पोखराको सार्वजनिक यातायातमा ४० मिलियन डलर लगानी, स्मार्ट र हरित यातायात प्रणाली निर्माण हुने
- June 9, 2026
- 99

एशियाली विकास बैंक र ग्रिन क्लाइमेट फन्डको सहयोगमा इमोबिलिटी परियोजना सञ्चालन, विद्युतीय सवारी र डिजिटल यातायात व्यवस्थापनमा जोड
पोखरा । पोखराको सार्वजनिक यातायात प्रणालीलाई आधुनिक, व्यवस्थित तथा वातावरणमैत्री बनाउने लक्ष्यसहित सञ्चालन हुन लागेको इमोबिलिटी परियोजनाअन्तर्गत ४० मिलियन अमेरिकी डलर बराबरको लगानी हुने भएको छ। पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाअन्तर्गत व्यवसाय प्रवर्द्धन केन्द्रको आयोजना तथा आर्थिक आवाजको साझेदारीमा आयोजित सार्वजनिक–निजी संवाद कार्यक्रममा उक्त जानकारी सार्वजनिक गरिएको हो।
‘स्मार्ट एन्ड सस्टेनेबल मोबिलिटी’ विषयमा आयोजित संवाद कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ, नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका अध्यक्ष सरोज सिटौला तथा नेपाल अटोमोबाइल एसोसिएसनका कार्यकारी निर्देशक गोविन्द भट्टराईबीच छलफल भएको थियो। कार्यक्रमको सहजीकरण आर्थिक आवाजका सम्पादक सुरेन्द्र पौडेलले गरेका थिए।

कार्यक्रममा बोल्दै महानगर प्रमुख धनराज आचार्यले दिगो सहरी यातायात व्यवस्थापन तथा विद्युतीय सवारी प्रवर्द्धनका लागि एशियाली विकास बैंक र ग्रिन क्लाइमेट फन्डको साझेदारीमा नेपालले १०० मिलियन अमेरिकी डलर बराबरको अनुदान तथा सहुलियतपूर्ण ऋण प्राप्त गरेको जानकारी दिए। सो रकममध्ये ४० मिलियन अमेरिकी डलर पोखरामा खर्च गरिने उनले बताए।
“पोखरालाई पर्यटन राजधानी घोषणा गरिसकेपछि यहाँको यातायात व्यवस्थापनलाई थप व्यवस्थित, सुरक्षित र वातावरणमैत्री बनाउनु आवश्यक छ,” आचार्यले भने, “इमोबिलिटी परियोजनाले सार्वजनिक यातायातमा गुणात्मक सुधार ल्याउनुका साथै वातावरण संरक्षणमा समेत महत्वपूर्ण योगदान पुर्याउनेछ।”
उनका अनुसार परियोजनाअन्तर्गत विद्युतीय सार्वजनिक सवारी साधनको प्रयोग विस्तार, चार्जिङ स्टेसन निर्माण, सार्वजनिक यातायात सेवाको डिजिटलाइजेशन, स्मार्ट बस स्टप तथा अन्य आवश्यक पूर्वाधार विकास गरिनेछ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले आर्थिक विकास र पर्यटन प्रवर्द्धनका लागि आधुनिक सार्वजनिक यातायात अपरिहार्य रहेको बताए। निजी क्षेत्र लगानी, प्रविधि र व्यवस्थापनमा सरकारसँग सहकार्य गर्न तयार रहेको उनको भनाइ थियो।
त्यसैगरी नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका अध्यक्ष सरोज सिटौलाले सार्वजनिक यातायात सुधारका लागि सरकार, व्यवसायी र उपभोक्ताबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। विद्युतीय सवारीमा रूपान्तरण गर्दा व्यवसायीका व्यावहारिक समस्या र चुनौतीलाई समेत सम्बोधन गर्नुपर्ने उनले उल्लेख गरे।
नेपाल अटोमोबाइल एसोसिएसनका कार्यकारी निर्देशक गोविन्द भट्टराईले दिगो यातायात प्रणाली निर्माणका लागि प्रविधिमैत्री नीति, पर्याप्त चार्जिङ पूर्वाधार तथा जनचेतना अभिवृद्धि आवश्यक रहेको बताए। उनले पोखरालाई हरित तथा स्मार्ट सहरका रूपमा स्थापित गर्न इमोबिलिटी परियोजना महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गरे।
संवाद कार्यक्रममा सहभागीहरूले पोखराको सार्वजनिक यातायात सुधारका लागि सार्वजनिक र निजी क्षेत्रबीच बलियो सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए। परियोजनाले पोखराको यातायात प्रणालीलाई विद्युतीय, आधुनिक र दिगो बनाउँदै पर्यावरणमैत्री यातायात समाधान प्रदान गर्ने अपेक्षा गरिएको छ।




























