0Shares

पोखरा, २४ जेठ — पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाले महानगरका विभिन्न क्षेत्रमा निःशुल्क बृहत् स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ। महानगरले पाँच स्थानमा शिविर आयोजना गर्ने योजना बनाएकोमा आइतबारसम्म चार स्थानमा शिविर सम्पन्न भइसकेका छन्।

शिविरमा रगत परीक्षणका लागि युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (यूआरएल) र आँखा परीक्षणका लागि दृष्टि आँखा अस्पतालले सहकार्य गरेका छन्।

आइतबार पोखरा–५ स्थित अम्बिका माध्यमिक विद्यालय, सुँईखेतमा आयोजित शिविरबाट ४६५ जनाले स्वास्थ्य सेवा लिएका छन्। शिविरमा १४८ जनाको प्रयोगशाला परीक्षण गरिएको थियो। त्यस्तै, आरबीएस परीक्षण १२७ जना, टीएसएच परीक्षण ५० जना, टीजी परीक्षण २० जना, युरिक एसिड परीक्षण ६५ जना तथा पिसाबसम्बन्धी परीक्षण ७२ जनामा गरिएको स्वास्थ्य महाशाखाले जनाएको छ।

उक्त शिविरमा २६९ जनाले आँखा परीक्षण सेवा लिएका थिए। परीक्षणपछि ३५ जनालाई निःशुल्क चस्मा वितरण गरिएको थियो।

यसअघि शनिबार पोखरा–२३ स्थित सिद्ध वराह माध्यमिक विद्यालयमा सञ्चालन गरिएको शिविरबाट ५२३ जनाले सेवा लिएका थिए। शिविरमा ३३२ जनाको आँखा परीक्षण तथा २१० जनाको प्रयोगशाला परीक्षण गरिएको थियो।

स्वास्थ्य महाशाखाका अधिकृत हरिलाल आचार्यका अनुसार समुदायस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले महानगरले यस्ता शिविर सञ्चालन गर्दै आएको हो। स्वास्थ्य प्रवर्द्धन र नागरिकको स्वास्थ्य पहुँच विस्तारमा शिविर प्रभावकारी बन्ने विश्वास उनले व्यक्त गरे।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected