाबुराम गिरीले संस्थाको वर्तमान अवस्थाबारे चर्चा गर्दै कर्मचारीहरूको निष्ठा, पारदर्शिता र सेवाभावकै कारण सहकारी विश्वासको केन्द्र बनेको बताए। उनले सहकारीमार्फत सदस्यहरूको आर्थिक तथा सामाजिक स्तर उकास्न सकिनेमा जोड दिए।
सो अवसरमा लामो समयदेखि नियमित र उत्कृष्ट कारोबार गर्दै आएका शुक्ला गण्डकी नगरपालिका–१ निवासी इमराज कुँवरलाई ‘उत्कृष्ट सदस्य सम्मान’ प्रदान गरिएको थियो।
संस्थाका अध्यक्ष प्रकाशचन्द्र पागलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका महासचिव भरतराज ओझा, सञ्चालक समितिका उपाध्यक्ष विमला कुमारी बस्नेत, सचिव विष्णु प्रसाद तिवारी, कोषाध्यक्ष चिरञ्जीवी तिवारी, लेखा सुपरिवेक्षण समितिका संयोजक पूर्णराज बोहोरा, शेयर सदस्यका तर्फबाट मानबहादुर श्रेष्ठ तथा बाटिका बचत तथा ऋण सहकारीका इन्द्रबिलास पौडेल, भमरकोट बहुउद्देश्यीय कम्पनीका तर्फबाट सालिकराम पौडेललगायतले मन्तव्य राखेका थिए। कार्यक्रमको क्रममा सञ्चालक समिति सदस्य सरिता लम्सालले सहकारीका सात सिद्धान्त वाचन गरेकी थिइन्।
कास्की र तनहुँको सिमानामा रहेको मसिना खोलामा बाँध निर्माण गरी ८९१ किलोवाट विद्युत उत्पादन गर्ने उद्देश्यका साथ स्थापना भएको यस सहकारीले हाल विभिन्न चुनौती पार गर्दै अघि बढिरहेको छ। अध्यक्षको प्रतिवेदन अनुसार सहकारीको २० प्रतिशत शेयर कायम रहने गरी भमरकोट बहुउद्देश्यीय कम्पनी प्रा.लि. लाई स्वामित्व हस्तान्तरण गरिएको छ।
भमरकोट बहुउद्देश्यीय कम्पनीसँग भएको सम्झौता अनुसार सहकारीको लगानी रकम किस्ताबन्दीमा फिर्ता प्राप्त हुने र निर्माणसँग सम्बन्धित सम्पूर्ण खर्च कम्पनीले नै व्यहोर्नेछ। पोखरा महानगरपालिकाबाट स्वीकृति लिएर यसै माघ महिनादेखि काम सुरु गरी १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।






सम्बन्धित खवर
















