0Shares

पोखरा । प्रजातन्त्र सेनानी दयाशंकर पालिखेको स्मृतिमा स्थापित ‘दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान’बाट यस वर्ष दुई जना पत्रकार सम्मानित भएका छन्। नेपाल पत्रकार महासंघ कास्की शाखाले मंगलबार पोखरामा आयोजना गरेको विशेष समारोहमा वर्ष २०८१ का लागि पत्रकार सूर्यचन्द्र बस्नेत र वर्ष २०८२ का लागि पत्रकार कृष्णमणि बराललाई जनही १ लाख १ हजार १११ रुपैयाँ राशीसहित सम्मानपत्र प्रदान गरेको हो।

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले सम्मान हस्तान्तरण गर्दै दुवै पत्रकारको दीर्घकालीन योगदानको उच्च प्रशंसा गरे। उनले पछिल्लो समय पत्रकारिता क्षेत्र अनेक चुनौतीबीच अघि बढिरहेको उल्लेख गर्दै सत्य, निष्पक्षता र उत्तरदायित्वमा आधारित पत्रकारिताको आवश्यकता झन् बढ्दै गएको धारणा राखे। “सूचनाको तीव्र प्रवाहले नागरिकलाई दिग्भ्रमित बनाउने खतरा बढेको छ,” उनले भने, “यस्तो अवस्थामा सत्यमा आधारित, तथ्यपरक र जिम्मेवार पत्रकारिता आजको अपरिहार्य आवश्यकता हो।”

लामो समय पोखरामा क्रियाशील रहेर पत्रकारिता गरेका तनहुँका सूर्यचन्द्र बस्नेत हाल राष्ट्रिय समाचार समिति (रासस) काठमाडौंमा वरिष्ठ सम्पादकका रूपमा कार्यरत छन्। उनले विभिन्न राष्ट्रिय तथा स्थानीय मुद्दामा गहिरो विश्लेषणात्मक सामग्री प्रस्तुत गर्दै नेपाली पत्रकारितामा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका छन्। त्यस्तै, पोखराकै कृष्णमणि बराल अहिले बीबीसी नेपाली सेवा, अन्नपूर्ण पोस्ट् तथा इनेचर न्यूजसँग आबद्ध रहँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विषयमा सक्रिय पत्रकारिता गरिरहेका छन्।

सम्मान ग्रहणपछि दुवै पत्रकारले यस्तो सम्मानले आफ्नो पेशागत यात्रामा थप ऊर्जा र जिम्मेवारी बोध गराएको प्रतिक्रिया दिए। उनीहरूले निष्पक्ष र जनउत्तरदायी पत्रकारितालाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरे।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधवप्रसाद बरालले प्रेस स्वतन्त्रता संकुचित हुँदै गएकोप्रति चिन्ता व्यक्त गरे। उनले प्रेस स्वतन्त्रता बिना लोकतन्त्र सुदृढ हुन नसक्ने स्पष्ट पार्दै सरकारी नीतिहरूले निजी सञ्चारमाध्यमलाई असर पुर्‍याइरहेको आरोप लगाए। “सरकारी विज्ञापन वितरणमा देखिएको असन्तुलनप्रति महासंघको आन्दोलन जारी छ,” उनले भने, “स्वतन्त्र र सशक्त मिडिया बिना लोकतन्त्र बलियो हुन सक्दैन।”

दयाशंकर पालिखेको स्मृतिमा उनको परिवारद्वारा स्थापना गरिएको अक्षयकोषबाट सञ्चालन हुँदै आएको उक्त सम्मानले पत्रकारितामा समर्पित व्यक्तित्वहरूको कदर गर्दै आएको छ। कार्यक्रममा पालिखे परिवारका तर्फबाट सुनयना पालिखेले परिवारले स्थापना गरेको अक्षयकोषको उद्देश्यबारे जानकारी गराउँदै गुणस्तरीय पत्रकारितालाई प्रोत्साहन गर्ने लक्ष्य रहेको बताइन्।

त्यसैगरी, प्रतिभा छनोट समिति संयोजक रवीन्द्रनाथ बास्तोला, न्यूनतम पारिश्रमिक निर्धारण समिति सदस्य बासुदेव मिश्र, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी मन्तव्य राख्दै पत्रकारिताको व्यावसायिकता, मर्यादा र विश्वसनीयता जोगाउन सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा विभिन्न सञ्चारकर्मी, नागरिक समाजका प्रतिनिधि तथा स्थानीय व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो। l नेपाल पत्रकार महासंघ कास्कीका सचिव भूपाल गुरुङले कार्यक्रम संचालन गरेका थिए ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected