जुनदिन
रातको नदीले उज्यालो बगायो
र, बेपत्ता भयो बिहानहरु ।
जुनदिन
पहाडबाट खस्यो पहाड जस्तै जिन्दगी
र, निर्वासनमा हिंड्यो ।
जुनदिन
छाप्रोबाट आगो बोकेर निस्क्यो समय
र, बस्ती उजाड भयो ।
जुनदिन
इतिहासले आफु हिंडेको बाटो बिर्स्यो
र, दिशाहिन भयो ।
जुनदिन
विस्थापित भयो आफ्नै माटोबाट मानिस
र, ध्वस्त भयो सार्वभौम अस्तित्व ।
जुनदिन
मस्तिष्कबाट गायब भयो सम्पूर्ण स्मृति
र, चेतनाको जंगलबाट उडेर गयो
असंख्य रंगीन चराहरु ।
जुनदिन
फुलसँग बन्दुकले सहवास गर्यो
र, जन्मियो अनौठो दृश्य ।
जुनदिन
राजनेताहरुले साट्यो भ्रष्टहरुसँग आफ्नो अनुहार
र, सुट्केसमा हाल्यो गाउँघर
खोलानाला ।
जुनदिन
सामुहिक बलात्कार गर्यो धर्तीलाई पिपासुहरुले
र, हाम्रो आस्थाको टालोले पुछ्यो विकृत वीर्य ।
जुनदिन
यो मुलुकले संविधान लेख्यो
र, सीमान्तकृतहरुको पन्ना छुट्यो ।
जुनदिन
चोरले पुलिसलाई समात्यो
र, भट्टी पसलमा रक्सी खायो ।
जुनदिन
धमिरा पस्यो कानुनको किताबमा
र, गर्भवती भयो ।
जुनदिन
प्रतिपक्षीले भत्तावृद्धि अध्यादेशमा ताली पिट्यो
र , मौन बस्यो ।
जुनदिन
आम सपनाहरुको मृत्यु भयो
र, शासकहरु मस्त निदायो ।
जुनदिन
मतपेटिकाहरुबाट अपहरणमा पर्यो मान्छेहरुको अधिकार
र, लुटेराहरु सिंहदरबारमा प्रवेश गर्यो ।
जुनदिन
नष्ट भयो विचार
र, खल्लास भयो सिद्धान्त ।
हो
त्यहि दिनदेखी पतन भएको हो
यो राज्य !