0Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अधिनायकवाद आयो भनेर जनतामा भ्रम नछर्न कांग्रेसलाई चेतावनी दिनुभएको छ । काठमाडौंमा राष्ट्रिय विकास परिषद् बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अधिनायकवादको झुटो प्रचार जति गरेपनि जनताले विश्वास नगर्ने बताउनु भयो ।

उहाँले मुलुक अधिनायकवादतर्फ नभई उन्नत लोकतन्त्र समाजवादतर्फ उन्मुख भएको दाबी गर्नुभयो । पाँच वर्ष भित्र मुलुकबाट भोकमरी अन्त्य गर्ने गरी सरकारले काम गर्ने उल्लेख गर्दै त्यसका लागि आवश्यक योजना बनाउन सुझाव दिन आग्रह गर्नुभयो । मुलुक समृद्धिको अभियानमा केन्द्रित भएको र त्यसतर्फ सबै राजनीतिक दलहरुलाई केन्द्रित हुन पनि आह्वान गर्नुभयो ।

कार्यक्रममा उहाँले १५ औँ योजनाको आधार पत्रको मस्यौदामा उद्योग, पर्यटन, ऊर्जा, पूर्वाधार विकासमा जोड दिएर मुलुकलाई समृद्ध बनाउने योजना तय गरिएको पनि उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले सरकारले एक वर्ष भित्र पूर्वाधार विकास लगायतका क्षेत्रमा उल्लेख्य काम गरेको दावी गर्दै त्यसलाई अब तीव्रताका साथ अघि बढाउने योजना पनि अघि सार्नुभयो ।

त्यस्तै कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आयात प्रतिस्थापन गर्ने र निर्यात प्रवद्र्धन गर्ने खालको उद्योगको देशमा जरुरी रहेको बताउनु भयो । अध्यक्ष दाहालले समृद्धिको लागि जलविद्युतलाई प्राथमिकतामा राखेर विकास गर्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । जनताले सोचेअनुसार काम गर्न नसके जनतामा निराशा आउने उल्लेख गर्नुभयो ।

यसैगरी अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी योजना थप परिष्कृत भएर आउनु पर्ने बताउनुभयो । चौधौं योजनाले लिएका कतिपय लक्ष्य नजिक पुगेको सन्तोष व्यक्त गर्दै आगामी योजना थप परिष्कृत भएर आउनु पर्ने बताउनुभयो ।

बैठकले राष्ट्रिय योजना आयोगले तयार पारेको दीर्घकालीन सोचसहितको पन्ध्रौं पञ्चवर्षीय योजनाको आधार पत्रको मस्यौदा पत्रलाई अन्तिम रुप दिनेछ । आयोगले समृद्ध नेपालको लागि ४ र सुखी नेपालीका ६ वटा सोचलाई आधार बनाएर दीर्घकालीन सोचसहितको पन्ध्रौं योजनाको मस्यौदामा समेटेको छ । पन्ध्रौं पञ्चवर्षीय योजनाको मस्यौदामा विक्रम संवत् २०८१ सम्म आर्थिक वृद्धिदर १०.३ प्रतिशत पु‍याउने, प्रतिव्यक्ति आय १६ सय अमेरिकी डलर पु‍र्याउने, गरिबी १३ प्रतिशतमा झार्ने, साक्षरता दर ९० प्रतिशत पुर्याउने, विद्यालय भर्नादर ९९.५ प्रतिशत पु‍र्याउने उल्लेख छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected