लायन्सको उदाहरणीय पहलः डिष्ट्रिक्ट ३२५ ‘आर’ले नेपालमै पहिलो प्रशासकिय भवनको शिलान्यास गर्यो
- November 7, 2025
- 567

भरतपुर, चितवन । सामाजिक सेवामा निरन्तर सक्रिय लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ ‘आर’ नेपालले शुक्रबार भरतपुर–३, चितवनमा एक भव्य समारोहका बीच आफ्नै प्रशासकिय भवनको शिलान्यास गरेको छ। नेपालका रहेका १५ वटा लायन्स डिष्ट्रिक्टमध्ये आफ्नो प्रशासनिक भवन निर्माण सुरु गर्ने पहिलो डिष्ट्रिक्ट बनेको ३२५ ‘आर’ले संस्थागत सुदृढीकरणतर्फ ऐतिहासिक कदम चालेको हो।
शिलान्यास समारोहका प्रमुख अतिथि लायन्स अन्तर्राष्ट्रियका निवर्तमान अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटी र विशिष्ट अतिथि एल.सि.आई.एफ. एरिया लिडर तथा अन्तर्राष्ट्रिय निर्देशक (इन्डोर्सी) राजन लम्सालले संयुक्त रूपमा निर्माण कार्यको शुभारम्भ गरेका थिए।
डिष्ट्रिक्ट गर्भनर नवराज सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व डिष्ट्रिक्ट गर्भनरहरू, लायन्स तथा लियो सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमले लायन्स आन्दोलनको आत्मविश्वास, एकता र सामुदायिक समर्पण झल्काएको सहभागीहरूले प्रतिक्रिया दिएका छन्।
भवन निर्माण समितिका संयोजक तथा पूर्व डिष्ट्रिक्ट गर्भनर सिद्धार्थलाल चुकेका अनुसार भवन निर्माण कार्य १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। करिब २ करोड रुपैयाँ लागत अनुमान गरिएको यस भवनका लागि हालसम्म ४५ लाख रुपैयाँ संकलन भइसकेको र बाँकी रकम छिट्टै जुट्ने विश्वास गरिएको छ। “हामीले धेरै अगाडिदेखि नै प्रति लायन सदस्य ३,००० रुपैयाँका दरले सहयोग संकलन गर्ने निर्णय गरेका थियौं,” चुकेले बताए, “सबैको सक्रिय सहभागिताले यो सपना सहजै साकार हुन्छ भन्ने हाम्रो विश्वास छ।”
लायन्स सदस्य समेत रहेका इन्जिनियर उमेश ढकालका अनुसार भवनको पहिलो तला कार्यालय प्रयोजनका लागि प्रयोग हुनेछ भने दोस्रो तलामा दुईवटा बहुउद्देश्यीय हल रहनेछ। भवन १ कठ्ठा (२० धुर)क्षेत्रफलमा निर्माण हुने छ, जसअन्तर्गत १० धुर जग्गा लायन्सले खरिद गरेका हुन् भने बाँकी १० धुर जग्गा लायन्स सदस्य बालगोपाल चुके परिवारले दान गरेका हुन्।
यो भवन केवल प्रशासनिक प्रयोजनका लागि नभई, लायन्स आन्दोलनको साझा घर र एकताको प्रतीक बन्ने अपेक्षा गरिएको छ।
प्रमुख अतिथि बालकृष्ण बुर्लाकोटी र विशिष्ट अतिथि राजन लम्सालले पनि भवन निर्माणमा रु. ५५,५५५आर्थिक सहयोग प्रदान गरेका छन्।
उनीहरूले यस्तो ऐतिहासिक परियोजना संस्थाको सुदृढीकरण र भविष्यप्रतिको लगानी भएको उल्लेख गर्दै, “यो भवन लायन्स आन्दोलनको गौरव र उत्तराधिकार बन्नेछ,” भनेका थिए।
डिष्ट्रिक्ट ३२५ ‘आर’ अन्तर्गत हाल १८७ लायन्स क्लबहरूमा ४,४१० सदस्य आवद्ध छन्। सबैको सामूहिक योगदान र एकताबाट अगाडि बढेको यो अभियानले लायन्सको संस्थागत क्षमतालाई थप मजबुत बनाउनेविश्वास गरिन्छ।








सम्बन्धित खवर
















