0Shares

पोखरा, १४ चैत — आन्तरिक पर्यटन प्रवर्द्धन, पर्यटक आदानप्रदान र यातायात कनेक्टिभिटी सुदृढ गर्ने उद्देश्यसहित सञ्चालन गरिएको ‘जाउँ है पोखरा’ अभियान शुक्रबार मकवानपुरको हेटौंडामा समापन गरिएको छ।

चैत ९ गतेबाट सुरु भएको पाँच दिने अभियान अन्तर्गत वीरगंज, विराटनगर र इलाममा पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रमहरु आयोजना गरिएको थियो। होटल संघ पोखरा नेपालको आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको समन्वय र सहकार्यमा अभियान सञ्चालन गरिएको हो।

अभियानका क्रममा पूर्वी नेपालका भद्रपुर, सिमरा, विराटनगर र फाल्गुनन्द विमानस्थलबाट पोखरासम्म हवाई सेवा सञ्चालनको निरन्तरता र विस्तारका सम्भावनाबारे छलफल गरिएको आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए। साथै पूर्वका विभिन्न शहरबाट पोखरासम्म पर्यटकीय स्तरको बस सेवा सञ्चालनका विषयमा समेत बहस अगाडि बढाइएको उनले बताए।

नयाँ वर्षको अवसर पारेर चैत २९ देखि वैशाख १ गतेसम्म पोखराको लेकसाइडमा आयोजना हुने २१औँ फेवा नववर्ष महोत्सवमा सहभागिताका लागि पूर्वी क्षेत्रका बासिन्दालाई निमन्त्रणा दिइएको छ। महोत्सव अवधिभर पर्यटकलाई होटलको प्रकाशित दररेटमा २५ प्रतिशतसम्म छुट उपलब्ध गराइने जानकारी आयोजकले दिएको छ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले पोखरालाई पहिलो रोजाइको पर्यटकीय गन्तव्य बनाउने लक्ष्यसहित निजी क्षेत्रसँग सहकार्य भइरहेको बताए। मध्यपूर्वमा जारी तनावले नेपालको पर्यटन क्षेत्रमा असर पर्ने चिन्ता व्यक्त गर्दै उनले पूर्व र पोखराबीच पर्यटक तथा व्यवसायिक आदानप्रदानले पर्यटन विकासमा थप टेवा पुग्ने धारणा राखे।

होटल संघ नेपाल गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले पर्यटन क्षेत्रमा देखिएका समस्या र चुनौतीबारे चर्चा गर्दै यसको दिगो विकासका लागि सरकारी पहल अपरिहार्य रहेको बताए।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले गण्डकी प्रदेश पदयात्रा पर्यटनका लागि अत्यन्त सम्भावनायुक्त क्षेत्र भएको उल्लेख गरे। अन्नपूर्ण क्षेत्र, मनाङ, मुस्ताङ र उपल्लो मुस्ताङका पदयात्रा तथा धार्मिक गन्तव्यहरु पर्यटकका लागि आकर्षक रहेको उनले बताए।

इलाममा आयोजित कार्यक्रममा सूर्योदय नगरपालिका–८ का वडा अध्यक्ष जंगबहादुर गुरुङ र हेटौंडामा आयोजित कार्यक्रममा होटल संघ मकवानपुरका संस्थापक तथा होटल व्यवसायी महासंघका सल्लाहकार भागिरथ शर्माले उद्घाटन गरेका थिए।

अभियानका क्रममा सहभागीलाई स्वागत गर्दै सूर्योदय होटल व्यवसायी संघका अध्यक्ष प्रज्वल प्रधानले सूर्योदय खाना महोत्सवबारे जानकारी गराए। भागिरथ शर्माले देशको पहिचान र अर्थतन्त्रमा पर्यटनको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे।

कार्यक्रममा आयोजक संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठ र द्वितीय उपाध्यक्ष गणेशराज पहारीले पनि धारणा राखेका थिए। कार्यक्रमको सञ्चालन संघका सचिव पार्वती पाण्डेले गरेकी थिइन्।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected