0Shares

महिला नेतृत्वमार्फत पर्यटन प्रवर्द्धन र दिगो विकासमा सहकार्य सुदृढ गर्ने प्रतिबद्धता

पोखरा। पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)को ८औँ वार्षिक साधारण सभा महिला नेतृत्व, पर्यटन प्रवर्द्धन र दिगो पर्यटन विकासलाई केन्द्रमा राख्दै सम्पन्न भएको छ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यता तथा नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी सदस्य सन्तोष पोखरेलको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा पोखरा महानगरपालिका–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराई, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक गण्डकी प्रदेश कार्यालय प्रमुख मणिराज लामिछाने, पोखरा महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया, पोखरा पर्यटन परिषद्का उपाध्यक्ष हरि भुजेल, टेवानका संस्थापक अध्यक्ष तथा सल्लाहकार लक्ष्मी कार्की क्षेत्रीलगायत पर्यटनसँग सम्बन्धित सरकारी तथा निजी क्षेत्रका प्रतिनिधि, व्यवसायी र सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।

संस्थाका प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक अनिता खड्का भट्टराईले स्वागत मन्तब्य व्यक्त गर्दै स्थापना कालदेखि नै महिला उद्यमशीलता, पर्यटन व्यवसायको विस्तार तथा दिगो पर्यटन विकासका लागि टेवान निरन्तर सक्रिय रहेको बताइन्। सबै सरोकारवालाको सहकार्यले संस्थाले आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास उनले व्यक्त गरिन्।

संस्थाका अध्यक्ष शोभा न्यौपाने पाण्डेले अध्यक्षीय मन्तव्यमा विगतका चुनौतीपूर्ण परिस्थितिका बाबजुद संस्थाले महिला पर्यटन व्यवसायीलाई संगठित बनाउन, उनीहरूको क्षमता अभिवृद्धि गर्न तथा पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याएको बताइन्। विभिन्न प्रतिकूल अवस्था र संस्थागत चुनौतीबीच पनि सदस्यहरूको एकता, समर्पण र सहयोगकै बलमा संस्था आजको अवस्थामा आइपुगेको उल्लेख गर्दै उनले अग्रज, सदस्य, सहयोगी संस्था तथा शुभेच्छुकप्रति आभार व्यक्त गरिन्। साथै आगामी दिनमा महिला नेतृत्व विकास र पर्यटन क्षेत्रको समृद्धिका लागि थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाइन्।

उद्घाटन सत्रमा महासचिव शोभा अधिकारी पौडेलले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै महिला क्षमता अभिवृद्धि, पर्यटन प्रवर्द्धन, आन्तरिक तथा बाह्य पर्यटन विकास, सदस्य विस्तार तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा संस्थाले सञ्चालन गरेका गतिविधिबारे जानकारी गराइन्। पोखरालाई अन्तर्राष्ट्रियस्तरको आकर्षक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न महिला व्यवसायीको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै उनले आगामी दिनमा अझ परिणाममुखी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

संस्थाका कोषाध्यक्ष शारदा लम्सालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन साधारण सभाले सर्वसम्मत रूपमा पारित गरेको थियो।

कार्यक्रमका प्रमुख अतिथि धनराज आचार्यले पोखरा महानगरपालिकाले महिला उद्यमशीलता र पर्यटन विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै टेवानजस्ता संस्थाले महिला नेतृत्व विकाससँगै पर्यटन उद्योगलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको बताए। महानगर र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै पर्यटनलाई आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा विकास गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको उनले बताए।

विशेष अतिथि सन्तोष पोखरेलले पर्यटन उद्योगको दिगो विकासका लागि सरकारी निकाय, निजी क्षेत्र तथा पर्यटनसँग सम्बन्धित संघ–संस्थाबीच सुदृढ सहकार्य आवश्यक रहेको बताए। महिला नेतृत्वको सक्रिय सहभागिताले पर्यटन क्षेत्रमा नयाँ ऊर्जा थपिएको उल्लेख गर्दै उनले सेवा, गुणस्तर र पर्यटन प्रवर्द्धनमा टेवानको भूमिका अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गरे।

