
0Shares
पोखरा, ७ पुस। उद्योग र व्यवसायीलाई आबश्यक दक्ष जनशक्ति उत्पादनमा सघाउने उद्धेश्यसहित एक नयाँ परियोजनाको पोखरामा आरम्भ गरिएको छ । इम्प्लोयर लिड लेबर मार्केट सेक्रेटरियट नाम दिएको परियोजना नेपालका सातै प्रदेशमा आरम्भ गर्ने योजना अनुरुप गण्डकी प्रदेशमा मंगलबार सुरु गरिएको हो । परियोजनाले कृषि, निर्माण र पर्यटन क्षेत्रलाई लक्षित गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, होटल संघ नेपाल तथा निर्माण व्यवसायी महासंघको संयुक्त साझेदारीमा परियोजना संचालन हुने छ । युरोपियन युनियनले आर्थिक सहयोग गर्ने छ भने वृटिस काउन्सिल अन्तर्गतको टिभेट प्राक्टिकल पार्टनरसिप परियोजनाको व्यवस्थापकीय सहयोगमा परियोजना कार्यान्वयन हुने जनाइएको छ ।
पश्चिमाञ्चल होटल संघ पोखराको समन्वयमा पोखरामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा गिरिधारी शर्मा पौडेलले परियोजनाको उद्घटान गरेका थिए । सो अवसरमा बोल्दै उनले परियोजना दक्ष र आबश्यक श्रमशक्ति उत्पादनमा सहायक हुने भन्दै सरकार र निजी क्षेत्रले समन्वय गरेर श्रमशक्ति उत्पादनमा लाग्नुपर्ने बताए । उद्योग व्यवसायीलाई कस्तो जनशक्ति आबश्यक पर्ने हो त्यो उनीहरुले भनिदिनुपर्ने र सरकार तथा सम्बन्धित कलेज, युनिभर्सिटी वा तालिम केन्द्रले सो अनुसार जनशक्ति उत्पादन गर्न समन्वय गर्न सके राम्रो हुने भनाई उनले राखे ।
नेपाल सरकारद्वारा स्वकीकृत यस परियोजनाको कार्य अवधि १४ महिना रहेको र कूल बजेट १७ करोड ९० लाख ११ हजार सात सय ३३ रुपैयाँ रहेको परियोजनाका फोकल पर्सन रविनकुमार श्रेष्ठले जानकारी दिए । पेशागत बर्गिकरण सम्बन्धि स्ट्याण्डर्डको विकास गर्ने, श्रम बजार सूचना प्रणालीको विकास गर्ने र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम सम्बन्धि नीति तथा कार्यक्रम तर्जुमा गर्ने कार्यमा रोजगारदाताको आबश्यकता अनुसार शीपयुक्त जनशक्तिको विकास गर्न सूचना तथा जानकारी दिने उद्धेश्य पनिे रहेको छ ।पोखरामा आयोजित कार्यक्रममा बोल्दै पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले श्रमका लागि विदेशिने नेपालीलाई स्वदेशमा नै रोक्न र आबश्यकता अनुसारको दक्ष जनशक्ति उत्पादनमा सघाउन परियोजना सफल हुने विश्वास व्यक्त गरे । संघ उक्त परियोजनाका प्रादेशिक समन्वय संस्था पनि हो । यसैगरी होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले परियोजनालाई सफल बनाउन आफूहरुको पूर्ण सहयोग हुने भन्दै सार्वजनिक निजी साझेदारीको अवधारणा अनुसार आफ्नो संस्थाले सधैं काम गर्ने भनाई राखे ।
कार्यक्रममा साना तथा घरेलु उद्योग माहसंघ गण्डकीका अध्यक्ष हरिहर थापा, नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष राजेन्द्र पहारी, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य एवं परियोजना कार्यान्वयन समितिका सदस्य सुमित केडिया, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा महेश्वर ढकाल, भौतिक पूर्वाधार विकास मन्त्रालय गण्डकी प्रदेशका सचिव रामचन्द्र श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको संचालन पश्चिमाञ्चल होटल संघ पोखराका महासचिव गणेशराज पहारीले गरेका थिए ।
0Shares





© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
























