पोषनाथ शर्मा। झन्डै सात दशकदेखि नेपाली काङ्ग्रेस राष्ट्रियता, प्रजातन्त्र र समाजवादको संवाहकका रूपमा स्थापित रहँदै आएको छ। यस यात्रामा पार्टीले ठूलो त्याग र कुर्वानी बेहोर्नु परेको यथार्थ सबैका सामु छ। जनताले पटक–पटक विश्वास प्रकट गर्दै २०१५ सालमा दुईतिहाइ बहुमत दिए। २०४६ सालको राजनीतिक परिवर्तनपछि सम्पन्न सातवटा आम निर्वाचनमध्ये २०४८, २०५६ र २०७० मा एकल बहुमत हासिल गर्दै, २०७९ मा समेत सबैभन्दा ठूलो दलका रूपमा काङ्ग्रेस स्थापित भयो। २०५१, २०६४ र २०७४ बाहेकका निर्वाचन परिणामहरूले पनि काङ्ग्रेसको ऐतिहासिक हैसियत पुष्टि गर्छन्।
यसैबीच पार्टीको जीवनकालमा १४ वटा महाधिवेशन सम्पन्न भइसकेका छन्। तर १५औँ महाधिवेशनको संघारमा आइपुग्दा नेपाली काङ्ग्रेस आज विभाजनको डिलमा उभिएको जस्तो देखिन्छ। व्यक्तिवाद र आत्मकेन्द्रित प्रवृत्तिले पार्टीभित्र गहिरो संकट उत्पन्न गरेको छ। यस अवस्थामा भावनामा बग्नु होइन, गम्भीरतापूर्वक वर्तमान संकटको जरो पहिचान गर्नु आवश्यक छ। आफ्नै हृदयमा आत्मसमिक्षा गर्दै विगतका गल्तीबाट सही निष्कर्ष निकाल्न सकिएन भने इतिहासले माफ गर्ने छैन।
आज हामी एक–अर्काको कार्यशैलीविरुद्ध लडिरहेका छौँ। आपसी अस्तित्व स्वीकार गर्न नसक्ने अवस्थामा पुगेका छौँ। हिजो काङ्ग्रेस केन्द्रीय कार्यालय परिसरमै नेता विमलेन्द्र निधिमाथि भएको हमला यसको ज्वलन्त उदाहरण हो। यदि हाम्रा आकाङ्क्षा समान छन्—सुन्दर भविष्य, शान्ति, समृद्धि र सबै नेपालीको जीवनस्तर उकास्ने साझा चाहना हो भने—एकताको आधार यही हुनुपर्छ।
पार्टीभित्र असहमतिको बुँदा के–के हुन् ? सुधारका एजेन्डा के हुन् ? तिनलाई स्पष्ट रूपमा किटान गरौँ। तर ती विषयलाई ध्रुवीकरणका चर्का नाराले विभाजनतर्फ धकेल्नु घातक हुनेछ। अहिले देखिएको द्वन्द्वले हामीलाई अन्ततः कहाँ पुर्याउँछ ? आक्रोशका क्षणमा पनि विवेक आवश्यक हुन्छ।
अन्तर्राष्ट्रिय सम्बन्धमा आएको फेरबदल र त्यसको राजनीतिक प्रभावले देशभित्र घटिरहेका घटनाक्रमहरूले मुलुकलाई अप्ठ्यारो अवस्थामा पुर्याएको छ। तर यस अवस्थाको नैतिक जिम्मेवारी लिन कोही तयार देखिँदैन। मुलुकमाथि आइपरेको संकटको निकास कुनै न कुनै रूपमा दिनुपर्छ भन्ने जनताको चाहना स्पष्ट छ।
यही सन्दर्भमा, ‘माउ पार्टी’ का रूपमा नेपाली काङ्ग्रेसको काँधमा इतिहासले पुनः ठूलो जिम्मेवारी सुम्पेको छ। अब काङ्ग्रेसका सामु स्पष्ट प्रश्न उभिएको छ—दण्डको भागीदार बन्ने कि अवसरको सदुपयोग गर्ने ? यो परीक्षाको घडी हो।
तसर्थ, विभाजनको डिलमा पुग्न लागेको वर्तमान अवस्थालाई वस्तुनिष्ठ ढंगले मूल्याङ्कन गर्दै आत्मसमिक्षा गर्न आवश्यक छ। देखिएका चुनौतीलाई सामना गर्न सक्ने गरी पार्टीलाई एकताबद्ध, अनुशासित र सुदृढ बनाउने दिशामा अघि बढ्न सक्ने नेतृत्व आजको अनिवार्य आवश्यकता हो। इतिहासले सोधेको प्रश्नको उत्तर काङ्ग्रेसले अब ढिला नगरी दिनैपर्छ।