वडाध्यक्ष विष्णुबहादुर भट्टराईले स्थानीय तहले पर्यटनमैत्री वातावरण निर्माण, महिला उद्यमशीलता प्रवर्द्धन तथा समुदायमा आधारित पर्यटन विकासका कार्यक्रमलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। महिला व्यवसायीको सिर्जनशीलता र सक्रियताले पर्यटन क्षेत्रलाई थप उचाइमा पुर्‍याउने विश्वास उनले व्यक्त गरे।

नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक गण्डकी प्रदेश कार्यालय प्रमुख मणिराज लामिछानेले गण्डकी प्रदेशको पर्यटन विकासमा महिला व्यवसायीको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै सेवा, आतिथ्यता र पर्यटन प्रवर्द्धनमा टेवानले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए। पर्यटनलाई प्रतिस्पर्धी, गुणस्तरीय र दिगो बनाउन महिला नेतृत्वको सहभागिता अझ विस्तार गर्नुपर्नेमा उनले जोड दिए।

पोखरा महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले महिला उद्यमशीलताको विकास स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै महानगरले व्यवसायमैत्री नीति तथा सहकार्यलाई निरन्तरता दिने बताए।

पोखरा पर्यटन परिषद्का उपाध्यक्ष हरि भुजेलले पर्यटन क्षेत्रको समग्र विकासका लागि सबै सरोकारवाला एकजुट हुनुपर्ने आवश्यकता औंल्याउँदै महिला पर्यटन व्यवसायीले प्रदर्शन गरेको नेतृत्व र समर्पणले पर्यटन उद्योगलाई थप सशक्त बनाएको बताए।

संस्थापक अध्यक्ष तथा सल्लाहकार लक्ष्मी कार्की क्षेत्रीले टेवान स्थापना गर्दाका चुनौतीपूर्ण दिनहरूको स्मरण गर्दै संस्थालाई वर्तमान अवस्थासम्म पुर्‍याउन सबै सदस्यको निरन्तर योगदान रहेको बताइन्। संस्थाको एकता, पारदर्शिता र सक्रियताले आगामी दिनमा अझ उल्लेखनीय उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गर्दै नयाँ पुस्ताका महिला व्यवसायीलाई नेतृत्वमा अघि बढ्न आग्रह गरिन्।

उद्घाटन समारोहमा नेपाल पर्यटन बोर्डको कार्यकारी सदस्यमा नियुक्त सन्तोष पोखरेललाई टेवानले बधाई तथा सम्मान गरेको थियो। साथै संस्थामा आबद्ध नयाँ सदस्यहरूलाई सदस्यता प्रमाणपत्र पनि वितरण गरिएको थियो।

साधारण सभाले महिला सशक्तीकरण, पर्यटन व्यवसायको विस्तार, संस्थागत क्षमता अभिवृद्धि तथा नेपालको पर्यटन प्रवर्द्धनमा टेवानको भूमिका आगामी दिनमा अझ प्रभावकारी बनाउने साझा प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यक्रमको समापनमा अध्यक्ष तथा पदाधिकारीहरूले अतिथि, सदस्य, सहयोगी संस्था, सञ्चारकर्मी तथा सम्पूर्ण सहभागीप्रति धन्यवाद ज्ञापन गर्दै महिला नेतृत्व सुदृढीकरण, पर्यटन उद्योगको विकास तथा संस्थागत सक्षमीकरणका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता दोहोर्याएका थिए।

कार्यक्रम कै अवसरमा संस्थाका अध्यक्ष शोभा न्यौपाने पाण्डेको आज नै जन्मदिन परेकाले केक काटेर उपस्थित सबैले शुभकामना व्यक्त गर्दै बिशेष रुपमा मनाइएको थियो।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected