
पोखरा भ्यूज । कास्कीको अन्नपूर्ण गाउँपालिका–३ काहुँड़ाडामा अन्नपूर्ण बहुप्राविधिक शिक्षालय भवनको शिलान्यास भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को आंगिक शिक्षालय रहेको अन्नपूर्ण बहुप्राविधिक शिक्षालय भवनको नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मंगलवार एक कार्यक्रमका विच शिलान्यास गरेका छन ।
भवन शिलान्यास गर्दै मन्त्री पौडेलले प्राविधिक तथा बहुप्राविधिक शिक्षा देशका सबै स्थानीय तहमा पुर्याउने लक्ष्यका साथ मन्त्रालयले प्रत्येक स्थानीय तहमा प्राविधिक र बहुप्राविधिक शिक्षालय स्थापना गर्ने काममा अघि बढेको बताए । मन्त्री पौडेलले अन्नपूर्ण बहुप्राविधिक शिक्षालयलाई नमुनाका रुपमा अघि बढाउन आवश्यक बजेटका लागि आफूले पहल गर्ने समेत बताए ।

“भौतिक संरचना र जग्गा प्राप्तिका लागि मन्त्रालयको तर्फबाट हुने सहयोग गर्न तयार छु”मन्त्री पौडेलले भने, “अन्यत्र नभएको विषयलाई हामीले ध्यान दिनुपर्छ ।” मन्त्री पौडेलले ३ वर्षभित्र देशभरका विद्यालयको भौतिक संरचना बनाउने गरी मन्त्रालयले योजना अघि बढाएको बताउँदै यस वर्षको राष्ट्रपति शैक्षिक सुधारको कार्यक्रम थप व्यवस्थित गरि कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे । मन्त्री पौडेलले पढ्दै कमाउँदै कार्यक्रमले सिपलाई श्रमसँग जोड्ने बताउँदै ९ देखि १२ कक्षासम्मका विद्यार्थीलाई समावेश गर्ने बताए ।
२०७६ साल असोज ७ गते आंगिक क्याम्पसको रुपमा सञ्चालन भएको अन्नपूर्ण बहुप्राविधिकको शैक्षिक भवन निर्माणका लागि सरकारले ५ करोड छुट्याएको छ । निर्माणको ठेक्का पाएको रविना कन्ट्रक्सन प्रालिले ३ करोड ८७ लाख २७ हजार ७६ रुपैयाँमा ४ तले १५ कोठे शैक्षिक भवन एक वर्षभित्रमा सम्पन्न गर्ने गरी समझौता गरेको छ ।
अन्नपूर्ण बहुप्राविधिक शिक्षालयमा तीन वर्षीय डिप्लोमा बाली विज्ञानको पढाइ हुन्छ ।
कार्यक्रममा संघीय सांसद दुर्गा विकले प्राविधिक शिक्षालय ल्याउन १५ बर्ष अघि देख़ि लागेको अभियान सफल भएकोमा गर्व महशुष गरेकी थिईन ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का सदस्य सचिव जिवनारायण काफलेले शिक्षालाई सीपसँग र सीपलाई उत्पादन तथा रोजगारीसँग जोड्नुपर्ने आवश्यकता औँल्याए ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले आर्थिक अभावमा प्राविधिक शिक्षाबाट वञ्चित रहेका निम्न तथा मध्यमस्तरका नागरिकलाई सहज भएको बताए ।
ज़िल्ला विकास समिति कास्कीका पूर्व सभापति पुण्यप्रसाद पौडेलले प्राविधिक शिक्षालय स्थापना गर्न करिव ५ बर्ष लागेको बताउदै अभियान र रहर पुरा भएकोमा ख़ुशी मिलेको बताए । उनले सिकेको ज्ञान सीपलाई प्रमाणपत्रमा मात्रै सीमित नराखी व्यवहारमा अनुवाद गर्नु पर्नेमा जोड़ दिए ।
शिक्षा विज्ञान प्रविधि तथा सामाजिक बिकास मन्त्रालय गण्डकी प्रदेशका सचिव बिनोद बहादुर कुँवरले सिकेका ज्ञानलाई बदलिँदो विश्व परिवेश र स्थानीय आवश्यकतासँग तालमेल मिलाउँदै व्यवहारिक तथा जीवनोपयोगी बनाउनु जरुरी रहेको औँल्याए ।
कार्यक्रमका अध्यक्ष प्रमुख ज़िल्ला अधिकारी जयनारायण आचार्यले समयमै निर्माण सम्पन्न गरी आफनै कार्यकालमा भवन उद्घाटन गर्न आतुर रहेको बताउदै स्थानीय स्तरबाट हुने सहयोगमा कमी नहुने बताए । सिकेका सीपलाई राष्ट्र विकासमा लाग्न उनले सूझाए ।
सीटीईभीटीको आंगिक उक्त शिक्षालयले स्थानीय तहको आवश्यकता र श्रम बजारको अध्ययन गरी सो अनुसार प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्य राखि आगामी दिनहरुमा प्राविधिक शिक्षाका अन्य कार्यक्रमहरु क्रमश थप गर्दै जाने योजना रहेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् गण्डकी प्रदेशका निर्देशक प्रमोद भक्त आचार्यले बताए । सीटीईभीटी अन्तगर्तको यस्ता शिक्षालयले कम शुल्कमा गुणस्तरीय प्रशिक्षण दिदै आएको उनको दावी छ ।
हाल विद्यार्थीलाई माछापुछ्रे माविको भवनमा राखेर पढाइएको र आफ्नै भवनमा सार्न १५ कोठे भवन निर्माण सुरुभएको चालु यसै आर्थिक वर्षभित्रै शिक्षालयको भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको शिक्षालयका प्रमुख मोतीमाया सुवेदीले बताईन।







सम्बन्धित खवर
















