
टंकराज अधिकारी । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन कुनै औपचारिक पार्टी कार्यक्रम मात्र होइन, यो पार्टीको आत्मा बाँचिरहेको छ कि सकसमा छ भन्ने निर्णायक घडी हो। उद्घाटन सत्रको भव्यता र कार्यकर्ताको उत्साहले एउटा कुरा स्पष्ट संकेत गरेको छ—कांग्रेसभित्र अझै पनि लोकतन्त्र मरेको छैन। तर यही लोकतन्त्रलाई जोगाउने कि व्यक्तिगत अहंकारको बलिमा चढाउने भन्ने फैसला अब प्रतिनिधिहरूको हातमा छ।
महाधिवेशन प्रतिनिधिहरूले यो बुझ्नैपर्छ—उनीहरू केवल मत हाल्ने मेसिन होइनन्, कांग्रेसको भविष्यका निर्णायक हुन्। आजको निर्णयले पार्टीलाई एकताबद्ध बनाउने अवसर पनि दिन सक्छ, र दशकौँसम्म निको नहुने विभाजनको बीउ पनि रोप्न सक्छ। कार्यकर्ताले खोजेको प्रतिस्पर्धा होइन, समन्वय हो; गुट होइन, एकता हो; शक्ति प्रदर्शन होइन, संवाद हो। पार्टीभन्दा माथि व्यक्ति वा गुट राख्ने प्रवृत्तिले कांग्रेसलाई कहाँ पुर्यायो भन्ने इतिहास साक्षी छ।
आज कांग्रेसलाई जित–हारभन्दा ठूलो चुनौती छ—परिपक्वता देखाउने कि फेरि पनि आत्मघाती गल्ती दोहोर्याउने? यदि यो विशेष महाधिवेशन गुटबन्दी, शक्ति संघर्ष र व्यक्तिगत अहंकारको अखडा बन्यो भने त्यसको क्षति कांग्रेसमा मात्र सीमित रहने छैन। कांग्रेस कमजोर हुनु भनेको लोकतान्त्रिक शक्ति कमजोर हुनु हो, र त्यसको प्रत्यक्ष असर देशको लोकतान्त्रिक भविष्यमा पर्नेछ।
यही सन्दर्भमा गगन थापा र विश्वप्रकाश शर्मा केवल नाम होइनन्, एउटा राजनीतिक धारका प्रतीक हुन्। भ्रष्टाचारविरुद्ध अस्पष्टता होइन, स्पष्ट अडान; सत्ताको खेल होइन, संस्थागत सुधार; जस्तोसुकै हालतमा पनि सत्ता होइन, राजनीतिक आत्मसम्मान—यिनै मूल्यहरूले उनीहरूलाई फरक बनाएको छ। यही कारण युवाहरू उनीहरूतर्फ आकर्षित छन्, र कांग्रेसबाट विमुख भएका धेरै मतदाता पुनः फर्किन सक्ने सम्भावना देखिएको छ। समस्या इतिहास होइन, समस्या वर्तमान चरित्र हो—यो यथार्थलाई कांग्रेसले स्वीकार्नैपर्छ।
गगन थापाको नेतृत्वले कांग्रेस सुध्रन सक्छ भन्ने आशा जन्माएको छ भने विश्वप्रकाश शर्माजस्ता बौद्धिक र नैतिक साथले त्यो आशालाई वैचारिक आधार दिएको छ। पार्टी फुटाएर होइन, पार्टीभित्रै लोकतान्त्रिक संघर्षमार्फत् परिवर्तन सम्भव छ भन्ने साहसी सन्देश उनीहरूले दिएका छन्। यो नेपाली राजनीतिमा दुर्लभ तर आवश्यक अभ्यास हो।
यो विशेष महाधिवेशनले भोलि जे निर्णय गरोस्, एउटा सत्य भने स्थापित भइसकेको छ—लोकतन्त्र कसैको निजी सम्पत्ति होइन। विशेष महाधिवेशन रोक्न, कमजोर पार्न वा अवरोध सिर्जना गर्न भएका सबै प्रयास असफल भएका छन्। पार्टी मनपरीले होइन, विधानले चल्छ भन्ने कुरा नारामा होइन, व्यवहारमै देखिएको छ। यही कारणले यो महाधिवेशन कांग्रेसका लागि मात्र होइन, सम्पूर्ण लोकतान्त्रिक अभ्यासका लागि पनि महत्वपूर्ण बनेको छ।
बी.पी. कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईजस्ता उच्च राजनीतिक संस्कार भएका नेताहरूको विरासत बोकेको पार्टीले आज फेरि एउटा ऐतिहासिक छनोट गर्नुपर्ने अवस्थामा पुगेको छ—परिवर्तनको नेतृत्व गर्ने कि अतीतको बोझ बोकिरहने? विद्यार्थी राजनीतिबाट उदाएर निरन्तर संघर्ष गर्दै आएका नयाँ पुस्ताका नेताहरूले देखाइरहेको साहसले दोस्रो विकल्प स्वीकार्य छैन भन्ने संकेत गरिसकेको छ।
अन्त्यमा, सुदृढ कांग्रेस भनेकै सुदृढ लोकतन्त्र हो। कांग्रेसको कुहिएको पिलो फुटाउँदा पीडा हुन्छ, आलोचना हुन्छ, असहजता हुन्छ—तर उपचार यही हो। जित–हारभन्दा माथि उठेर जिम्मेवारी, परिपक्वता र एकतालाई रोज्न सके मात्र यो विशेष महाधिवेशन इतिहासमा अर्को अवसर गुमाएको घटना होइन, लोकतान्त्रिक पुनर्जागरणको मोडका रूपमा सम्झिनेछ।
उनि नेपाल प्रेस युनियनका गण्डकी प्रदेशका अध्यक्ष समेत रहेका छन् ।





सम्बन्धित खवर















