
पोखरा भ्यूज
डोटी । अविरल वर्षा र बाढीपहिरोका कारण डोटीका विभिन्न ठाउँ ९ जनाको मृत्यु भएको छ । घटनामा एक जना बेपत्ता भएको प्रहरीले बताएको छ । डोटी जिल्लाको सायल गाउँपालिका वडा नं. ६ अलेतवाडास्थित दिलबहादुर कुन्जेडाको घरमा पहिरो खस्दा उनका १४ वर्षीय छोरा सागर र १० वर्षीय आशीषको मृत्यु छ ।
त्यस्तै अर्को घटनामा जोरायल गाउँपालिकामा ६ जनाको मृत्यु भएको छ । जोरायलको वडा नं ३ का ६२ वर्षीय जोगी सार्कीको पहिरोमा पुरिएर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनकी श्रीमतीको सकुशल उद्दार गरिए पनि उपचारका क्रममा स्थानीय पोलीक्लिनिकमा मृत्यु भएको स्थानीयले बताएका छन् ।
त्यस्तै जोरायल गाउँपालिकाको वडा नं ४ मा पनि एकै परिवारका ४ जनाको मृत्यु भएको छ । सइकडा खोलामा आएको बाढीले घर भत्काउँदा ४२ वर्षीय सेरबहादुर बिक, उनको छोरा १८ वर्षीय मोहन, १३ वर्षीया पबित्रा बिक र १६ वर्षीय रबिन बिकको मृत्यु भएको डोटी प्रहरीले बताएको छ ।
त्यस्तै शिखर नगरपालिका वडा नं ११ की ३५ वर्षीया मन्दरा बलायरको पहिरोबाट खसेको ढुंगाले लागेर मृत्यु भएको छ । टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी बलायरको उपचारका क्रममा मृत्यु भएको सुजंग अस्पतालले बताएको छ ।
त्यसैगरी सायल गाउँपालिकाको वडा नं १ मा छत्रेश्वर खोलाले बगाउँदा ७४ वर्षीय वीरे रोकाया बेपत्ता भएका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । डोटीमा विभिन्न स्थानमा करिब ६५ भन्दा बढी घरपरिवार विस्थापित भएका छन् ।






सम्बन्धित खवर
















