
पोखरा भ्यूज
२ पुस, काठमाडौं । संसदमा प्रतिनिधित्व गर्ने १० वटा दलले संसदीय दलको सुविधा पाउने भएका छन् । तीमध्ये ७ दलले भने सचेतकसहितको सुविधान पाउने संसद सचिवालय स्रोतले बतायो ।
स्रोतका अनुसार १० वटा दलको सिंहदरवारभित्र हुने संसदीय दलको कार्यालयको व्यवस्थापन संघीय संसद सचिवालयले गर्नेछ ।नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को यसअघिकै संसदीय दलको कार्यालय हुने गरी व्यवस्थापन गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी (नाउपा)को संसदीय दलको कार्यालय यसअघि हेलो सरकार बस्दै आएको भवनमा व्यवस्थापन गरिएको छ । यी तीनै पार्टी हालै उदायका नयाँ पार्टी हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाको संसदीय दल पनि सोही भवनमा रहनेछ ।

राजनीतिक दल सम्बन्धी ऐन अनुसार यी १० वटै पार्टीले ३० दिनभित्र संसदीय दलको नेता चयन गर्नुपर्नेछ । राजनीतिक दल सम्बन्धी ऐनको दफा २६ ले संघीय संसद वा प्रदेश सभाको निर्वाचनमा कम्तीमा दुई स्थानमा निर्वाचित भई प्रतिनिधित्व गर्ने दलले संघीय संसदीय वा प्रदेश संसदीय दल गठन गर्न सक्ने व्यवस्था गरेको छ । सोही कानूनी व्यवस्था बमोजिम १० वटा दलले संसदीय दल गठन गर्न सक्ने छन् । तर १० भन्दा कम सांसद भएका दलहरुका लागि भने ‘संसदीय दलको नेताका लागि कोठा र छलफलका लागि हल’को मात्रै व्यवस्थापन हुने संसद सचिवालयको भनाइ छ ।







सम्बन्धित खवर















